अन्तत: नेकपा एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन्।
एमाले महासचिव शंकर पोखरेलले आचार्य नै अबको मुख्यमन्त्री बन्ने टुंगो लागेको सेतोपाटीलाई बताए।
पार्टीभित्र आचार्य पोखरेल निकट मानिन्छन्।
आचार्य संसदीय दलका उपनेता हुन्। यसअघि उनी अर्थमन्त्री थिए। उनकै नेतृत्वमा एमालेले पाँच जनालाई माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पठाएको थियो।
आइतबार मात्रै एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने भनिएको थियो। पार्टीभित्र उनी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन्।
नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि दलका तर्फबाट लिला गिरीलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति पत्र आफूले आइतबार नै दिइसकेको सेतोपाटीलाई बताए।
यसबारे बुझ्न खोज्दा एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री गिरीले ‘यो राजनीति हो र यो यस्तै हो,’ भन्ने प्रतिक्रिया दिए।
‘हिजो मलाई भनेका थिए, आज आचार्यलाई बनाउने भन्ने कुरा माथिबाट आयो। अब उहाँ नै हुनुहुन्छ,’ उनले भने।
अब आचार्य संसदीय दलको नेता बन्ने बताए।
‘अब त्यसको प्रक्रिया जसरी होला त्यसरी नै अगाडि बढ्ला,’ उनले भने।
पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आइतबार आफूलाई मुख्यमन्त्री बनाउने भनेर दलको तर्फबाट समर्थन पत्र समेत दिइसकेका अवस्थामा पार्टीले केन्द्रबाट आज आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरी पठाएको उनले बताए।
‘यो सबै माथिबाटै भएको हो र रातारात त्यो परिवर्तन गरिएछ,’ उनले भने, ‘बाँकी कुरा अब आचार्य नै मुख्यमन्त्री बन्नु हुनेछ।’