२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरिदिएपछि माओवादी जनयुद्ध लडेका केही नेताहरूले एमाले रोजे। माओवादीमा लामो लिगेसी भएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणिचन्द्र थापा, टोपबहादुर रायमाझीलगायत नेताहरूले एमाले रोजेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो राहत मिल्यो।
माओवादीको प्रभावशाली भूमिकामा रहेकाहरूले एमाले रोजेपछि ओलीले आफ्नो पार्टी नै नेकपाको निरन्तरता भएको दाबी गरे। माओवादीमा नगई एमालेमै रहेकाहरूलाई देखाएर ओलीले त्यतिबेला माधवकुमार नेपाल समूहलाई थप ‘कर्नर’मा पारे।
उतिबेला एमाले रोजेका पूर्वमाओवादी नेताहरू तीन वर्ष नपुग्दै एमालेमा हैसियतविहीन भएका छन्। पार्टीमा उपयुक्त भूमिकाको अभावमा उनीहरू अहिले अस्तित्व रक्षाको तहमा पुगेका छन्। स्थायी कमिटी सदस्य मणि थापा त एमालेसँग मन मारेर बसेका छन्।
नेकपा (एमाले) का नेता-कार्यकर्ताको मथिङ्गलमा अहिले ‘मिसन २०८४’ झुन्डिएको छ।
गत पुस १० मा माओवादी केन्द्रलाई कांग्रेसको अँगालोबाट छुटाएर सरकार बनाएको एमाले फागुनमा प्रतिपक्षी बेञ्चमा पुग्यो। दुई महिना ५ दिन नबित्दै संघीय सरकारबाट फिर्ता हुनुपरेको पुर्ताल २०८४ को निर्वाचनबाट गर्ने उसको लक्ष्य छ।
२०८४ को चुनावमा सुविधाजनक बहुमत ल्याउने र एकमना सरकार बनाउने महात्त्वाकांक्षी लक्ष्य बोकेको एमालेले फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरूट’ अभियान चलायो।
पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई फरक भूगोल कार्यक्षेत्र तोकेर पठायो।
वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कमिटीको बैठक बसेर त्यसको निचोडअनुरूप पुनः केन्द्रीय नेतालाई भूगोलसार गर्दै कार्यक्षेत्रमा खटाएको छ।
त्यतिमात्र होइन, नेतृत्व चयनको दुई वर्ष पनि नबित्दै मातहतका कमिटीलाई एमालेले पुनः अधिवेशनमा होमेको छ। अधिवेशनको मिति तोकिएका प्रदेशमा स्थानीय तहका जनप्रतिनिधि लक्षित गरेर अनुशिक्षण चलाइरहेको छ।
पार्टीको धमनी र शिरातुल्य संगठनहरूलाई चुस्त–दुरूस्त पारेर पार्टी काममा क्रियाशील गराउन एमाले पंक्ति कार्यक्षेत्रमा धाइरहँदा अभियानमा कतै भेटिँदैनन् मणि थापा।
कार्यविभाजनमा ‘बिदा’ जनाएर उनी निष्क्रिय बसेका छन्। बिदा सकेर उनी पार्टी काममा फर्किने मुडमा भने छैनन्। एमाले पंक्ति र नेतृत्वप्रति उनको मोह भंग भइसकेको देखिन्छ।
एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन्। मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए।
प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उनी गएनन्।
‘मिसन ग्रासरूट’मा उनको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश तोकिएको थियो। त्यतिबेला वैशाखदेखि सुरू हुने ‘राष्ट्रका लागि संगीत अभियात्रा’लाई देखाएर थापा कार्यक्षेत्रमा गएका थिएनन्।
