नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले सामाजिक सञ्जाल टिकटक रोक्न नहुने बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकलाई बन्द गर्ने निर्णय गरेपछि पौडेलले निरन्तर सञ्चालन गर्न दिनुपर्ने बताएका हुन्।
सरकारले सामाजिक सञ्जाल रोक्ने नभई यसको दुरूपयोग हुन नदिन कडाइ गर्ने बताएका छन्।
‘आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई बन्द गर्ने होइन। हाल सामाजिक संजालहरू सूचना प्राप्त गर्न र मनोरञ्जनका लागि मात्र नभई व्यवसाय संचालनमा समेत सहयोगी बन्दै आएका छन्,’ उनले भनेका छन्, ‘राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने होइन, दुरूपयोग हुन नदिन कडाइ गर्ने हो। उचित कानुनी दायराभित्र रहने गरी टिकटक निरन्तर सञ्चालन गर्न दिइयोस्।’
यसरी सरकारले स्वतन्त्रतालाई खुम्च्याउने प्रयास स्वीकार्य नहुने उनले बताए।
‘नागरिक स्वतन्त्रता उपभोग गर्न चाहन्छन्। पारदर्शिता, खुल्लापन नरूचाउनेहरू कर्तुत लुकाउन चाहनेहरू मात्र हुन्। दुरूपयोग सबै ठाउँमा हुन्छ, सरकार स्वयंले सच्याउन पर्ने कुरा सबैभन्दा बढी छ। बेथिति अन्त्य गर्ने नाममा स्वतन्त्रतालाई खुम्च्याउने र अन्तिममा खोस्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन,’ उनले लेखेका छन्।
सरकारले टिकटक गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ। सत्तारूढ दल तथा प्रतिपक्षी दलका नेताहरूले यस निर्णयको विरोध जनाएका छन्।
रकारले यसलाई बन्द नगरी नियमन गर्नुपर्ने माग नेताहरूको छ।