नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि आफूलाई फोन गरेको कुरा पार्टी संसदीय दल बैठक ब्रिफिङ गरेका छन्।
माओवादी संसदीय दलको बैठक बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको थियो।
उक्त बैठकमा अध्यक्ष प्रचण्डले सभापति देउवाले थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि आफूलाई फोन गरेको कुरा बताएका हुन्।
‘यो सरकार रहने देखिँदैन। हामी अहिले सरकारमा जाने भनेको पनि छैन। केपी ओली प्रधानमन्त्री रहुन्जेल यो व्यवस्थालाई खतरा नै रहन्छ। शेरबहादुरजी बाहिर हुनुहुन्छ। उहाँले बैंकक जाने बेला मलाई फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गर्दै शुभयात्रा भनेको थिएँ,’ प्रचण्डका भनाइ उद्धृत गर्दै माओवादीका एक सांसदले भने, ‘हामी हतारिएर सरकारमा जाने बेला भएको छैन।’
संसदीय दल बैठकमा अध्यक्ष प्रचण्डले राखेका कुराबारे प्रमुख सचेतक हितराज पाण्डेलाई सोध्दा उनले विभिन्न विधेयकहरू पारित गर्न पहलकदमी लिने विषय संसदीय दलमा उठेको बताए।
‘अध्यक्षले हामी प्रमुख प्रतिपक्षी दल हो, अहिले जसरी शिक्षकहरू सडकमा छन्। अहिले जसरी विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक अड्किएर बसेका छन्। यसमा पहलदकमी लिनुपर्ने हुन्छ, त्यसका लागि प्रमुख प्रतिपक्षी दलको हैसियतले अरू प्रतिपक्षी दलसँग बैठक बसेर समस्या हल गर्न पहलकदमी लिनुपर्छ भन्नु भएको हो,’ उनले भने, ‘शिक्षकहरूको मात्र कुरा होइन, विद्यार्थीको पनि हो। प्रमुख प्रतिपक्षी दल भनेको वेटिङ गभर्मेन्ट पनि भएकाले उनीहरूको समस्यामा सरकारले जे गर्छ गरोस् भनेर गैरजिम्मेवार हुनु हुँदैन भन्ने कुरा अध्यक्षज्यूको थियो।’
उनले पार्टी अहिले सरकारमा जाने होइन भनेर सार्वजनिक रूपमा अध्यक्षले पनि भन्दै आएको बताए।
‘अहिले हामी सरकारमा जाने होइन भनेर मैले बाहिर पनि भनेको छु। तर जाने होइन भनेर कहिल्यै पनि जाने होइन भनेर कहीँ बाचा बन्धन गरेको छैन नि,’ अध्यक्ष प्रचण्डका भनाइ उद्धृत गर्दै उनले भने, ‘बाचा बन्धन गर्ने कुरा पनि होइन। शेरबहादुर देउवा बाहिर जानु भएको छ। उपचारका लागि। आउनु भएको छैन। कुराकानी केही पनि भएको छैन भनेर उहाँले भन्नुभयो।’