काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताएकी छन्।
जतिसुकै आक्रमण भए पनि बिचलित नहुने र राष्ट्र निर्माणका लागि अघि बढिराख्ने उनले बताइन्।
नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंमा गरेको युथ सेलिब्रेसनमा बोल्दै उपमेयर डंगोलले भनिन्, ‘एमालेबाट टिकट पाएर म उपमेयर निर्वाचित भएँ। सदैव जिम्मेवारी र कर्तव्यमा रहेर जनताप्रति इमान्दार भएर काम गरिरहेको छु, त्यसैकारण प्रशंसा पनि हुन थाल्यो। मेरा कामको सकारात्मक प्रभाव पर्यो, तर त्यो देखेर कतिलाई भतभती पोल्यो, त्यसैले ममाथि निरन्तर आक्रमण भइरहेको छ।’
उनले युवा एकजुट भएका खण्डमा असम्भव भनिएका कुरालाई पनि सम्भव बनाउन सकिने बताइन्।
‘कहिल्यै पनि हार नमान्नेले सफलता पाउँछ, अहिलेको समयमा हामीलाई चौतर्फी आक्रमण भएको छ। जतिसुकै आक्रमण भए पनि हामी बिचलित हुने छैनौं, राष्ट्र निर्माणका लागि हामी थाक्ने छैनौं,’ उनले भनिन्, ‘आधारहीन लेख्न, बोल्न र कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गर्नेहरू राष्ट्रविरोधी तत्व हुन्, उनीहरू सलबलाइरहेका छन्।’
उनले आफू ‘योङ ग्लोबल लिडर’ को रूपमा चयन भएको पनि बताइन्। यसबाट नेपाली युवाले काम गर्न सक्छ र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि ठाउँ बनाउन सक्छ भन्ने देखिएको उनको भनाइ थियो।
‘यो कुराले पनि धेरैलाई पोल्यो, सुन्न सकेन, त्यसपछि जथाभावी आक्रमण प्रयास भएको छ,’ उनले भनिन्, ‘सत्य बोल्न, साँचो काम गर्न, जनतासँग बफादार हुन कदापि पछि हट्ने छैन। आक्रमण भइरहँला तर जित त्यसैको हुन्छ जसले हार मान्दैन। जसले सत्यको बाटो सधैं पछ्याइरहन्छ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गरेको र राष्ट्रवादी भएकै कारण चौतर्फी आक्रमण खेप्नु परेको बताएकी थिइन्।
साथै उनले आपूहरू स्टन्ट नगर्ने र समस्या समाधानमा केन्द्रित रहेको पनि बताइन्।
‘हल्लाको पछि हामी लाग्दैनौं। धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छजस्तो पनि लाग्छ, अरूलाई गाली गरेर देश बन्छ जस्तो लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन,’ उनले भनिन्, ‘देश बनाउने हो भने योजनाअनुरूप काम र काममा इमान्दारी हुनुपर्छ। स्टन्ट होइन काम गर्ने, अराजक होइन अनुशासित युवा देशलाई चाहिएको छ। समस्या आइपर्दा भाग्ने होइन, जुध्ने र समाधान गर्ने ल्याकत राखौं। यो देशलाई सक्षम युवाको खाँचो छ।’