गत भदौ २६ गते नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ।
वैशाख १५ गते त्यही रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ।
वैशाखको उपनिर्वाचनलाई राजनीतिक दलहरूले ‘मध्यावधि समीक्षा’ को रूपमा पनि बुझेका छन्।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) लगायत पुराना पार्टीहरूको लोकप्रिय मत खस्किएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो झमटमै २१ सिट (एक स्थान वैशाख १० को उपनिर्वाचनमार्फत् थपेको) जितेर चौथो ठूलो शक्ति बनेको थियो।
गत वर्षको वैशाख १० को उपनिर्वाचन फलिफाप बनिरहँदा रास्वपा आगामी उपनिर्वाचन पनि आफ्नो पक्षमा पार्ने कसरतमा छ भने अघिल्लो निर्वाचन जितेको एमाले आफ्नो जनाधार जोगाउने ध्याउन्नमा।
एमालेभित्र दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई अघि सार्ने चर्चा चलिरहेको छ।
यद्यपि राजनीतिमा ‘वंशवाद’ले प्रश्रय पाउन नहुने भन्दै एमालेभित्रै विरोधको स्वर उठ्न थालेको छ।
तर सुहाङ वंशवादको फेरो समातेर राजनीति आउन नखोजेको बताउँछन्। आफ्नै क्षमताको आलोकमा राजनीतिक चेतनालाई परिस्कृत गर्ने बाटो खोजिरहेका नेम्वाङ यो उपनिर्वाचन राजनीतिक प्रस्थानविन्दु बन्न सक्ने बताउँछन्।
वकालतमा तीन पुस्ता, बालखैबाट राजनीतिक कखरा सिकेका सुहाङ
राजनीतिक सरगर्मीले नै सुहाङलाई ताते गरायो। किताबका कखराभन्दा राजनीतिक कखरासँग उनले छिटो चिनापर्ची पाए।
बुवा राजनीतिमा पूर्णकालीन भएकाले त्यसको रूपरङ देख्न पाए नै, कम्युनिस्ट शब्दावलीसँग पनि परिचित र अन्तरघुलित हुँदै गए।
सुहाङको परिवारमा कानुनको तीन पुस्ते साइनो छ। उनको हजुरबुवा इलाम जिल्ला अदालतका न्यायाधीश थिए।
हजुरबा राजनीतिक बाटोमा थिएनन्।
कानुनी ज्ञानको आलोकमा आफ्नो परिचय विकीर्ण तुल्याएका थिए।
उनको बुवा सुवास नेम्वाङको भने परिचयको छटा कानुनबाट भन्दा बढी राजनीतिबाट माथि उठ्यो। यद्यपि उनी ‘क्रिमिनल ल’का विज्ञ मानिन्थे।
दुई पटकको संविधान सभाअध्यक्ष र २०७२ को संविधान निर्माणमा भूमिका मुखिरत भएकैले बुवाका समवयीहरू सुहाङलाई पनि उक्साउँथे– ‘अब तिमी पनि त बुवालाई पछ्याउँदै राजनीतिमै जाने होला!’
