लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारका २ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिँदै थप ३ मन्त्रीलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
नेपाली कांग्रेसबाट प्रदेश उपसभापति राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्ता सरकारमा सहभागी हुने भएका छन्।
खनाल स्वास्थ्य मन्त्री, अहिर कृषि मन्त्री र गुप्ता सामाजिक मन्त्री बन्न लागेका हुन्।
मुख्यमन्त्री चौधरीले आजै विनाविभागीय मन्त्री सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।
मन्त्रालय भागबन्डामा असहमति जनाउँदै आएको नेकपा माओवादी केन्द्र भने सरकारमा तत्काल नजाने भएको छ।
माअोवादी संसदीय दलका नेता जोखबहादुर महराले तत्काल कसैलाई पनि सरकारमा नपठाउने बताए।
‘हाम्रो पार्टीले बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्रिमण्डलमा पठाउने गरी नाम सिफारिस गरिसकेका छौं,’ उनले भने, ‘हामीले लीला गिरी मुख्यमन्त्री हुँदा ३ मन्त्री पाएका थियौं। अहिले पनि सोही अनुसार हुनुपर्छ भन्ने अडान हो।’
यसअघि कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने दुई दलबीच सहमति भएको थियो। रिक्त तीन मन्त्रालय तत्काल मुख्यमन्त्री आफैँले राख्ने भएका छन्।
आगामी आर्थिक वर्षको बजेटपछि मात्रै सरकारलाई पूर्णता दिने मनस्थितीमा छन्।
बजेटअघि मन्त्रालय टुक्राउँदा विवाद हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजेटपछि कांग्रेसबाट एक र माओवादीबाट थप एक जना मन्त्री बनाउने मनस्थितीमा मुख्यमन्त्री रहेको उनी निकट स्रोतले जानकारी दिएको छ।
८ दल र एक स्वतन्त्र सांसदसहित ५३ जनाको समर्थनमा चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख १९ गते विश्वासको मत लिएका थिए।