नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको शुभकामना सन्देशमा उल्लेख गरेको तीनकुने घटनाको विषयलाई लिएर टिप्पणी गरेको छ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु, निजी घर तथा सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी, भाटभटेनीमा लुटपाट जस्ता घटना भएका थिए।
पूर्वराजा शाहले नयाँ वर्षका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा जनतामा आएको जागरण भनेकोप्रति एमाले सचिवालय बैठकले आपत्ति प्रकट गरेको हो।
‘पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि मुलुकका अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको हामीले पायौं, जुन गलत हो,’ बैठकपछि पत्रकारहरूसँग उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘तीनकुनेमा चैत १५ गते आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जागरण भन्ने हो भने- सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, राजनीतिक पार्टी कार्यालयमा विध्वंश, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो। यस्ता खालका कुनै क्रियाकलाप नगर्न हामीले भनेका छौं।’
उनले लोकतान्त्रिक गणतन्त्र उल्टाउने क्रियाकलाप सफल र स्वीकार्य नहुने पनि बताए।
साथै उनले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय पनि भएको बताए।
‘त्यसलाई भव्य रूपमा मनाउने तयारी छ। यसपटक पार्टी स्थापना दिवसमा विगतमा जस्तै कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नु हुने विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट यौद्धाका रूपमा सम्मान गर्ने निर्णय भएको छ,’ उनले भने।
एमालेले लोकतन्त्र आएको दिन वैशाख ११ गते पनि काठमाडौंमा कार्यक्रम गर्ने भएको छ।
‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको बिजारोपण गरेको दिन, २०६२/०६३ को जनआन्दोलनको विजयको दिन। त्यस दिनलाई हामीले युवाहरूलाई भेला गरेर जनताले जितेको दिनका रूपमा मनाउने कार्यक्रम गर्दैछौं,’ उनले भने।
यो पनि: तीनकुने घटनाबारे बोले पूर्वराजा शाह (भिडिओ)