‘उहाँले महासचिव र मलाई भेटेर संगीत अभियात्रामा जान्छु। केही समय बिदा चाहियो भनेर भन्नुभएको थियो। औपचारिक जानकारी गराएरै बिदा बस्नु भएको हो,’ एमालेका उपमहासचिव विष्णु रिमालले सेतोपाटीसँग भने।
बल्थली रिसोर्टको बोलीले बिगार्यो ओलीसँगको सम्बन्ध
गत वर्ष साउनमा घनश्याम भूषालसहित केही नेताले काभ्रेको बल्थली रिसोर्टमा वामपन्थी आन्दोलनबारे विमर्श गरेका थिए।
छलफलमा मणि थापा पनि थिए। त्यहाँ उनले एमाले दक्षिणपन्थी पार्टी रहेको संश्लेषण सुनाए। एमाले मात्र नभई नेपालका सबै वामपन्थी घटक दक्षिणपन्थकै यात्रामा रहेको उनको तर्क थियो।
‘कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ। अहिले नेपालमा भएका सबै कम्युनिस्टहरू दक्षिणपन्थी हुन्। म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमै छु, यो पनि दक्षिणपन्थी कम्युनिस्ट हो,’ उनले भनेका थिए, ‘यो दक्षिणपन्थी कम्युनिस्टले संसदीय व्यवस्थासँग आत्मसमर्पण गरेको छ।’
उक्त विमर्शमा एकातिर उनले आफैं स्थायी कमिटी सदस्य रहेको पार्टी दक्षिणपन्थी भासतिर अघि बढेको औंल्याएका थिए भने अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीमाथि पनि प्रश्न उठाएका थिए।
एमाले भएको नाताले ‘बा’ले भनेको मान्नैपर्ने भन्दै उनले पार्टीका नेता–कार्यकर्ताको निरीहता प्रस्तुत गरेका थिए।
‘अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ हो। अहिले नयाँ मुद्दा चाहिएको छ। हामी एमालेमा छौं, एमालेसँग मुद्दा छैन। एमाले भएको नाताले हाम्रा बा (केपी ओली) ले जे भने पनि त्यो त हो भन्नुपर्यो। पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन, त्यो अनैतिक हुन्छ फेरि,’ थापाले भनेका थिए।
माओवादीमै हुँदा पनि थापा नेतृत्वप्रति बेला-बेलामा असन्तुष्टि पोखिरहन्थे। राज्यसत्ताविरूद्ध लडाइँका अलावा उनले ‘जनयुद्ध’मा सांस्कृतिक बान्की थपेका थिए। गीत रचना र संगीतको लय-झङ्कारद्वारा माओवादी आन्दोलनलाई मन-मनमा पुर्याउन, जोड्न सघाएका थिए।
माओवादी आन्दोलिन विस्तारित हुँदै गर्दा नेतृत्व साँघुरिदै गयो। पार्टीभित्र गुटले हाँगा हाल्न थाले। आन्दोलन, पार्टीका नेता-कार्यकर्ताको भावनाविपरीत नेतृत्वको संरचना निर्माण हुन थाल्यो।
त्यसबाट आजित भएर उनले विद्रोहको बाटो नहिँडेको पनि होइनन्। २०६२ मा भारतको नयाँदिल्लीमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सहमतिप्रति विमति जनाउँदै उनले पार्टी परित्याग गरे। माओवादी छोडेका रवीन्द्र श्रेष्ठ र थापाले क्रान्तिकारी कम्युनिष्ट केन्द्र खोलेका थिए। २०७३ मा मात्रै थापा माओवादीमा फर्किएका हुन्। श्रेष्ठ त्यसअघि नै एमालेमा प्रवेश गरेका थिए। माधवकुमार नेपालको मन्त्रिपरिषदमा मन्त्री बनेका श्रेष्ठ त्यसपछि राजनीतिक दृश्यबाट हराए।
