भारतको जम्मु कश्मिरको पहलगाम घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भर्त्सना गरेको छ।
मंगलबार आतंकवादी समूहले पहलगाममा पर्यटकको समूहमाथि गरेको आक्रमणमा परी एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणकै कारण दर्जनौं व्यक्तिहरू घाइते भएका थिए। उक्त मानवताविरोधी घटनाप्रति पार्टीले विज्ञप्ति जारी गर्दै गहिरो दु:ख प्रकट गरेको बताएको छ।
‘अमानवीय, क्रुर र हृदयविदारक पहलगाम घटनाको राप्रपा अति निन्दा र भर्त्सना गर्दछ। केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो। पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरू चिन्ताको विषय हो,' राप्रपाले विज्ञप्तिमा भनेको छ।
राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा रहेको भन्दै जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरूद्धको आतंककारी कार्य स्वीकार्य हुन नसक्ने बताएको छ।
यस्तै, आतंकवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रूपन्देहीको बुटवल-११, कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरूप्रति राप्रपाले हार्दिक श्रद्धान्जली अर्पण गरेको बताएको छ।