सहकारी ठगी र संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको निवेदनमा सुनुवाइ सकिएको छ।
आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको उक्त निवेदनमा केहीबेर अघि सुनुवाइ सकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
'सुनुवाइ सकियो। आदेश आउन बाँकी छ,' उनले भने।
चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका थिए।
त्यसविरूद्ध लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावल, नारायण कँडेल र आशिष थापासहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएका थिए।
सर्वोच्चले केही बेरमा लामिछानेलाई थुनामै राख्ने कि साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्नेबारेमा आदेश दिनेछ।