मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ।
‘उहाँलाई पक्राउ गरिसकिएको छ, काठमाडौं ल्याउँदैछौं,’ प्रहरी स्रोतले भन्यो।
उनलाई पौने २ बजे यति एयरमार्फत काठमाडौं ल्याइँदैछ।
अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।
अधिकारीमाथि लागेका आरोपहरूबारे वस्तुनिष्ठ, तथ्यपरक, गम्भीर छानबिनमा सरकारले गर्ने र त्यसमा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता पनि सचिवालय बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ थियो।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ।
अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।
तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।
डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।
जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।
पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्।
डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो। जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ। यसबाट अधिकारी मुख्य कर्ता रहेको बुझ्न सकिन्छ।
यो पनि: मानव तस्करीमा जोडिएका लिलाबल्लभ अधिकारीलाई एमालेले गर्यो कारबाही
मानव तस्करीमा जोडिएका ६ जना हिरासतमा, मुख्यकर्ता मन्त्रीलाई छुट किन?
मुख्यमन्त्रीले अधिकारीलाई सोधेका थिए- तपाईं जापान जान लागेको कि झापा?
मन्त्रीसँगै जापानबाट फर्किएकाहरूको बयान: १० देखि १३ लाखसम्म बुझायौं
मानव तस्कर गिरोहसँगै जापान पुगेका थिए कोशीका मन्त्री अधिकारी