लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागिपरेकाे बताएका छन्।
सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागिपरेकाे उनले बताएका हुन्।
गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङकाे लमहीमा बिहीबार आयाेजना गरेकाे प्रदेशस्तरीय नागरिक सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक याेजना कार्यान्वयनमा लगिएको बताए।
'सरकारकाे नेतृत्व गरेकै दिन भ्रष्टाचारविरूद्ध रणनीतिक याेजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेँ। अहिले त्याे याेजना तयार भएर कार्यान्वयनमा गएकाे छ,’ उनले भने, 'सरकारले नागरिकमा बढ्दै गएकाे निरासालाई चिर्न सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरूद्धका अभियानलाई प्राथमिकता दिएकाे छ। नेतृत्वमा रहेकाहरूलाई नै केन्द्रित गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छाैं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरूलाई आचारसंहिताकाे निगरानी छ।'
प्रदेश सरकारले गर्ने कामप्रति नागरिकहरू गुनासाे गर्न पाउने र त्यसकाे सुनुवाइ गर्ने संयन्त्रकाे विकास गरिएको उनकाे भनाइ छ।
'गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं। यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ,' उनले भने, 'जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरूलाई पनि गुनासाेमार्फत् अघि बढाउन सक्नुहुन्छ।'
मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए।
भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनकाे छ।
'भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ। यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ,' उनले भने, 'भ्रष्टाचार विरूद्धकाे अभियानमा सबै सँगसँगै अगाडि बढ्न जरूरी छ।'
प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए।
गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनकाे उद्घाटन गरिएको थियाे।
सम्मेलनकाे तर्फबाट मुख्यमन्त्री आचार्यलाई घाेषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ। मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरूलाई सम्बाेधन गरिने बताए।