माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार लुम्बिनीसहित सातै प्रदेशस्थित निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता भइरहेको छ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँट गरी साझा उम्मेदवार तय गरेका छन्।
जसअनुसार लुम्बिनीमा पनि सत्ता गठबन्धनमा रहेका दलहरू र नेकपा (एमाले) ले उम्मेदवारको टुंगो लगाएर उम्मेदवारी दर्ता गरेका छन्। लुम्बिनीमा कुन दलले कस्ता उम्मेदवार अघि सारेका छन्? यहाँ हामी चर्चा गर्दैछौं।
नेपाली कांग्रेसले गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ। उनी २०४८ सालदेखि नै कांग्रेसमा सक्रिय छिन्। नेविसंघ गुल्मी सदस्य समेत भएकी उनी ०५२ देखि ०५८ सम्म नेविसंघको राजनीतिमा पनि सक्रिय थिइन्। साथै ०६३ देखि ०७४ सम्म गुल्मी महिला संघ सभापति थिइन्।
कांग्रेसको १३ औं महाधिवेशनबाट उनी जिल्ला सचिव चुनिएकी थिइन्। १४ औं महाधिवेशनका बेला उनी लुम्बिनी प्रदेश सदस्य भएकी हुन्। कांग्रेस नेता भगतसिंह खड्काले योग्य व्यक्तिलाई पार्टीले टिकट दिएको सेतोपाटीलाई बताए।
उनी ०७४ को स्थानीय तह चुनावमा मुसिकोट नगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन्।
यस्तै नेकपा माओवादी केन्द्रले लुम्बिनीमा झक्कु सुवेदीलाई उम्मेदवार बनाएको छ। उनी रोल्पाको सुनिल स्मृति गाउँपालिकाका हुन्। सुवेदीले २०६४ को संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ मा हराएका थिए।
नेकपा (एमाले) ले लुम्बिनीमा दुई जना उम्मेदवार उठाएको छ। महिलाबाट दाङकी तुलसाकुमारी केसी र अन्यमा पाल्पाका झपेन्द्रबहादुर घर्तीलाई उम्मेदवार बनाएको हो।
केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन्। एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले पार्टीमा लामो समयदेखि काम गर्दै आएकी केसीलाई यो पटक पार्टीले राष्ट्रिय सभाको उम्मेदवार बनाउनु सकारात्मक पक्ष भएको बताए।
त्यस्तै घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन्। उनी जिल्ला विकास समिति पाल्पाको पूर्वसभापति पनि हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपेन्देहीका निरञ्जन थापालाई उम्मेदवार बनाएको छ। उनी पञ्च्यातकालमा गृहमन्त्री थिए। उनी पूर्वराजदूत पनि हुन्।
थापा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष पनि छन्।
राष्ट्रिय सभा चुनावका लागि प्रदेशमा एक मतदानस्थल र दुई मतदान केन्द्र स्थापना भएको छ। सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छ।
लुम्बिनीमा कांग्रेसकी अनिता देवकोटा र एमालेकी कुमार दसौंदीको कार्यकाल सकिन लागेको हुँदा रिक्त हुन जाने पदमा चुनाव हुन लागेको हो।