नेकपा विघटनपछि एमालेमै रहँदा पनि पुरानै प्रवृत्तिको अधीनमा रहनुपरेको अनुभूत थापाले गर्न थाले। सार्वजनिक रूपमै उनले भन्ने गरेका थिए- कम्युनिस्ट पार्टीहरू आफैं समस्याग्रस्त बन्न थालेपछि समाजमा पैदा हुने नयाँ-नयाँ समस्या समाधान गर्न सक्दैनन्।
नेकपा विघटन भएर एमाले ब्युँतिएपछि अध्यक्ष ओलीकै कार्यशैलीको निरन्तरताको रूपमा एमाले रह्यो।
नेतृत्वमा अधिकारको केन्द्रीकरण थियो। सचिवालय निर्णय गर्ने, तलका कमिटीले अनुमोदन गर्ने, केन्द्रीय सदस्य ताली बजाउने हैसियतमा सीमित राखिँदा र छलफल-बहसलाई संकुचन तुल्याइँदा पार्टी दक्षिणपन्थी बन्ने थापाको बुझाइ थियो।
एमाले दक्षिणपन्थी भयो भन्ने थापाको तर्कबाट एमाले अध्यक्ष ओली क्रुद्ध बन्न पुगे।
‘चुनावको मुखमा एमालेलाई दक्षिणपन्थी भनेपछि अध्यक्षले रूचाउने कुरै भएन। त्यही भएर उनलाई प्रतिनिधि सभाको समानुपातिक सूचीमा राख्ने, थप जिम्मेवारी दिनेतिर अध्यक्ष लाग्नु भएन,’ एमालेका एक नेता भन्छन्।
एमालेप्रतिको मोह भंग
संसद् विघटन र त्यसपछिका गतिविधिमा पनि अध्यक्ष ओलीका पक्षमा दृढतापूर्वक उभिएका मणि थापा अहिले किन निष्क्रिय छन् भनेर हामीले उनैलाई सोध्यौं।
सुरूमा उनले पार्टीबाट केही समय विश्राम लिएर गीत-संगीत र साहित्य-सिर्जनामा काम गर्न खोजेको बताए।
खोतल्दै जाँदा परम्परागत कम्युनिस्ट पार्टीहरूभित्र पुनर्गठन र रूपान्तरणको प्रश्न ओझेल परेकाले त्यहाँ सक्रिय हुनुको कुनै उपादेयता नरहने निष्कर्ष सुनाए।
‘नेकपाभित्र विग्रह बढ्दा पार्टी नफुटोस् भन्ने थियो। केपी ओलीलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न दिने, प्रचण्डलाई भावी अध्यक्ष बन्ने वातावरण सुनिश्चित गर्दा पार्टी फुट्दैन भन्ने थियो,’ नेकपाकालको कुरा स्मरण गर्दै उनले भने, ‘प्रचण्डले ओलीसँग बस्न सकिँदैन भनेर निष्कर्ष निकालेपछि पार्टी एक हुन सकेन। हामीचाहिँ नेकपालाई निरन्तरता दिएर कम्युनिस्ट आन्दोलनलाई संठगित गर्न सकिन्छ कि भनेर ओलीसँगै रह्यौं।’
ओलीले नेकपाको विरासतलाई निरन्तरता दिनुको साटो पार्टीलाई पुरानै एमालेको ढाँचामा फर्काउन चाहेपछि विस्तारै आफ्नो मन मर्दै गएको उनको भनाइ छ।
दस बुँदे सम्झौता गरेर एमालेमा रहेका दस नेतामध्ये दुई जनाले मात्रै नवौं महाधिवेशनपछि बढुवा पाए। सुरेन्द्र पाण्डे उपाध्यक्ष बने। ठाकुर गैरे पोलिटब्युरो सदस्य। अन्य सदस्यहरूले ओगटेको ठाउँ जोगाउनै सकस पर्यो। पूर्वमाओवादीबाट रहेकाहरूले पनि सोचेजस्तो सम्मान र राजनीतिक आदरभाव पाउन सकेका छैनन्।
एमालेसँग उनको मन मर्नुको कारण यतिमात्र छैन।
नेकपा बन्दा पनि अध्यक्ष ओलीले ‘जनयुद्ध’ स्वीकार गरेका थिएनन्। ओलीले अस्वीकार गरेकै कारण नेकपाको दस्तावेज दुई वर्षसम्म छापिएको थिएन। ‘जनयुद्ध’ दिवससम्बन्धी कुनै पनि कार्यक्रममा ओली देखा परेनन्।
