प्यूठानको झिमरूक गाउँपालिकाको कार्यालयभित्रै प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीमाथि हातपात भएको छ।
कर्मचारीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको छोराले हातपात र दुर्व्यवहार गरेको विरोधमा कर्मचारीले सेवा रोकेर आन्दोलन गरेका छन्।
‘प्रमुख प्रशासकीय अधिकृतसहित हामीहरू कार्यालय बाहिर प्रतिक्षालयमा बसिरहेका छौं, भित्र गएको छैन’ सूचना अधिकारी हरिप्रसाद पोखरेलले भने, ‘गाउँपालिका अध्यक्ष र केही वडाध्यक्षहरू कार्यालय भित्र हुनुहुन्छ।’
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बुधबार बेलुकी यसबारे प्रहरीलाई जानकारी आएको बताए।
‘घटनाबारे बुझ्दा अध्यक्षले हामी आफैं मिलाउँछौं भन्नुभयो,’ उनले भने, ‘समस्या समाधान गर्न पालिकामा छलफल पनि भइरहेको रहेछ।’
गाउँपालिका अध्यक्षका छोरासमेत रहेका माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता मिलन महतरा क्षेत्रीले योजन भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल लगायतलाई हातपात गरेको आरोप छ।
महतराले पूरा नभएको योजनामा भुक्तानी गर्न बुधबार प्रशासकीय अधिकृतसहित योजना शाखाका कर्मचारी दीपक जिसीलाई दबाब दिएका थिए। साथै उनले हातपात र दुर्व्यवहारसमेत गरेको कर्मचारीहरू बताउँछन्।
‘पूरा नभएको योजनामा उहाँले भुक्तानी गर्न दबाब दिनुभएको थियो। टेबुल ठोक्नुभयो। कति घूस चाहिन्छ भन्दै टेबलमा पैसा फालेर गालीसमेत गर्नुभयो,’ एक कर्मचारीले भने, ‘गाउँपालिकाकै अध्यक्षको छोराले यस्तो क्रियाकलाप गर्दा काम गर्ने वातावरण बनेको छैन।’
कर्मचारीहरूले विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन् भने दोषीमाथि कारबाहीको माग गरेका छन्। दोषीमाथि कारबाही नभएसम्म आफूहरू सेवामा नफर्किने अडान कर्मचारीको छ।
गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले आफ्नो निर्देशनमा घटना नभएको बताए। एक महिनाअघि बनेको बाटोको विषयमा विवाद हुँदा घटना भएको उनले बताए।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले कर्मचारीहरूमाथि दुर्व्यवहार भएकोले दोषीमाथि कारबाही हुनुपर्ने बताए।
‘एक पटक प्राविधिकहरू फिल्डमा गएपछि मात्रै काम पूरा भएको रहेछ भने भुक्तानी दिन मिल्छ,’ उनले भने,‘यो घटनामा कर्मचारीमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि दोषीमाथि कारबाही हुनुपर्छ।’
गाउँपालिका अध्यक्षको छोरासहित ३ जना भुक्तानी माग गर्दै बुधबार गाउँपालिका पुगेका थिए। आफूसँग पनि उनीहरूले १५ मिनेट विवाद गरेको उपाध्यक्ष पोखरेल बताउँछन्।