सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा सदस्यको कार्यकाल निर्वाचनको उम्मेद्वारी घोषणा भएको दिनसम्म रहने बुझाई रहेको बताएका छन्।
सिंहदरबारमा पत्रकारहरुसँगको भेटघाटमा सापकोटाले राष्ट्रपति भवनमा उपसभामुखको सपथ ग्रहण कार्यक्रमका बेला समेत राष्ट्रपति, प्रधानमन्त्रीले कार्यकालको विषयमा छलफल गरेको उल्लेख गरे।
'उपसभामुखको सपथ ग्रहण कार्यक्रमको बेला शितल निवासमा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष सबै हुनुहुन्थ्यो', सभामुख सापकोटाले भने, 'त्यहाँ छलफल हुँदा प्रधानमन्त्रीले 'छलफल गर्दै जाऔँ जे निष्कर्ष निस्कन्छ त्यही अनुसार गरौँ' भन्नुभयो।'
सापकोटाका अनुसार अधिकाशंको बुझाई उम्मेदवारी दर्ताको दिनसम्म प्रतिनिधि सभाको कार्यकाल रहन्छ भन्ने बुझाई रहेको बताए।
'मोटामोटी हाम्रो बुझाई उम्मेद्वारी दर्ताको दिनसम्म रहन्छ भन्ने भयो', सापकोटाले भने, 'विघटन हुँदा मात्र सभामुख र उपसभामुख रहने र अरू जाने हुन्थ्यो।'
तर प्रतिनिधि सभाको कार्यकाल कहिले समाप्त हुन्छ भन्ने विषयमा संविधानविद्हरुसँग राम्रोसँग छलफल गर्नुपर्ने बताए।
प्रतिनिधि सभाको कार्यकाल कहिले समाप्त हुन्छ भन्नेमा संविधानविद्हरुबीच फरक फरक धारणा रहेको छ। संविधानको धारा ८५ मा प्रतिनिधि सभाको कार्यकालय अगावै विघटन भएमा बाहेक पाँच वर्ष रहने उल्लेख छ। तर त्यो पाँच वर्षको समाप्ती कहिले हुन्छ भन्ने यकिन छैन।
निर्वाचनको मिति घोषणा हुनुलाई पाँच वर्षको कार्यकाल सकिएको मान्ने नमान्ने भन्नेमा संविधानविद्हरु विभाजित छन्।
संविधानको धारा ९१ ले सभामुख र उपसभामुखको पद निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्ने दिनसम्म रहने उल्लेख गरेको छ। तर बाँकी सांसदहरुको पद मिति घोषणासम्म रहन्छ वा मनोनयन दिने दिनसम्म भन्ने स्पष्ट छैन।
प्रतिनिधि सभामा नेकपा एमालेका सांसद एवम् वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेल पनि उम्मेदवारी दिने दिनसम्म प्रतिनिधि सभा रहने बताउँछन्। स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिने दिनसम्म पद रहेको उनले बताए।
'मलाई लाग्छ जुन दिन उम्मेदवारी दर्ता हुन्छ त्यो दिन यो संसदको पदावधि सकिन्छ', पोखरेलले भने, 'त्यो अवधिसम्म प्रतिनिधि सभाले आफ्नो काम अघि बढाउन सक्छ।'
पोखरेल दुनियाँमा कँही पनि निर्वाचन घोषणा हुने बित्तिकै जनप्रतिनिधि थलोले काम बन्द गर्ने अभ्यास नहेको बताउँछ्न।