अधिकांश तन्नेरी युवालाई मनपर्ने स्न्याक्स हो चिप्स। सादा होस् वा नुनिलो वा जिब्रो रन्थनाउने पिरो, सबै स्वादका पारखी छन्।
कक्षामा लुक्दै खानदेखि फिल्म हेर्दा, सानोतिनो पार्टीमा, कतै घुम्न जाँदा, बाटामा हिँड्दासम्म नयाँ पुस्ता करक्क पार्दै चिप्स टोक्न रूचाउँछ।
पहिले पहिले बजारमा विदेशी ब्रान्डका चिप्स चल्तीमा थिए। अचेल काठमाडौंको बजारमा 'लोकल चिप्स' हाबी छ। लोकल चिप्स यति चलेको छ कि, ठाउँ ठाउँमा चिप्स मात्र पाइने ठूला पसल खुलेका छन्। यस्ता पसलमा विभिन्न स्वाद र प्रकारका चिप्स पाइन्छ।
यस्तै एउटा पसल हो 'गज्जबको स्न्याक्स'।
यहाँ सादा, पिरो, ओनियन (प्याज), टमाटर (टमाटो), चीज लगायत स्वादका चिप्स विभिन्न डिजाइन र आकारमा पाइन्छ।
डेढ वर्षअघि पहिलो पटक बनेपामा खुलेको गज्जबको स्न्याक्सका अहिले बनेपा र काठमाडौंमा गरी आठ वटा शाखा छन्। गज्जबको स्न्याक्स फैलिएको देखेरै थाहा हुन्छ, चिप्सका पारखीहरू कति छन्!
गज्जबको स्न्याक्स बनेपाका दुई जना साथी निशाना पौडेल र रविन दाहालले मिलेर खोलेका हुन्। यहाँसम्म आइपुग्नुमा यी दुई युवाको आफ्नै कथा छ।
निशाना पहिल्यैदेखि घरायसी प्रयोजनका खित्रीमित्री सामानको अनलाइन व्यापार गर्थिन्। केही पैसा बचत भएको थियो। अलिअलि अनुभव पनि भएपछि आफ्नै व्यवसाय गर्ने हुटहुटी बढ्यो। उनी कम लगानीमा, ग्राहकको धेरै माग भएको काम गर्न चाहन्थिन्।
'चिप्स सबैजसोलाई मनपर्ने खाजा हो। त्यसमा पनि नेपाली लोकल चिप्स हिट छ। तर बजारमा यो जहीँतहीँ पाइँदैन थियो,' निसिमाले भनिन्, 'अहिलेजस्तो पसल नभएकाले फ्रेस लोकल चिप्स खोज्दै हिँड्नुपर्थ्यो। मैले यसकै व्यापार गर्ने सोचेँ।'
उनले यसबारे आफ्ना साथी रविनलाई सुनाइन्। रविनको त परिवार नै पहिले व्यवसायमा थियो। उनका बुवा डेरीजन्य उत्पादनको व्यापार गर्थे। बीचमा उनलाई केही समय प्यारालाइसिस भएको थियो।

'बुबा अलि सन्चो भएर चलमलाउन थालेपछि अब मैले के काम गर्ने भन्ने सोचिरहेको थिएँ,' रविनले भने, 'त्यही बेला चिप्सको कुरा भयो। बोक्न हलुका चिप्सको काम पनि सजिलो हुन्छ भनेर यसकै काम गर्ने निधो गर्यौं।'
यसपछि रविन र निशानाले आफूहरूसँग भएको पैसा जोडे। नपुगेको परिवार र साथीहरूसँग सहयोग लिए। पाँच लाख रूपैयाँ जति भएपछि उनीहरूले बनेपामा लोकल चिप्स मात्र पाइने पसल खोले।
पसल खोले पनि उनीहरूले केही नाम राखेका थिएनन्। चिप्स मात्र पाइने पसल देखेपछि ग्राहकहरू बढ्न थाले।
अनि ग्राहकहरूले नै बारम्बार भने — यो त गज्जबको पसल खोल्नुभएछ!
मान्छेहरूको यस्तो कुरा सुनेर रविनका बुबाले गज्जबको पसल नाम राख्नू भनेर सुझाए।
'हामीले चाहिँ स्न्याक्स बेच्ने भएकाले गज्जबको पछाडि स्न्याक्स जोड्यौं,' रविनले भने।
यी दुई साथीको गज्जबको स्न्याक्स बनेपामा गज्जबले चल्यो। त्यसपछि उनीहरूले काठमाडौंमा पनि पसल खोल्ने सोचे। हाल बनेपाबाहेक गज्जबको स्न्याक्सको शाखा काठमाडौंको शंखमुल, कलंकी र नीलोपुलमा छ। नक्सालमा एउटा फ्रेन्चाइज छ। कारखाना भने खोपासीमा छ।
निशानाका अनुसार पसलहरूमा व्यापारको अवस्था हेरी एकदेखि दुई जना कर्मचारी राखिएका छन्। कुनै पसलमा आफन्तले पनि सघाएका छन्।
'आठ वटामा आफ्ना मान्छेबाहेक ९ जनालाई रोजगारी दिएका छौं,' निशानाले भनिन्।
उनीहरू सबै चिप्स आफ्नै कारखानामा बनाउँछन्। निशाना पसलहरूको काम र व्यवस्थापन हेर्छिन् भने कारखाना र उत्पादनको काम रविनले हेर्छन्।
सुरूसुरूमा उनीहरू सादा र पिरो चिप्स मात्र बेच्थे। नयाँ स्वाद के दिने भन्ने चाहिँ सोचिरहेका हुन्थे।
'एक पटक सिनेमा हलमा चीज पपकर्न खाँदा चीज फ्लेभर (स्वाद) को चिप्स कस्तो होला भन्ने सोच आयो,' रविनले भने, 'हामीले बनायौं। धेरै ग्राहक नयाँ स्वाद पाएर खुसी भए। अहिले पनि सबभन्दा धेरै बिक्नेमा चीज चिप्स पर्छ।'
उनीहरूले बिस्तारै ओनियन (प्याज), टमाटो (टमाटर) लगायत स्वाद थपे। चिप्सको आकार र डिजाइनमा पनि ध्यान दिँदै कोन, स्टिक, गोलो, धर्के बनाए।
'हामी अझै पनि सिकिरहेकै छौं। हरेक दिन नयाँ स्वाद ल्याउन अनुसन्धान गरिरहेका छौं,' रविनले भने, 'बजारमा कुनै पनि उत्पादन ल्याउनुअघि चट्ट मिठो नहुन्जेल चाख्छौं, चखाउँछौं।'

उनीहरूले चिप्सबाहेक दालमोठ, मकै, भटमास पनि आफ्नै कारखानामा तयार गरेर बेचिरहेका छन्। विभिन्न स्वादको पाउँ (तितौरा) पनि पाइन्छ। पाउँ भने उनीहरूको उत्पादन होइन।
गज्जबको स्न्याक्सका सबै पसल बिहान साढे ९ बजेदेखि राति साढे आठ बजेसम्म खुल्छन्।
प्रायः ग्राहक मध्य उमेरका छन्। कतिपय आमाहरू आफ्ना नानीबाबुहरूका लागि किन्न आउँछन्। कतिपय पसल वरिपरिकै स्थानीय मानिसहरू छन् जो साँझतिर चुस्स खाजाका रूपमा चिप्स लिन आउँछन्। त्यस्तै हिँड्दै गर्दा पसल देखेर चाख्न छिर्नेहरू पनि हुन्छन्। टिकटकमा भिडिओ हेरेर आउनेहरू पनि छन्।
'खानासँग चिप्स नखाई हुँदैन भन्ने ग्राहक पनि आउँछन्,' निशानाले खुसी हुँदै सुनाइन्।
उनीहरूले चिप्स किन्नुअघि चाख्न पनि दिन्छन्। चाख्न दिँदा पछि यस्तो, उस्तो परेछ भनेर गुनासो आउँदैन। ग्राहकले पनि बेकार किनेछु भन्ने सोच्दैन।
गज्जबको स्न्याक्स बनेको मितिदेखि ६ महिनासम्म खान मिल्छ। तर बजार राम्रो भएकाले यति लामो समय नरहने उनले बताइन्।
'प्रायः हरेक साता नयाँ सामान ल्याउनुपर्छ। कहिलेकाहीँ त एक–दुई दिनमै सकिन्छ,' उनले भनिन्, 'प्रायः पचासदेखि दुई सय रूपैयाँसम्मको किन्नेहरू धेरै छन्। चाडवाडमा भने अलि धेरैधेरैको लैजान्छन्।'
गज्जबको स्न्याक्स काठमाडौं उपत्यकामा अनलाइन डेलिभरी पनि हुन्छ।
उपत्यका बाहिरबाट पनि चिप्सको माग आउँछ। खान मात्र होइन, बेच्ने गरी पनि मानिसहरूले मागिरहेका छन्। तर अहिलेको अवस्थामा उपत्यका बाहिर पठाउँदा चिप्स भाँचिने र फुट्ने समस्या हुने भएकाले नपठाएको उनीहरू बताउँछन्।
आगामी दिनमा उनीहरू अझै धेरै प्रकारका स्न्याक्स बनाउने सोचमा छन्। कोदो, फापर, मकैको पिठोका खाजा परिकार बनाउन पनि अनुसन्धान गर्दैछन्।
'हामी नयाँ नयाँ खाजा बनाउने सोचमा छौं। गज्जबको स्न्याक्सलाई स्न्याक्सको ब्रान्ड बनाउन र सकेसम्म स्वस्थकर उत्पादन ल्याउन लागि परेका छौं,' निशाना र रविन एक स्वरमा भन्छन्।
