माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टी पदाधिकारी टुंगो लगाएको छ। अध्यक्ष नेपालले गरेको प्रस्तावमा केहीले असन्तुष्टि जनाएपछि केन्द्रीय समितिबाट पारित गर्नुअघि पदाधिकारी हेरफेर भएको छ।
कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालपछि झलनाथ खनाल बरिष्ठ नेता छन् भने उपाध्यक्षभन्दा माथि मुकुन्द न्यौपानेलाई नेतामा राखिएको छ।
केन्द्रीय समिति बैठकअघि ४ जना उपाध्यक्ष राख्ने तयारी अध्यक्ष नेपालको थियो। केही नेताहरूको असन्तुष्टिपछि उपाध्यक्षको संख्या ७ पुर्याइएको छ।
सुरुआतमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राईलाई उपाध्यक्ष राख्ने सहमति भएको थियो। पछि घनेन्द्र बस्नेत, केदार न्यौपाने र केशवलाल श्रेष्ठलाई उपाध्यक्ष थप गरिएको हो।
केशवलाल श्रेष्ठलाई सचिव बनाउने प्रस्ताव अध्यक्ष नेपालले तयार पारेका थिए। उनलाई अन्तिममा उपाध्यक्ष बनाइएको हो।
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।
त्यस्तै समाजवादीले चार जना सचिव बनाएको छ। जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्। राजेन्द्र राईलाई नेपालले पदाधिकारीमा राखेका थिएनन्। तर केन्द्रीय समिति बैठकअघि केही नेताहरूमा असन्तुष्टि देखिएपछि अध्यक्ष नेपालले राईलाई सचिवमा ल्याएका हुन्। तत्कालीन एमालेमा राईभन्दा पछि विद्यार्थी संगठनको नेतृत्व गरेकी रामकुमारी झाँक्रीलाई सचिव बनाइएपछि एकीकृत समाजवादीमा वरीयताको प्रश्न उठेको थियो।
एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।
![](https://www.setopati.com/uploads/editor/2021-02-28/CPN%20US%2C%20CC%20meeting%203rd%20day-1.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-02-28/CPN%20US%2C%20CC%20meeting%203rd%20day-2.jpg)