निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको छ।
आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन्।
नेकपा (एमाले) बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन्।
राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो। दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन।
पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरे। सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरेका थिए।
सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगे।
नेकपा (एमाले) बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो।
दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएपछि आयोगले प्रमाणपत्र दिएको हो।
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको छुट्टै दल दर्ताका निम्ति भएको प्रक्रियाका अन्तर्गत आज दुवै दलका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि आज आयोगले समय दिएको थियो।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्यहरू १६ जनाले हस्ताक्षर सनाखत गरेका छन् भने संघीय संसद सदस्य १४ जनाले हस्ताक्षर सनाखत गरेको श्रेष्ठले जानकारी दिए।