दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी गर्न छिरेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी छन्।
उनलाई आइतबार बिहान २ तुलसीपुर उपमहानगरपालिका – ५ बिपी चोकस्थित एनएमबी बैंकभित्रबाट पक्राउ गरिएको तुलसीपुर प्रहरीले जनाएको छ।
एक व्यक्ति मध्यरातमा बैंकमा प्रवेश गरेको भन्ने सूचनापश्चात इलाका प्रहरी कार्यालय तुलसीपुरबाट इन्स्पेक्टर विनोद खत्री नेतृत्वको टोली एनएमबी बैंकको कार्यालय रहेको स्थानमा पुगेको थियो।
इन्स्पेक्टर खत्रीका अनुसार बैंकको ताला फोडेर भित्र प्रवेश गरिसकेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको हो। उनको साथबाट हथौडा, छिनो, ह्याक्सो लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
शाखा कार्यालयमा लुटपाट प्रयास भएको सूचना एनएमबी बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट जिल्ला प्रहरी कार्यालय दाङलाई खबर भएको थियो।
जिल्लाले इलाकालाई खबर गरेपछि इन्स्पेक्टर खत्री नेतृत्वको टोली परिचालन भएको थियो। चौधरीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उक्त बैंकमा राति सुरक्षा गार्ड राखिएको छैन। त्यही थाहा पाएर चोरी गर्न युवक गएको आकलन छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।