तिनताका उनलाई बुवाकै चालढालसँग तुलना गर्नेहरू पनि प्रशस्तै थिए।
शब्दहरू तौलिएर, फारो गरेर बोल्ने आदत बसेको थियो सुहाङलाई। यसलाई कतिपयले पितृगुण सरेको पनि भन्थे। र, पछि राजनीतिमै फाल हाल्ने अड्कल काट्थे। भविष्यवाणी गर्थे।
उनलाई लाग्थ्यो– राजनीति चानचुने खेल होइन। यो त उन्नत चेतना हो। सामान्य ज्ञानगुणले राजनीतिमा सफल हुन असम्भव नै छ।
एउटा सिद्धहस्त राजनीतिकर्मी हुनका लागि आफू हुर्किएको समाज, बाँचेको परिस्थितिसँग साक्षात्कार भएर मात्रै पुग्दैन, त्यससँग एकाकार पनि हुनुपर्छ। समाजको बहुआयामिक अध्ययन हुनु आवश्यक छ।
राजनीति लहड र भेल छोप्ने खेल होइन भन्ने उनलाई लागिरहन्थ्यो। आफ्नो ज्ञान र चेतनाको क्षितिजले राजनीतिक दिशा पकड्न सक्दैन कि भन्ने लघुता पनि उनमा थियो।
त्यसैले कसैले ‘तिमीले पनि राजनीतिक गर्नुपर्छ भन्दा उनका पाइला गह्रौं बन्थे।
निम्न माध्यमिक तहसम्मको शिक्षा उनले ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरे। माध्यमिक तहको शिक्षा पनि चाबहिल, लामपोखरीमा रहेको लोयल्टी स्कुलबाट सिध्याए।
‘माध्यमिक तहको शिक्षा पूरा गर्दा नगर्दै बुवाका शुभचिन्तक कतिपयले कानुनको बाटो पछ्याउन सुझाव दिनुभयो, कतिपयले राजनीतिमै होमिन भन्नुभयो,मैले चाहिँ त्यतिबेलासम्म कुन बाटो हिँड्ने भनेर भेउ पाइसकेको थिइनँ,’ उनले सुनाए।
किशोरवयमा हिँड्दै गर्दा उनले समाजको विषमताबारे थाहा पाइसकेका थिए। समाजमा गरिबी व्याप्त छ। अशिक्षा छ, त्यसले नयाँनयाँ समस्याको जन्म दिएको छ। पटक–पटक आन्दोलन भए पनि नागरिकले अधिकार पाएको महसुस गर्न सकेका छैनन्। निश्चित तह र तप्काका मानिसहरूले सत्ताको सुखभोग गरिरहेका छन्। नागरिकको ठूलो हिस्सा आधारभूत आवश्यकता पूर्तिकै निम्ति संघर्षरत छन्। यसैमा उनीहरूको जीवन निख्रिइरहेको छ।
यसले समाजमा अन्तरद्वन्द्व निम्त्याइरहेको छ। यसको निदान र उपचार राजनीतिले मात्र गर्न सक्छ भन्ने चेतनामा उनमा जागृत भइसकेको थियो।
बुवाको शान्त र सौम्य स्वभावले उनलाई आश्चर्यचकित तुल्याइरह्यो। उनको हुर्काइ, शिक्षा–दीक्षा काठमाडौंमै भए पनि पारिवारिक समस्यासँग उनले परिचय नपाएका होइनन्।
उनको विचारमा मानिस बाहिरबाट शान्त र सौम्य देखिए पनि ऊभित्र ठूलै कोलाहल हुन्छ। अधैर्य हुन्छ। छटपटी र चिन्ताको ज्वाला दन्किइरहेको हुन्छ। त्यही कारण मानिसहरू भौंतारिइरहेका हुन्छन्।
तर उनलाई बुवा सुवास नेम्वाङले शान्ति प्राप्त गरिसकेको मानिसजस्तो लाग्थ्यो।
