पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबारे मुख खोलेका छन्।
नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा उल्लेख गरेका हुन्।
तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए। केही सांसदहरूले तीनकुने घटनामा पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने धारणासमेत व्यक्त गरेका थिए।
तीनकुने घटनापछि पूर्वराजा शाहले अभिव्यक्ति दिएका थिएनन्।
तर नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा व्यक्त गरेका छन्।
‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।
पूर्वराजा शाहको शुभकामना सन्देशसहितको भिडिओ संवाद सचिवालयका तर्फबाट फणिराज पाठकले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन्।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।
घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ।
पूर्वराजा शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने पनि बताएका छन्।
‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ पूर्वराजा शाहले भनेका छन्।
देशलाई विद्यमान जटिलताबाट मुक्त गराएर शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको दाबी गर्दै पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन्।
‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निशारा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ।’
भिडिओ: