नेपालले पहिलो पटक एकीकृत परराष्ट्र नीति ल्याएको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको र यसले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने धारणा व्यक्त गरे।
परराष्ट्र मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।
नयाँ परराष्ट्र नीतिमा बनाउँदा नेपालको संविधान, विभिन्न समयमा बनेका समितिले दिएका सुझाव, गत वर्ष भएको राष्ट्रिय संवाद, राजनीतिक दलका दस्तावेज, विज्ञ, अनुसन्धाताले दिएका सुझावलाई समेटिएको उनले बताए।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार परराष्ट्र नीतिमा गौतम बुद्ध र पृथ्वीनारायण शाहका विचारलाई आत्मसात् गरिएको छ।
‘बुद्धले जहिले पनि शान्ति र अहिंसाका पक्षमा वकालत गर्नुभयो। बुद्धभूमि हुनुका नाताले हामी पनि संसारभरि शान्ति र अहिंसाका पक्षमा वकालत गर्छौं। कहीँ विवाद भए त्यसको शान्तिपूर्ण समाधान हुनुपर्छ भन्छौं,’ ज्ञवालीले भने, ‘त्यसैअनुरूप संसारका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न नेपालले संयुक्त राष्ट्रका विभिन्न शान्ति मिसनमा सहभागिता जनाउँदै आएको छ।’
उनले पृथ्वीनारायण शाहले भनेको ‘नेपाल दुई ढुंगाबीचको तरूल हो’ भन्ने विचारलाई पनि परराष्ट्र नीतिको मार्गदर्शक मानिएको बताए।
‘उहाँको पालामा भन्दा अहिले परिस्थिति बदिलएको छ। दुई ढुंगाबीचको तरूल भन्ने कुराको विभिन्न कोणबाट व्याख्या हुन सक्ला,’ मन्त्री ज्ञवालीले भने, ‘उहाँको भनाइलाई जस्ताको त्यस्तै राख्ने भन्दा पनि अहिलेको परिवेशमा उहाँको भनाइलाई ध्यान दिनुपर्छ।’
नेपालले सधैं बहुलता, विविधता र समानता भएको विश्व हेर्न चाहेको उनले बताए।
‘विविधतामा पनि कसरी एकता हुन सक्छ भन्ने नेपाल आफैंमा एउटा उदाहरण हो,’ ज्ञवालीले भने,‘जसरी ३ करोड नेपालीमा यति धेरै भाषा, जातजाति सहअस्तित्वमा छन् त्यसरी नै संसार पनि फरक शासन प्रणाली र क्षमता भएका देशबीच सहअस्तित्वमा रहोस् भन्ने चाहन्छौं।’
परराष्ट्र ज्ञवालीले पछिल्लो समय बदलिँदै गएको विश्व व्यवस्था, नेपालको सीमा सुरक्षाको प्रश्न, विदेश सम्बन्धमा एकीकृत राष्ट्रिय दृष्टिकोण नहुनु, अन्तर्राष्ट्रिय सहायतामा नेपालको प्राथमिकता र अपनत्वजस्ता विषय परराष्ट्र सम्बन्धका लागि चुनौतीका रूपमा रहेको औंल्याए।
'हामीले सार्वभौमसत्तालाई कसरी जोगाउने, बहुपक्षीय फोरमहरूमा द्वीपक्षीय डिल हावी भरहेको बेला साझा चासोलाई कसरी सम्बोधन गर्ने, अति कम विकसित मुलुकबाट माथि उठ्दा फेरि पछाडि नफर्किने गरी स्रोत साधनको विकास कसरी गर्नेजस्ता चुनौती हाम्रासामू छन्,’ उनले भने,‘जलवायु परिवर्तनमा हामी नगरेको गल्तीको सजाय भोगिरहेका छौं। विश्वव्यापी महामारी र महाविपत्तीमा अन्तर्राष्ट्रिय सहायता कसरी जुटाउने र त्यसका लागि हाम्रो समग्र क्षमता कसरी बढाउने चुनौती पनि छन्।’
चुनौतीसँगै स्थायित्व र प्रजातान्त्रिक सरकार, सीमा रक्षालगायत विषयमा राष्ट्रिय एकता, प्रजातान्त्रिक र सामाजिक न्याय भएको मुलुकको रूपमा नेपालले बनाएको छवि, सबै मुलुकसँग सन्तुलित सम्बन्धले नेपाललाई अवसर पनि सँगै ल्याएको ज्ञवालीले बताए।
उनले नेपालको परराष्ट्र नीतिका विषय अझै पनि केहीमा पूर्वाग्रह र हिनतावोध रहेकाले त्यसलाई बदल्नु पर्ने औंल्याए।
‘कतिपयलाई नेपाल समान सार्वभौमिकता भएको मुलुक नभई सानो, कमजोर र पछाडि परेको मुलुक हो, त्यसैले ठूला कुरा गर्नु हुन्न सम्झौता गर्नुपर्छ भन्ने लाग्छ,’ ज्ञवालीले भने,‘त्यसलाई बदल्न जरूरी छ।’
नेपालले 'सबैसँग मित्रता तर कसैसँग शत्रुता नगर्ने' मन्त्र अपनाएकाले कुनै शासन प्रणाली भएको मुलुकको विषयमा कुनै अर्को अमुक मुलुकलाई जोडेर मुद्दा बनाउन नहुने ज्ञवालीको भनाइ छ।
‘जलवायु परिवर्तनको मुद्दामा नेपाल सुन्नेमात्रै भूमिकामा थियो। अब यो जीवन-मरणको विषय भइसकेकाले यो मुद्दामा नेपालले अग्रसरता लिनुपर्छ,’ उनले भने।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले अहिले पनि बहुपक्षीय सहकार्य र फोरमहरूलाई नै प्राथमिकता दिने नीति लिएको बताए।
‘सुरूमा भन्दा अहिले विश्व परिवेशमा परिवर्तन आए पनि असंलग्नताको नीति सान्दर्भिक छ,’ उनले भने,‘पछिल्लो समय विश्वका जल्दाबल्दा मुद्दामा संयुक्त राष्ट्रसंघको भूमिका कमजोरजस्तो देखिए पनि नेपालले राष्ट्रसंघको भूमिकालाई बलियो बनाउनु पर्छ भन्ने मान्यता राख्छ किनकी अहिलेका समस्या समाधान गर्नसक्ने क्षमता भएको त्योजस्तो अर्को कुनै फोरम छैन।’
पत्रकार सम्मेलन परराष्ट्र मन्त्रालयले गत वर्ष गरेका कामहरूको वार्षीक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो।
उक्त प्रतिवेदनमा गत वर्ष उत्तर र दक्षिणका छिमेकीसँगको सम्बन्ध सुमधुर भएको, संयुक्त राष्ट्रसंघका मञ्चहरू नेपालको प्रभावकारी उपस्थिति रहेको र अन्य मुलुकको सँगको सम्बन्धमा सुधार भएको उल्लेख छ।
यस्तो छ नयाँ परराष्ट्र नीतिको पूर्णपाठ
भिडियो