नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान आइतबारदेखि स्थगित भएको छ।
फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय थियो।
मुलुकको राष्ट्रिय राजनीतीको समीक्षा गर्दै माओवादीले तत्कालका लागि अभियान रोकेर काठमाडौं फर्किने निष्कर्ष निकालेको हो।
आइतबार नेताहरू काठमाडौं फर्किँदै छन्। नेताहरू सबै उपस्थित भए आजै पदाधिकारी बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए।
'हामी बाटोमै छौं। सबै नेताहरू पुग्नुभयो भने आजै पदाधिकारी बैठक बस्छौं,' उनले भने।
महासचिव गुरूङले मुलुकको पछिल्लो परिस्थितिका कारण जागरण सभा स्थगित गरेर फर्किएको बताए।
'बैठक बसेर मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिलगायतका सबै पक्षरहरूलाई समीक्षा गर्छौं र बाँकी कार्यक्रमहरू तय गर्छौं,' उनले भने।
माओवादीको जागरण अभियान झापाबाट रौतहट पुगेको छ। अब बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ।
अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अधिकांश पदाधिकारी सहभागी भइरहेका छन्।