जनता समाजवादी पार्टी जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई-यादव पक्षले स्पष्टीकरण सोधेको हो।
जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो।
स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव-भट्टराई पक्षको भनाइ छ।
जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षमा ३० जना रहेका छन्।
नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो।
जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई-यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ।
पार्टीभित्र विवाद भएकै कारण जसपा अध्यक्ष ठाकुरले एकतर्फी रूपमा जेठ ८ गते र ९ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित गरेका थिए। तर भट्टराई-यादव पक्षले भने बहुमत सदस्यसहित बैठक सम्पन्न गरेको थियो। बैठक बोलाउने बेलामा भने यादव र ठाकुर दुवै जनाले हस्ताक्षर गरेका थिए।
विघटित प्रतिनिधिसभामा ३२ जना सांसदमध्ये ठाकुर-महतो पक्षसँग २० जना सांसद रहेका छन्। ठाकुर-महतो पक्षको भेलाले वैशाख ३० गते भक्तपुरको एक रिसोर्टबाट महतोलाई संसदीय दलको नेता समेत चयन गरेको थियो।