एमाले नेता घनश्याम भुसालले पार्टी अध्यक्षलाई छोडेर प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले एक सांसदको हिसाबले आफूले मर्यादा उल्लंघन गरेको स्वीकार गर्दै अहिलेको व्यवस्था र संविधान बचाउनका लागि आफूसँग त्यसको विकल्प नभएको जिकिर गरेका छन्।
‘अहिले नेकपा एमालेका केही सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ,’ भुसालले भनेका छन्, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघन विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ ।’
करिब १ वर्ष अगाडि एक राजनीतिककर्मीले आफूलाई बताएअनुसार नै देशको राजनीतिक कोर्स अघि बढेको र त्यो अनुसार अहिलेको व्यवस्था र संविधानलाई असफल बनाउने तर्फ लगिँदै गरेको दावी गरेका छन् ।
गत वर्ष प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने अध्यादेश ल्याएकै भोलिपल्ट आफूलाई एक राजनीतिकर्मीले आफूलाई सुनाएको र अहिले त्यही अनुसार भइरहेको भुसालको दावी छ । उनका अनुसार ती व्यक्तिले उनलाई नेकपा विभाद नमिल्ने, अदालतबाट एमाले माओवादी छुट्याउँने, निर्वाचन घोषणा गरिने तर नहुने, त्यसपछि देशमा अन्योलको अवस्था हुँदै नयाँ संविधानको कोर्सतर्फ कुरा उनले सुनाएको अहिले सोही अनुसार देश अघि बढ्न लागेको दावी गरेका छन् ।
घोषणा गरिएको निर्वाचन हुँदै नहुने र भएपनि निश्पक्ष नहुने उनको आँकलन छ। यही षडयन्त्रलाई असफल पार्न आफूले देउवालाई प्रधानमन्त्री बनाउने मागमा हस्ताक्षर गरेको भुसालले स्पष्ट पारेका छन् ।
‘मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाको पक्षमा हो’ उनले भनेका छन् ।