‘सानै कुरामा आत्तिने, सानै सफलतामा पनि मात्तिने आम मानिसको स्वभाव हुन्छ। आफूले भनेको चित्त नबुझ्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने, तरंगित भइहाल्ने आदत हुन्छ,’ उनी बुवाको स्वभाव चित्रण गर्दै भन्छन्, ‘तर, उहाँ हतारमा प्रतिक्रिया दिनुहुन्नथ्यो। निकैबेर घोत्लिएपछि शान्त तवरले प्रस्तुत हुने बानीले मलाई प्रभावित तुल्याइरह्यो।’
उनी धेरै टाढा पुगेनन्। आफ्नै बाल्यकालको उदाहरण दिए।
‘हामी दिदी–भाइ सानामा खुबै लाप्पा खेल्थ्यौं। सानै असमझदारीले पनि हामी हात मिसामिसमा पुगिहाल्थ्यौं। तर बुवा त्यतिबेलासम्म उठेर आउनुहुन्थेन, जतिबेलासम्म कोही हातखुट्टा भाँचिने वा अंगभंग हुने तहसम्म पुग्दैनथ्यो!,’ उनले सुनाए।
अहिले सम्झँदा उनलाई त्यतिबेला बुवाले जीवन सीप सिकाएझैं लाग्छ। झगडा र मारपिटले कुन हदसम्मको अनिष्टमा पुर्याउँछ र कुन बिन्दुमा पुगेर रोकिनुपर्छ भनेर बुवाले सिकाउन खोजेको रूपमा आफूले बुझेको र ग्रहण गरेको उनी बताउँछन्।
बुवा कानुनी क्षेत्रमा निपुण थिए। कानुनले जहिले पनि तथ्य र प्रमाणको गहिराइमा पुगेर सत्य अन्वेषण गर्न भन्छ। त्यो कुरालाई उनका बुवाले पनि जीवनमा प्रयोग गरिरहन्थे, स–साना घटनामार्फत्।
सुहाङले यस्तै एउटा घटना स्मरण गरे।
चाडबाडको छेको पारेर उनीहरू एकपटक इलाम जाँदै थिए। झापामा रोकिराखेका बसको झ्यालछेउमा एक हुल केटाकेटी आए।
उनीहरूको हातहातमा चाउचाउ, बिस्कुट, चुइगम आदि सामग्री थिए। एक जना बालकले सुवास नेम्वाङलाई चुइगम किनिदिन खुरुन्धार गरे। बालकले अनुनय नै गरेपछि सुवासले चुइगम किने। सुहाङले चुइगमको मोल पाँच रूपैयाँ होला भन्ठानेका थिए। तर ती बालकले ५० रुपैयाँ पो माग्न थाले।
उनले बुवाले प्रतिवाद गर्नुहोला पनि भन्ठानेका थिए। तर सुवासले ५० कै नोट बालखको हातमा राखिदिए।
आँखै अगाडि बुवा ठगिएको देखेपछि सुहाङ र उनका दिदी मरीमरी हाँस्न थाले।
छोराछोरीको हाँसो नथामिएको देखेर सुवासले सम्झाएछन्, ‘तिमीहरूलाई के लाग्छ, मलाई चुइगमको मोल थाहा छैन? मैले त उसको मेहनतको कदर गरेको। बरू तिमीहरू पनि त्यो बालखबाट सिक र सानोतिनो भए पनि काम गर्ने प्रेरणा लिऊ! सित्तै कसैबाट केही नलेऊ, नदेऊ!’
त्यतिबेला सुहाङले त्यसलाई सानो यात्रानुभवको रूपमा मात्र लिएका थिए।
यस्तै अर्को घटना पनि छ।
दसैं-दसैंमा उनका घरमा एक जना चिनजानकै ‘बेखर्ची भएँ, बसभाडा भए घर जान्थेँ’ भन्दै आउँथे।
तिनलाई उनका बुवाले खर्चबर्च दिन्थे। जाने बेलामा बुवाले सोध्न छुटाउँदैनथे– दिदीलाई कस्तो छ, सोधेको छ है !
ती बेखर्च पनि हुन्छ भन्दै बाटो लाग्थे।
तीन–चारवटा नौरथअघि त्यसरी खर्चबर्च दिएपछि एउटा दसैंमा उनका बुवाले भनेछन्– दिदीसँग उही फोनमा मात्रै हेलो हुने त रहेछ! यसपटक चाहिँ घरै गएर भेट्नू! अनि सञ्चोबिसञ्चो पनि बुझिआउनू!
उनको बुवाले यति भनेपछि ती बेखर्ची धुरूधुरू रोए।
अर्थात् सुवास नेम्वाङ मसिना-मसिना कुरामा पनि जानकारी राख्थे। तर, थाहै नपाएझैं गर्थे। एक दिन पटाक्षेप गर्थे।
अहिले उनले ती स–साना घटनाक्रमलाई पनि सुहाङ गहिरो र सहजसम्प्रेष्य जीवन दर्शनको रूपमा बुझ्न थालेका छन्।
बुवाकै पथ पछ्याउँदै कानुनी अभ्यासमा पैंताला सोझ्याएका नेम्वाङले २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमार्फत् राजनीतिलाई अझ नजिकबाट बुझ्ने मौका पाए।
‘त्यतिबेला बुवाको साथी भएर म इलामका डाँडापाँखा घुमेको थिएँ। चुनावको रापताप बुझ्ने मौका पाएको थिएँ,’ उनले भने।
त्यसपूर्वका निर्वाचनहरूमा बुवाले प्रचार–प्रसारमा हिँडाउन नचाहेको सुहाङले बताए।
‘तँलाई अप्ठ्यारो होला। चुनावमा दौडनु त्यति सजिलो काम होइन, अर्कै प्रकारको चाप हुन्छ भन्नुहुन्थ्यो,’ सुहाङले सम्झिए, ‘तर, पछिल्लो निर्वाचनमा भने उहाँ आफैंले सुरूआती दिनदेखि नै निर्वाचन क्षेत्रमा खटिन उत्प्रेरित गर्नुभयो। जाऊँ कि जाऊँ भनिरहनुभयो।’
उनका अनुसार पछिल्लो निर्वाचन बुवाका लागि निकै दुःसाध्य बनेको थियो। कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई पार्टीका दर्बिलो साथ छँदै थियो, गठबन्धनको पनि तागत थियो तर बुवाले आफ्नै पार्टीको पनि पूर्ण साथ पाउन नसकेको उनले बताए।
‘एक प्रकारले भन्दा बुवाले गठबन्धन, उनीहरूको एकत्रित तागत र आफ्नै पार्टीभित्रका केही खराब प्रवृत्तिसँग पनि लड्नुपर्यो,’ उनले सुनाए।
समाज र राज्य व्यवस्थाको पथ प्रदर्शन गर्ने उन्नत चेतना राजनीति कलुषित र विषाक्त बन्दै गएको पनि उनले त्यतिबेलै देखेका हुन्।
चुनाव आम मानिसको पहुँचबाट टाढिँदै गएको उनले सुनेकै थिए। पैसा नहुनेहरू उम्मेदवार बन्न सक्दैनन् र नचाहँदानचाहँदै प्रतिस्पर्धाबाट बाहिरिनुपर्छ भन्ने पनि उनको कानमा नपरेको होइन। इलामको चुनावी धुपमा खरिएपछि उनले बुझे– चुनावमा त पैसाको तमोर पो बगाइँदो रहेछ!
इलाम क्षेत्र नम्बर २ को निर्वाचन मुटुको ढुकढुकी बढाउने प्रकारको सनसनीपूर्ण थियो। ३० हजार २० मतले कांग्रेसका उम्मेदवार खड्कालाई पाखा लगाएका नेम्वाङले जम्मा ११४ मतले चुनाव जिते।
‘सुरूदेखि नै मत परिणाम पछ्याइरहेको मेरै मुटुको चाल रोकिएलाजस्तो हुन्थ्यो। परिणाम तलमाथि भइरहँदा असहज होला कि भनेर मैले निकै ख्याल गरेँ। चार–पाँच कक्षा पढ्ने बालखलाई जसरी, उहाँको खानपानदेखि निद्रासम्मको ख्याल गरेँ! बुवालाई सुताएर निर्वाचन परिणाम तलमाथि पार्लान् कि भनेर उहाँको छेऊमा आफू जागै रहेँ,’ उनले सुनाउँदै गए।
आफूले आकलन गरेभन्दा कम मत आएको, झिनो मतान्तरले प्रतिस्पर्धी पाखा लगाएको भन्दा पनि सँगै हिँडेका साथी, सहधर्मीहरूले घात गरेकाप्रति सुवास नेम्वाङ चिन्तित बनेको सुहाङले सुनाए।
चुनावी घरदैलोमै उनलाई छनक मिलिसकेको थियो– यसपटक भोट कम आउनेवाला छ। प्रतिस्पर्धी बलिया छँदैछन्, नवोदित पार्टीहरूले पनि एक प्रकारको आकर्षण पैदा गरेकै छन्, इलाम एमालेभित्र पनि केही समस्या र प्रवृत्ति देखिएको छ।
तथापि निर्वाचन परिणामले खुसी दियो। सुवास नेम्वाङका वाचा र प्रतिबद्धता अनुमोदित भयो।
अफसोस्!