नेकपा छिन्नभिन्नपश्चात् ओलीले ‘जनयुद्ध’को निन्दा-भर्त्सना नै गर्न थालेपछि मणि चिढिएको एमालेकै नेता बताउँछन्।
‘जनयुद्ध मन नपराउन पाइयो। तर यसले ल्याएको परिवर्तन, रूपान्तरण र सामाजिक जागरणको आयामलाई त मान्नुपर्यो। जनयुद्धलाई जस त दिनुपर्यो नि, त्यसमै संकीर्ण देखिएपछि उहाँको एमालेप्रति मोह भंग भएको हुन सक्छ। यद्यपि, उहाँ अहिले नेतृत्वलाई जानकारी गराएरै जिम्मेवारीबाट बिदामा हुनुहुन्छ,’ एमालेका अर्का नेताले भने।
फरक-फरक पृष्ठभूमि, आन्दोलनबाट नेतृत्वमा आइपुगेकाले अध्यक्ष ओली र प्रचण्डबीच धेरै भिन्नता रहेको थापाको बुझाइ छ।
उनले ओली र प्रचण्डमा केही समानता पनि देखे। दुबैले पार्टी नेतृत्वमा केन्द्रीकरण गरेका छन्। यति हुँदाहुँदै पनि प्रचण्डले नेता-कार्यकर्ताका समस्या, असन्तुष्टि र गुनासा सुन्छन्। ओली यसबाट आफूलाई टाढा राख्छन्। नेतृत्वको आलोचना गर्ने, असन्तुष्टि पोख्नेलाई त भेटै दिँदैनन्।
गुट, उपगुट बन्दै जाने, फरक-फरक विचार, दृष्टिकोणले ठाउँ नपाउने हुँदा एमाले मात्रै होइन, सबै वामपन्थी आन्दोलन रक्षात्मक बन्न पुगेको थापाले बताए।
‘कम्युनिस्टहरूलाई अभूतपूर्व अवसर दिएका थियौं, त्यसको सदुपयोग हुन सकेन भनेर नागरिकहरूले प्रश्न गरिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसकारण पनि तल एक खालको निराशा छ। नेकपा फुटको औचित्य पनि कसैले पुष्टि गर्न सकेका छैनन्।’
बृहत् वाम ध्रुवीकरणको दिशामा अघि बढ्नुपर्ने अहिलेको कार्यभार रहेको भए पनि एमालेसहित कुनै पनि दलले यसमा चासो नदेखिएकाले पार्टीमा क्रियाशील हुने जाँगर मर्दै गएको उनले बताए।
बदलिएछ समाजको चरित्र
जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सि, निलीमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रीन, कविता पुन, सन्ध्या मगर, नारायण शर्मा, मणि थापा लगायतले वैशाख महिनाभरि ‘राष्ट्रका लागि संगीत अभियात्रा’ चलाए।
सात प्रदेशका १४ सहर पुगेर कार्यक्रम गरे। नागरिकको मनोदशासँग साक्षात्कार पनि भए।
‘नेपालको राजनीतिक परिवर्तनमा जनवादी गीत-संगीतले अहम् भूमिका खेलेको छ। पछिल्लो समय जनवादी गीत-संगीत अवमूल्यन हुन थालेपछि यसको रक्षा, सम्वर्द्धनका लागि सचेतना आवश्यक थियो,’ अभियानबारे बताउँदै थापाले भने, ‘दोस्रो, जनवादी कलाकारहरूले देखेका सपना पूरा भएनन्। तेस्रो, सामाजिक निराशा र असन्तुष्टि चिर्न बृहत्तर कम्युनिस्ट ध्रुवीकरण जरूरी छ भनेर सन्देश दिनु अपरिहार्य थियो।’
अभियानका क्रममा धनगढीदेखि इलाम पुगेर काठमाडौं फर्कंदा समाजको नयाँखाले असन्तुष्टि-अन्तरविरोधसँग जम्काभेट हुन पुगेको उनले बताए।
‘पुराना राजनीतिक दलप्रति प्रश्नहरू छन्। समाजमा निराशा व्याप्त छ। त्यो निराशाले सामाजिक अराजकता, असन्तुष्टि सिर्जना गरेको छ,’ उनले भने, ‘समाज एक किसिमले भन्ने हो भने ठूलो विद्रोहअगाडिको सन्नाटाको अवस्थामा छ।’
