उपचार गरेर फर्किएकी युवतीलाई लुटपाटपछि बलात्कार गर्न खोज्ने तीन जना युवकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ, तुलसीपुर-६ का २२ वर्षीय दुर्गा केसी, तुलसीपुर-१२ कपडादेवीका २० वर्षीय अभिषेक परियार र कपडादेवीकै १९ वर्षीय तिकल चौधरी छन्।
उनीहरूले ती युवतीलाई कपडादेवीस्थित सामुदायिक वनमा करणीको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।
घटना बुधबार साँझ साढे ६ बजेतिरको हो।
प्रहरीका अनुसार तलुसीपुर–१२ जसपुरका एक जना वैद्यसँग हातको उपचार गराएर उनी एक जना पुरूषको साथमा घर फर्कंदै थिइन्।
बाटामा पर्ने सामुदायिक जंगलमा खाजा खाइरहेको समयमा भिडिओ खिचेर अभियुक्तहरूले ‘ब्याल्केमेलिङ’ समेत गरेका थिए।
युवतीसँगै रहेका युवकलाई मोटरसाइकलको हेल्मेटले हानेर घाइते बनाएपछि युवतीलाई केही पर लगेर करणी प्रयास गरेको प्रहरीको भनाइ छ।
सुरूमा उनीहरूले युवकमाथि कुटपिट गर्दै साथमा रहेको मोटरसाइकलको चाबी, एटिएम कार्ड लुटेर त्यसको पिन नम्बरसमेत मागेका थिए।
त्यसपछि युवतीमाथि बलात्कारको प्रयास गरेका थिए।
युवती चिच्याउन थालेपछि गाउँलेहरूले चाल पाएको र आएर बचाएको प्रहरीको भनाइ छ।
हार-गुहार सुनेर अरू मानिसहरू आउन थालेको देखेपछि युवतीको साथमा रहेको सिक्री लुटेर उनीहरू भागेको प्रहरीले बताएको छ।
स्थानीयले युवतीलाई अर्धनग्न अवस्थामा फेला पारेका थिए।
करणी प्रयास गरी भागेका युवकहरू एटिएमको पिन नम्बर नमिलेपछि घटनास्थलमा ल्याएर मोटरसाइल छाडी फरार भएका थिए।
उनीहरूलाई तुलसीपुर क्षेत्रबाट सोही दिन राति साढे ८ बजे नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका तीन जना युवा यसअघि पनि चोरी डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ।
पीडित महिलाले पक्राउ परेका तीनै जनाविरूद्ध जबरजस्ती करणी तथा डाँका चोरी उद्योगअन्तर्गत दोस्रो दिन इप्रका तुलसीपुरमा पुगेर किटानी जाहेरी दिएकी छन्।
पक्राउ परेका तीनै जनाविरूद्ध प्रहरीले करणी तथा डाँका चोरी उद्योगअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ। उनीहरू तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत घोराहीमा पठाइएको इप्रका तुलसीपुरका इन्स्पेक्टर पर्वत केसीले बताए।
लगालग बलात्कारका घटना दर्ता
केही दिनअघि तुलसीपुर बसपार्कमा पार्किङ गरी राखेको बसभित्र प्युठानकी वयोवृद्ध महिलामाथि सामूहिक बलात्कार भएको थियो।
त्यस घटनामा संलग्न दुई जना युवकलाई प्रहरीले मध्यरातमै नियन्त्रणमा लिएको थियो।
साउन ९ गते मात्रै तुलसीपुरकी १४ वर्षीया नाबालिकामाथि दाजु नाता पर्ने व्यक्तिबाटै बलात्कार भएको भन्दै इप्रका तुलसीपुरका मुद्दा दर्ता भएको छ।
तुलसीपुर– ११ हस्नापुरका २३ वर्षीय बिनोद वली पीडितको किटानी जाहेरीका आधारमा पक्राउ परेका छन्।
वलीले साउन ९ गते दिउँसो साढे २ बजेतिर आफ्नै घरको आँगनमा खेलिरहेकी ती नाबालिकालाई फकाइफुल्याइ मकैबारीमा लगेर बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ।
बालिका चिच्याउँदै गुहार मागेपछि उनकी आमा त्यहाँ पुग्दा उनी अचेत अवस्थामा मकै बारीमा फेला परेकी थिइन्। बालिका होसमा आएपछि घटनाबारे आमालाई बताएकी थिइन।
घोराही उपमहानगपरलिका-१५ की १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेको किटानी जाहेरीपछि २० वर्षीय श्रवण खनाल पक्राउ परेका छन्।
खनालले ती किशोरीलाई विवाह गर्छु भनेर असार १० गते दिउँसो आफ्नै घरमा बोलाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।
यीबाहेक अरू केही पनि मौखिक उजुरीहरू यही बीचमा आएको र आरोपित व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ।
जिल्लामा लगालग महिला हिंसाका घटनासम्बन्धी उजुरी दर्ता हुनुले चिन्ता थपेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। कलिला बालबालिका र वृद्ध महिलासमेत बलात्कारको शिकार बनाइनुले यस्ता प्रवृत्तिविरूद्ध कानुनी कारबाही मात्रै हैन समाज पनि जागरूक बन्नुपर्ने अधिकारकर्मी सुष्मा गिरी बताउँछिन्।