नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई शिक्षकहरूसँग गरिएका सहमति कसरी शिक्षा विधेयकमा समेटिन्छन् भन्ने प्रश्न गरेका छन्।
विद्यालय शिक्षा विधेयकबारे प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सैद्धान्तिक छलफलमा भाग लिएका सांसद पौडेलले सरोकारवाला पक्षहरूसँग छलफलबिनै विधेयक ल्याइएको बताए।
‘विद्यालय शिक्षा विधेयक सदनमा छलफलका लागि आएको छ। तर यसले जुन खुसी ल्याउनुपर्ने, आशा सञ्चार गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन,’ उनले भने, ‘शिक्षा मन्त्रीलाई पनि थाहा छ, नेपालमा दुई लाख हाराहारीमा शिक्षक छन्। उनीहरू यस विषयको मुख्य सरोकारवाला हुन् तर उनीहरूसँग संवाद नगरी विधेयक दर्ता भयो।’
सरकारले नेपाल शिक्षक महासंघ र राहत शिक्षकहरूसँग विभिन्न विषयमा सहमति गरेको थियो।
विधेयक दर्तापछि शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले सम्झौता गरेको उनले बताए।
‘शिक्षा मन्त्रीलाई मेरो प्रश्न छ, शिक्षकहरूसँग गरिएका सहमति विधेयकमा कसरी समेटिन्छ?,’ उनले भने।
विधेयकमा गुणस्तरीय शिक्षाबारे खासै बुँदा समावेश नभएको उनले टिप्पणी गरेका छन्। उनले शिक्षा सोच, सीप र समृद्धिसँग जोडिनुपर्ने पनि बताए।