नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अहिले जारी गणतन्त्र पक्षधर दलहरूको बैठकमा उनले यस्तो सुझाव दिएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा आफ्नै राज चल्दै आएझैं जुन किसिमको हरकत गरिरहेका छन्, त्यसैको निरन्तरता स्वरूप शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको उनले बताए।
'ज्ञानेन्द्र शाहकै उक्साहट, निर्देशन र योजनामा चैत १५ को आपराधिक घटना भएको हो,' पूर्वप्रधानमन्त्री भट्टराईले बैठकबाट निस्केर संवाददाताहरूसँग भने, 'उनको गतिविधिले सीमा नाघिसक्यो। अब उनलाई क्षमा दिन सकिँदैन। दलहरूले सहमति बनाएर संवैधानिक, कानुनी कारबाही अघि बढाउनुपर्छ।'
'संविधानसभाले राजतन्त्र उन्मूलन गरेको हो। दलहरूले उदारता देखाएर ज्ञानेन्द्र शाहलाई विभिन्न गतिविधि गर्न दिएका हुन्। उनले आफूलाई राजाकै हैसियतमा प्रस्तुत गर्दै वक्तव्य दिँदा पनि हामीले रोकेनौं,' उनले अगाडि भने, 'म पनि पूर्वप्रधानमन्त्री हुँ। तर मैले वर्तमान प्रधानमन्त्रीको हैसियतमा गतिविधि गर्न थालेँ भने कानुनले मलाई कारबाही गर्छ। त्यसैले ज्ञानेन्द्र शाहले जे गरिरहेका छन्, त्यसमा उनलाई बयान लिएर आवश्यक कारबाही गरिनुपर्छ।'
शुक्रबारको घटना जसरी सुनियोजित तवरले गराइयो, त्यसमा संलग्नहरूलाई कानुनी कारबाही गरिनुपर्ने उनले बताएका छन्।
त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा निम्ति सबै दल एक ठाउँ आउनुपर्ने उनको भनाइ छ। 'हाम्रा विमतिहरू छन्, तथापि गणतन्त्र रक्षाको सवालमा हामी एक हुनुपर्छ,' उनले भने।
तीनकुनेमा राजावादीहरूले गरेको हिंस्रक प्रदर्शनपछि प्रधानमन्त्री ओलीले छलफल गर्न गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका हुन्।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत बैठकमा उपस्थित छन्।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन्।