ती वाचा र प्रतिबद्धता अधुरा रहने परिस्थिति बन्यो।
भदौ २५ गते राति हृदयघातका कारण सुवास नेम्वाङको निधन भयो।
त्यतिबेला सुहाङ अस्ट्रेलियामा थिए।
उनी बुवाको निधन हुनुभन्दा एक हप्ताअघि अस्ट्रेलिया पुगेका थिए। खेलकुदको कार्यक्रमका लागि। अस्ट्रेलिया जानुभन्दा अगाडि सुहाङले बुवासँग राजनीतिक परिस्थितिबारे दुखेसो गरेका थिए।
त्यतिबेला उनले न्यायालय बिग्रिँदै गएकामा चिन्ता व्यक्त गरेका थिए। त्यतिमात्र होइन, कार्यपालिका र व्यवस्थापिका कतैबाट पनि आश गर्ने ठाउँ नरहेकाले राजनीतिप्रति कुनै चासो नराख्ने बताएका थिए।
छोरा सुहाङको राजनीतिप्रतिको दिक्दारी देखेर बुवा अट्टहास गरेको सम्झिँदै सुहाङ भन्छन्, ‘हाँसो थाम्दै उहाँले भन्नुभयो– छोरो अहिले तिमीलाई जे लाग्छ गर। म भइनँ भने भोलिपल्टै तिमीलाई मेरै साथीहरूले राजनीतिमा ल्याइहाल्छन्,’ उनी अहिले सम्झन्छन्,‘त्यसको एक हप्तापछि म अस्ट्रेलिया गएँ। अस्ट्रेलिया जाने दिन अचानक म रोएछु। ३३–३४ वर्ष भइसकेको म यसअघि त्यसरी कहिल्यै भक्कानिएको थाहा छैन, त्यसबखत किन रोएँ, आफैंलाई थाहा छैन। शायद अब भेट हुँदैन भनेर हृदयले कुनै छनक पाएको पो थियो कि!’
जानु त छँदै थियो, दस वर्षअगाडि बुवालाई आयुले छिन्यो लाग्छ उनलाई। बुवाको राजनीतिक–कानुनी कक्षामा भर्खरै प्रवेश गरेको उनलाई महसुस हुन थालेको थियो।
राजनीतिक र कानुनी ज्ञानको भोक उत्कर्षमा पुगेका बेला अचानक बुवाले छोडेर जाँदा ‘टुहुरो’ महसुस गरेका छन्, यतिबेला उनले।
‘बुवा सधैंभरि मसँगै हुनुहुन्छ भन्ने ठानेको रहेछु। त्यसकारण नैतिकता, राजनीतिक चरित्र, कानुनी प्रश्नहरूको निरूपणको विधि सिक्न थाती राखेको रहेछु। उहाँ दस वर्ष बढी बाँच्नुभएको भए ती विषयमा आधारभूत ज्ञान लिन्थेँ र मलाई केही सहज हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘बाटामा हिँड्दै जाँदा खाल्डो मैले पनि देख्छु, तर बुवा भए त्यहाँ खाल्डो छ नजा भन्नुहुन्थ्यो भन्नेचाहिँ लागिरहँदो रहेछ!’
