नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामती विधेयक अघि नसारेको दाबी गरे।
उनले खुट्टा नकमाइकन सरकारलाई विधेयक अबिलम्व संसदमा प्रस्तुत गर्न आग्रह गरे।
उनले भने, ‘केही कर्मचारीहरूले संघीय निजामती विधेयकमा प्रस्ताव गरिएको कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै यो विधेयक ल्याउनको लागि रोकावट भइरहेको कुरा मैले सुनेको छु। सरकारले खुट्टा नकमाओस्। तुरून्त ल्याओस्। २५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवहरूले काम पाउँछन्। धम्कीको भरमा यस्ता नीति निर्माण गर्न दिनु हुन्न।’
गत मंगलबारको कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक सरकारले केही दिन रोक्ने निर्णय गरेको सुनिएको छ।
निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ। जस अनुसार राजीनामा वा अवकाश पाएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन्। —न्युज एजेन्सी नेपाल