बिहीबार संसारकै सबैभन्दा ठूलो मुलुक रूसले आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गरेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेपछि संसारको ध्यान युक्रेनमा अडिएको छ। दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एउटा मुलुकले अर्को मुलुकमाथि यति ठूलो सैनिक आक्रमण गरेको यो पहिलो पटक हो।
आजका दिनका लागि रूसले निकै लामो तयारी गरेको थियो।
केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेको भए पनि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले अहिले आक्रमणको कुनै योजना नभएको जिकिर गर्दै आएको थियो।
पुटिनको घोषणालगत्तै बिहीबार रूसी सैनिकहरू जल, स्थल र हवाई माध्यमबाट युक्रेनमा पसेको द न्युयोर्क टाइम्सले जनाएको छ।
युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेर देशमा सैनिक कानुन लागु गरेको छ। रूसी आक्रमणविरूद्ध लड्न अहिले युक्रेनीहरूले हतियार लिइरहेका छन्।
४० युक्रेनी र ५० रूसी सैनिक मारिएको दाबी
रूसी आक्रमणको पहिलो दिन भएको क्षतिको विस्तृत र स्वतन्त्र विवरणहरू आइसकेका छैनन्।
अहिलेसम्म युक्रेनी राष्ट्रपति कार्यालयले आफ्ना ४० जना सैनिक मारिएको जानकारी दिएको छ।
राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन्।
रूसले भने आफ्नो आक्रमण नागरिकलाई नभई युक्रेनी सेना र सैनिक संरचनामा केन्द्रीत रहेको बताएको छ।
यसअघि युक्रेनी सेनाले ५० जना रूसी सैनिक मारिएको दाबी गरेको थियो।
समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ।
रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ।
युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना तीन सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ।
राजधानी छोड्नेको लर्को, क्षेप्यास्त्रबाट जोगिन मेट्रो सबस्टेशनमा पुगे किएभवासी
छिमेकी रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न सहरहरूमा पनि आक्रमण भएको छ।
रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्। सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
राजधानी किएभका वासिन्दा क्षेप्यास्त्रको डरले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन्।
रूसी राष्ट्रपति पुटिनले अहिलेको आक्रमण सैनिक संरचना र बेसमा मात्रै सीमित भएको बताए पनि युक्रेनियनहरूमा त्रास व्याप्त छ।
युक्रेनलाई ढाढस दिँदै पुटिनलाई जवाफदेही बनाउने पश्चिमा मुलुकको चेतावनी
रूसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरूले उक्त कदमको भत्सर्ना गरेका छन्।
बिहीबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग टेलिफोनमा कुरा गरेका छन्। टेलिफोन कुराकानीका क्रममा दुबै नेताहरूले युक्रेनलाई सघाउने वचन दिएका छन्।
जेलेन्स्कीसँगको कुराकानीपछि बेलायती प्रधानमन्त्री जोन्सनले पुटिनले रक्तपात र ध्वंशको बाटो रोजेको भन्दै बेलायत र अरू पार्टनर मुलुकले पुटिनको यो कदमको निर्णायक जवाफ दिने बताएका छन्।
'यो आक्रमणबाट हुने मृत्यु र क्षतिको एक्लो जिम्मेवार रूस हुनेछ। संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रहरूले एकतावद्ध र निर्णायक तरिकाले यसको जवाफ दिनेछन्। संसारले रूसलाई जवाफदेही बनाउनेछ,' बाइडेनले भनेका छन्।
रूसको पछिल्लो कदमबारे बाइडेनले अमेरिकी नागरिकलाई आज सम्बोधन पनि गर्दैछन्।
रूसमाथि थप प्रतिबन्धको तयारी
युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपियन युनियनका अन्य मुलुकहरूले रूस र रूसी अधिकारीहरूमाथि कडा खालका आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। प्रतिबन्धहरू कस्ता हुन्छन् भन्ने यकिन भइसकेको छैन।
बोल्यो नेपाल
रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ।
बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ।
नेपालले सबै पक्षलाई तनाव बढ्न नदिन उच्च संयमता अपनाउन आग्रह गरेको छ।
‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,’ विज्ञप्तिमा भनिएको छ।
रूसले केही दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनु राष्ट्रसंघको बडापत्र विपरीत भएको पनि नेपालले उल्लेख गरेको छ।
‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,’ विज्ञप्तिमा भनिएको छ।
युक्रेनबाट के चाहन्छन् पुटिन?
बिहीबार बिहान उज्यालो भइसकेको थिएन, युक्रेनको राजधानी किएभका बासिन्दा बिस्फोटको आवाजसँगै ब्युझिए। किएभमात्रै होइन पूर्वी युक्रेनका अरू धेरै सहरमा बिस्फोट भइसकेका थिए।
विशाल छिमेकी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही घोषणा गरेसँगै युक्रेन र रूसको तनाव नयाँ चरणमा प्रवेश गरेको छ।
युक्रेनका विदेश मन्त्रीले रूसले पूर्ण रूपमा युक्रेनमाथि आक्रमण गरेको भन्दै पुटिनलाई रोक्न बाँकी विश्वले साथ दिनुपर्ने बताएका छन्। उनले यो लडाइँ युक्रेनले जित्ने दाबी गरेका छन्। युक्रेनमा संकटकाल घोषणा गरिएको छ।
पुटिनको घोषणासँगै युक्रेनले आफ्नो आकाश नागरिक उड्ययनका लागि बन्द गरिदिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो अन्यायपूर्ण कदमका लागि पुटिनलाई विश्वले जवाफदेही बनाउने बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुतेरेसले मानवताका लागि आफ्ना सैनिकहरू फिर्ता लिन पुटिनलाई आग्रह गरेका छन्।
रूसी राष्ट्रपति पुटिनले भने लडाइँ अवश्यम्भावी भएको बताएका छन्।
केही दिनअघि पुटिनले रूस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए। डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि उनले त्यहाँ शान्ति स्थापनार्थ रूसी सैनिक जाने बताएका थिए।
त्यसको दुई दिनपछि पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।
पुटिन युक्रेनबाट के चाहन्छन्?
रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।
गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए।
ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। अहिले झन्डै दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।
यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन्।
रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।
बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।
डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए।
किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।
रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।
युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।
पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)