प्रहरीले छापामार शैलीमा नख्खु-एकान्तकुनाको वानवे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आफैं गएर पुनः सुरू गरेका छन्।
मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनाको वानवे हटाएको थियो।
नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाएको थियो।
प्रहरीले हटाएको वानवेलाई केही समयपछि मेयर महर्जन नगरप्रहरीसहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरू गरेका हुन्।
‘हामीले राखेको बोर्ड प्रहरीले छापामार शैलीमा हटायो। बिना जानकारी यसरी हटाउन मिल्दैन। मैले आइजीसँग कुरा गरेँ,’ उनले भने, ‘त्यसपछि आफैं आएर पुनः वान वे सुरू गरेको छु। स्थानीय सरकारले गरेको निर्णयलाई प्रहरीले हस्तक्षेप गर्न मिल्दैन।’
यो क्षेत्रमा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै मेयर महर्जनले स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताए।
‘हामीले यो क्षेत्रमा वानवे बनाएपछि सवारी जाम र सडक दुर्घटना शून्य भएको छ। महानगरले राम्रो काम गरेको भनेर स्थानीय खुसी छन्। यसरी एकाएक छापामार शैलीमा प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गर्न मिल्दैन,’ उनले आइजी धीरज प्रताप सिंहसँग भएको कुरा सेतोपाटीसँग भने, ‘यो कामबाट कसलाई के हानी भएको छ। कारण दिनुहोस्। आउनुहोस् बसेर छलफल गरौं, छलफलको निर्णय म मान्न तयार छु। तर यसरी छापामार शैलीमा काममा बाधा नपुर्याउनूस्।’
उनले आइजी सिंहलाई आफूले पहिलो पटक ललितपुरमा वान वे नगरेको स्मरण गर्दै चार चार पटकसम्म वान वे गर्दा सुरूमा प्रहरीलाई पत्र पठाएका जिकिर गरे।
‘चार-चार ठाउँमा वान वे बनाएर सवारी आवागन सहज बनाउँदा केही नबोल्ने। हामीले पत्र पठाउँदा पत्रको केही जवाफ पनि नदिने तर अहिले छापामार शैलीमा साइन बोर्ड र सूचना बोर्ड किन झिक्नुभयो,’ उनले आइजी सिंहलाई प्रश्न गरे।
उनले प्रहरीलाई चुनौती दिँदै भने, ‘तपाईंहरूले बोर्ड हटाएको ठाउँमा म आफैं आएर अहिले पुन ‘वान वे’ सुरू गरेको छु। अब चै नझिक्नुहोला। प्लिज डु नट डिस्टर्ब मी।’
बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले साउन १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई वान वे गरेको थियो।
ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको मेयर मर्जनले जानकारी दिए।
महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र वान वे बनाइसकेको छ।