त्यतिमात्र नभई समाजको अन्तरविरोध बदलिँदो आयामसँग पनि परिचित हुने मौका पाएको उनले बताए। भुइँ तहका नागरिकमा कम्युनिस्टप्रति आकर्षण देखिए पनि मध्यमवर्ग अवसरवादी बन्दै गएको उनले निचोड निकालेका छन्।
‘मध्यमवर्गमा दलाल पुँजीवादी चरित्र देखिन्छ। बिचौलियागिरी गरेर आर्थिक हैसियत बनाएका छन्। सत्तामा पुग्ने आधार खडा गरेका छन्। तिनीहरूको आफ्नै उत्पादन भने छैन। वैदेशिक रोजगारी, दलाली तिनीहरूको आर्थिक हैसियतको मुख्य स्रोत हो। तिनीहरूको चरित्र एकदम अस्थिर, ढुलमुले छ। उनीहरू स्थिर भइदिएको भए राजनीतिक स्थायित्व पनि कायम हुन्थ्यो,’ थापाले भने।
यही कारण राजनीतिक मञ्चमा नयाँ-नयाँ दल देखा परेको र यो क्रम अझै रहने पनि उनको बुझाइ छ।
राजनीतिक स्थायीत्वका लागि पनि बृहत् वाम ध्रुवीकरण र एकताको खाँचो रहेको उनले औंल्याए।
शीर्ष नेतासँग संवादको रूचि छैन
‘जनयुद्धकालीन’ गीतहरूको रचयिता हुँदै खानेपानी मन्त्री बनेका मणि थापा एमालेमै अडिने या नयाँ यात्रा सुरू गर्ने ‘राजनीतिक दसगजा’मा उभिएका छन्। संसद् विघटनपछि ओलीलाई साथ दिएर त्यसको राजनीतिक लाभ उठाइसकेका मणिमा सत्ताको स्वाद पसिसकेको छ। राजकीय जिम्मेवारीको पदमा फेरि पुग्ने चाहना देखिनु राजनीतिकर्मीका लागि अस्वाभाविक पनि होइन। तर, त्यसको कुनै बाटो नदेखेपछि राजनीतिकर्मीको अनुहारमा निराशाको बाक्लो बदाल मडारिनु स्वाभाविकै हो।
माओवादी आन्दोलनमा पनि गीत-संगीत सिर्जनाकै बाटो हिँड्दै आएका मणिको आफ्नो चुनावी भूगोल बन्न सकेन। एमालेमा सक्रिय भएर आधार निर्माण गर्ने प्रत्यत्न गरौं, त्यहाँका रैथानेहरूले नसहने जोखिम उत्तिकै छ। माओवादी घटकतिरै जाऊँ कसैको पनि भर छैन।
उनको राजनीतिक जीवन साँच्चै दसगजामा छ।
एमालेका नेताहरूले बताएअनुसार पार्टीले निकालिदेओस् त्यसपछि बाटो तय हुन्छ भन्ने मनोदशामा छन् उनी। त्यसो गर्नु आत्मघाती हुन्छ भन्ने एमाले संस्थापनको बुझाइ छ। ‘पूर्वमाआवादीलाई सहेन’ भन्ने सन्देश जान्छ भनेर पनि एमाले सचेत भएको ती नेताहरूको विश्लेषण छ।
उनी अहिले माओवादी आन्दोलनको यात्रामा विभिन्न कुइनेटोमा छुटेका साथीहरूसँग निरन्तर संवादमा छन्।
‘राष्ट्रका लागि संगीत अभियात्रा’मा नेकपामा महासचिव नेत्रविक्रम चन्दले ठूलो भरथेग गरे। थापाका अनुसार अभियानलाई विप्लवले ७५ प्रतिशतभन्दा बढी टेवा दिए। अहिले पनि उनको विप्लवसँग निरन्तर संवाद भइरहेको छ। विप्लवका अलावा नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला, आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग निरन्तर कुराकानी हुने बताउँछन्।
‘पुराना साथी हुनाले उहाँहरूसँग कुराकानी हुन्छ। तर, प्रमुख पार्टीका शीर्ष नेतासँग संवाद, छलफल गर्नेतिर मेरो कुनै रूचि छैन,’ उनले भने।