गत भदौ २६ देखि इलाम २ रिक्त छ।
गत प्रतिनिधि सभाको निर्वाचनमा इलामका पाखा–पखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित छन्। बुवाको पाइला पछ्याउँदै जाँदा कतिपय ठाउँमा आफूले पनि वाचा गरेको उनले सुनाए।
त्यसको दायित्व निर्वाह गर्नुपर्ने भूमिका परिस्थितिले आफ्नो काँधमा सारिदिएको रूपमा उनले बुझेका छन्, बुवाको रिक्तता।
निर्वाचन आयोगले रिक्त इलाम २ मा वैशाख १५ गते निर्वाचन गर्ने मिति तोकिसकेको छ। मतदाता नामावली अद्यावधि भएर रूजु हुने उपक्रममा छ। चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोग अघि बढिरहँदा राजनीतिक दल उपचुनावमा प्रविष्ट हुँदैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमान्डर तोकेको छ।
सत्ता गठबन्धन घटक दलहरू कांग्रेस महासमिति र माओवादी केन्द्रको स्थायी कमिटीमा छलफल भएझैं एक्लाएक्लै चुनावमा जाने कि, उपचुनावमा चाहिँ गठबन्धन गर्ने भनेर निष्कर्षमा पुगिसकेका छैनन्।
यद्यपि गठबन्धन घटक दलहरू आन्तरिक छलफलमा भने छन्।
अघिल्लो पटक चुनाव जितेका हिसाबले एमाले पनि परिणाम पोल्टाबाट उम्कन नदिने ध्याउन्नमै छ।
एमालेभित्र आगामी उम्मेदवारका रूपमा सुहाङलाई अघि सार्नेबारे छलफल भइरहँदा उनले आफैंले भने मुख खोलेका छैनन्।
‘चुनाव उठ्ने प्रसंगलाई मैले तीन भागमा बाँडेर हेर्ने गरेको छु। इलामेली जनताको भावना, मेरो पारिवारिक छलफल र पार्टीका नेताहरूको निर्णयको आधारमा म निचोडमा पुग्छु। यद्यपि, यी तीनै ठाउँबाट सकारात्मक जवाफ आउनुपर्छ,’ उनले भने, ‘इलामेली जनताको भावना के छ? उनीहरूको भावना मैले बुझ्न पाएको छैन। स्थानीय पार्टी कमिटी र नेताहरू छलफलमै हुनुहुन्छ।’
बुवाका समवयी केही नेताले भने मुख फोरेरै अघि बढ्न सुझाएको उनले बताए। बुवाको मृत्यु आशौच बारिरहेकै बखत पनि ‘नाइँ नभन्नू है, हामी छौं नि,’ भनेर घच्घच्याएको उनले बताए।
‘शोकको अवस्थामा भएका बेला मैले केही सोच्न सकेको थिइनँ। पार्टीका नेताहरू आएर नाइँ नभन्नू, के–के सिकाउनुपर्छ, त्यसमा हामी तयार छौं भन्नुहुन्थ्यो,’ उनले भने।
राजनीतिको दसगजामा छन् सुहाङ। कथम् उनले टिकट पाए भने राजनीतिको प्रस्थानविन्दु यही उपनिर्वाचन हुनेछ।
राजनीतिमा भर्खरै चासो राख्न थालेका उनी बुवाकै विरासतमा टेकेर अघि बढ्न भने नखोजेको भनेर दोहोर्याउँछन्।
निर्वाचित उम्मेदवारका रूपमा सुवास नेम्वाङका केही सपना थिए, केही वाचा थिए, जुन यही पाँच वर्षभित्र पूरा गर्नुपर्ने थियो, बुवाका प्रतिबद्धता अलपत्र नपरून्, ती टुहुरा नहून् भन्ने आफूलाई लागिरहेको नेम्वाङले बताए।
‘पिताकै वैभवलाई खुट्किलो बनाएर अघि बढ्ने भन्दा पनि उहाँले देखाउनुभएको सपना र प्रतिबद्धतालाई रेखदेख गरौं भन्ने लागेको छ। यो कुरा फगत उम्मेदवारी र राजनीतिक आबद्धतासँग जोडिँदैन। सुवास नेम्वाङको छोरो भएकाले पनि मैले बहन गर्नुपर्ने नै हुन्छ।’
राजनीतिमा प्रविष्ट भएर ठूलो परिवर्तनको वेग निम्त्याउँछु भन्ने उनलाई लागेको छैन। सामाजिक निराशा र अवसादलाई नजिकबाट महसुस गरेकाले त्यसलाई धेरथोर न्यूनीकरण गर्न सक्छु भन्ने आत्मविश्वासचाहिँ उनमा छ।
कानुनी अभ्यासका क्रममा उनले न्याय र पहुँचको खाडल देखेकाले पनि राजनीतिले यसलाई पुर्न सघाउने विश्वास पनि छ।
‘युवा पुस्ताको ऊर्जा, नवीन चेतना र राजनीतिक पहिलो पुस्ताको अनुभवलाई अन्तरघुलन गर्न सकियो भने धेरथोर परिवर्तन ल्याउन सकिन्छ भन्ने आत्मविश्वास छ। बाँकी त पार्टी नेतृत्व र इलामेली जनताले कसरी सोच्नभएको छ, त्यसमा भर पर्छ,’ उनले अन्तिममा भने।