ठगी तथा हातहतियार मुद्दा लागेर पटकपटक पक्राउ परिसकेका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका छन्।
मन्त्रिपरिषद बैठकले लामालाई कोषको उपाध्यक्ष बनाएको एक मन्त्रीले जानकारी दिए।
तर कहिले बसेको बैठकबाट लामा नियुक्त भएका हुन् भन्नेबारे ती मन्त्रीले खुलाएनन्।
गत मंगलबार मन्त्रिपरिषदको पछिल्लो बैठक बसेको थियो जहाँ उनको नियुक्तिबारे कुरा उठेकै थिएन। त्यसपछि मन्त्रिपरिषद बैठक बसेको छैन।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ल्हारक्याल लामा वैदेशिक रोजगारमा ठगी, दोहोरो नागरिकता, अकूत सम्पत्ति आर्जन लगायत अभियोगमा पटकपटक पक्राउ परिसकेका व्यक्ति हुन्। उनी कोषको उपाध्यक्ष बन्न निकै अघिदेखि प्रयासरत थिए।
संविधानसभा सदस्यसमेत रहेका उनी अर्थराज्यमन्त्री पनि भइसकेका छन्।
लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिए।