लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रासायनिक मलका लागि सीमानाका क्षेत्रका प्रहरी प्रशासनसँग कुरा गर्ने बताएका छन्।
शनिबार दाङको तुलसीपुरमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रम बोल्दै मुख्यमन्त्री चौधरीले खेतीपातीको समयमा किसानलाई मल अभाव नहोस् भनेर प्रदेश सरकारले तयारी गरिरहेको बताए।
केन्द्र सरकारलाई पनि पर्याप्त मात्रामा मल उपलब्ध गराउन अनुरोध गरेको भन्दै उनले बताए।
'यस्तो भएन भने प्रदेश सरकारले नै सुरक्षा निकायसँग छलफल गरी भारतीय नाका खोलेर जुन व्यापारीले मल ल्याउँछन्, उनीहरूलाई नाकामा पक्राउ नगर्ने व्यवस्था मिलाइनेछ,' उनले भने।
किसानले खेतीपातीको समयमा मल नपाएर समस्या भोग्नु नपरोस् भनेर विकल्पका रूपमा तयारी थालिसकेको उनले बताए।
त्यस्तै लुम्बिनीको विकासका लागि 'लुम्बिनी सर्किट' बनाउनुपर्नेमा पनि उनले जोड दिए।
लुम्बिनी प्रदेश सरकारको कुल बजेट ४१ अर्ब रूपैयाँ जति मात्रै हुने र त्यो बजेट एउटा जिल्लाको विकासका लागि पनि अपार्यप्त रहेको भन्दै उनले विभिन्न दाताहरूसँग हात बढाएको जानकारी दिए। लुम्बिनी र राजधानी सहरको विकासका लागि विश्व बैंकलाई आफूले आग्रह गरेको उनको भनाइ थियो।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शैय्याको बनाउन र टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि छलफल गरिएको पनि उनले बताए।
'केन्द्र सरकारले बनाएन भने प्रदेश सरकारले स्वामित्व लिएर एयरपोर्ट विस्तार गर्नेछ,' मुख्यमन्त्री चौधरीले भने।
त्यस्तै थारूहरूको धरोहर दंगीशरण थारू राजाको प्राचीन दरबार क्षेत्रको विकासका लागि सकारले यथेष्ट भूमिका खेल्ने उनले बताए। पिछडिएका समुदाय, आदिवासी, जनजातिका साथै महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम व्यवस्था गरिने आश्वासन पनि मुख्यमन्त्री चौधरीले दिए।
'बाजेको पालादेखि प्रयोगमा आएको दाङको कोइलाबास नाकाको विकासका लागि २६ करोडको टेन्डर आह्वान भइसकेको छ,' उनले भने, 'त्यसलाई व्यवस्थित गरेर लुम्बिनी प्रदेश राजधानीसँग जोडिनेछ। नाका खोलेर दाङको तुलसीपुरदेखि भारतको तुलसीपुर बजारसँग प्रत्यक्ष जोड्ने गरी काम हुनेछ।'
अहिले लुम्बिनी प्रदेश सरकारमा योजनाका चाङ रहेको उनले बताए। यस्तो अवस्थामा एउटा टोलको बाटोका लागि समेत प्रदेश सरकारमै योजना पुगेको देखेर आफू आश्चर्यमा परेको पनि उनले बताए। त्यस्ता काम वडा तह र स्थानीय पालिकाबाट गराउन उनले आग्रह गरे।