चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
आइतबार बेलुकी भएको भेटमा दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए।
सो क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए।
सल्लाहकार भट्टराईका अनुसार चिनियाँ टोलीले दुई देशबीच गहिरिदैं र झ्याँङ्गिदै गएको सम्बन्धमा खुशी व्यक्त गरेका छन्।
उनीहरूले दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको उनको भनाइ छ।
सम्बन्धले नयाँ उचाइ हासिल गर्दै जाने आशा चिनियाँ पक्षले सो भेटमा राखेका थिए।
भेटमा उपमन्त्री कुओ येचौले नेपाल चीनको निकट छिमेकी र मित्र रहेको बताएका थिए। उनले चीनले नेपाललाई हरेक क्षेत्रमा सहयोग गर्दै आएको र यो भविष्यमा पनि जारी रहने विश्वास व्यक्त गरेका थिए।
उनले दुबै तर्फबाट एकअर्को मुलुकमा विगत तथा हालमा भएका उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बुझ्न सहयोग गरेको र यसले मुलुक र नागरिक स्तरमा सम्बन्धलाई प्रगाढ बनाउने उल्लेख गरेको भट्टराईले बताएका छन्।
भेटवार्तामा उक्त टोलीले नेपालले लिदैं आएको एक चीनको नीतिलाई दोहोर्याउँदै आफ्नो भूमि चीनविरूद्ध प्रयोग गर्न नदिएको कुरा स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। यसका लागि उनले नेपाल र नेकपालाई धन्यवाद समेत दिएका छन्।
चिनियाँ टोली आइतबार चाटर्ड विमानमार्फत नेपाल आएको थियो।
टोलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो।
टोलीले नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालसँग सोमबार भेट गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आएको छ।