लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एमालेका मन्त्रीहरूका लागि आफ्नै निवासमा बिदाइ भोज आयोजना गरेका छन्।
संघीय सरकारमा सत्ता समीकरण परिवर्तन हुन लागेसँगै लुम्बिनीमा पनि एमालेका मन्त्रीहरूले सरकार छाड्न लागेका छन्। मन्त्रीहरूले सरकार छाड्ने भएसँगै मुख्यमन्त्री महराले बिदाइ भोज आयोजना गरेका हुन्।
‘बस्ने र गफगाफ गर्ने, खाजासाजा खाऔं भन्ने हो,’ उनले हाँस्दै भने, ‘मेरो मन्त्रिमण्डलमा सहभागीहरूलाई निस्कँदा पनि राम्रै सम्मान गरौं भन्ने हो।’
महराको मन्त्रीमण्डलमा सहभागी पाँच जना एमालेका मन्त्रीहरूले बिहीबार नै राजीनामा बुझाउने भनेर खबर दिएका थिए।
एमालेबाट प्रदेश सरकारमा नेतृत्व गर्दै आएका आर्थिक मामिला तथा योजना मन्त्री तथा दलका उपनेता चेतनारायण आचार्यले केही बेरमा मुख्यमन्त्री महरासमक्ष सामूहिक राजीनामा बुझाउने तयारी भएको बताए।
‘अब केही बेरमै हामी मुख्यमन्त्री कहाँ पुगेर सामूहिक राजीनामा बुझाउने छौं,’ उनले भने, ‘केन्द्रमा विकसित नयाँ राजनीतिक कोर्ष अनुरुप पार्टीको निर्णय कार्यान्वयन गर्न लागेका हौं।’
आफूहरूका लागि मुख्यमन्त्री महराले आफ्नो निवासमा बिदाइ भोजको आयोजना गरेको पनि उनले बताए।
‘हामीले राजीनामा बुझाउन आउँदै छौं भनेर खबर गरेका थियौं,’ आचार्यले भने, ‘त्यसो भए मैले तपाईहरूलाई मिठो भोजनसहित बिदाइ गर्न पाउनुपर्छ भन्ने कुरा गर्नुभयो र हामीले पनि ठिकै छ हामी त्यसमा सहभागी हुन्छौं भनेका छौं।’
पछिल्लो समय केन्द्रमा एमाले र नेपाली कांग्रेसका बीच नयाँ राजनीतिक समीकरण बनेसँगै यसको असर लुम्बिनीमा देखिएको हो। लुम्बिनीमा पनि एमाले र कांग्रेसको गठबन्धनमा सरकार बनाउने तयारी भइरहेको छ।
यसो त एमालेले मुख्यमन्त्री महरालाई राजीनामा बुझाउन अनुरोधसमेत गरिसकेको छ। मुख्यमन्त्री महराले भने आर्थिक भुक्तानी लगायतका काम सकाउनुपर्ने भन्दै असार २४ गतेसम्म को समय माग गरेका छन्।
रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा २०८० चैत २३ गते एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
विकसित राजनीतिक घटनाक्रमका आधारमा तीन महिना नपुग्दै एमालेका पाँच मन्त्रीले राजीनामा बुझाउने निश्चित भइसकेको छ।
प्रदेश सभामा एमालेका २९ सांसद छन्। १९ जना सांसदको मात्रै समर्थन बाँकी रहेसँगै मुख्यमन्त्री महरा अल्पमतमा परेका छन्।
मन्त्री आचार्यले त्यस्तो अवस्थामा मुख्यमन्त्री महराले नैतिकताको आधारमा राजीनामा दिनु बुद्धिमानी ठहर्ने बताए।
‘अल्पमतमा परिसकेपछि नैतिक रुपमा राजीनामा दिई मार्ग प्रशस्त गर्नु उचित हो,’ उनले भने, ‘उहाँले राजीनामा दिई मार्ग प्रशस्त गर्नु हुन्छ वा विश्वासको मत लिन खोज्नु हुन्छ। त्यो केही समय प्रतिक्षाको विषय बन्ने छ।’
मुख्यमन्त्री महराले बिहीबार बिहान ११ बजे बोलाएको मन्त्रिपरिषद बैठक समेत एमालेका मन्त्रीहरूले बहिष्कार गरेका थिए।
यसअघि एमाले नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा तीन महिना उनको मन्त्रीमण्डलमा सहभागी भएका थिए। त्यतिबेला महरा प्रदेशको अर्थमन्त्री बनेका थिए। पछि संघमा कांग्रेससँग गठबन्धन गरेपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परी ढलेको थियो।
पछिल्लो समीकरण अनुसार लुम्बिनीमा कांग्रेस एमालेको मात्रै पनि सहजै बहुमतको सरकार गठन हुन्छ। ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ। सरकार निर्माणका लागि ४४ जना सांसद भए पुग्छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी (विभाजित हुनुअघिको) ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन्।
लुम्बिनी प्रदेश सभामा कुल १० वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ।