दोक्लम पठारः खल्बलिएको उत्तोलक


भुटानले आफ्नो भनी दाबी गरिरहेको दोक्लम पठारमा गत जुनमा चीनले सडक बनाउन थालेपछि भुटानको मागअनुसार भारतीय सेना भुटानमा प्रवेश गर्‍यो। भारतीय सेनाको भुटान प्रवेशसँगै दोक्लमको विवाद अब चीन र भुटानभन्दा पनि चीन र भारतको द्वन्द्वको विषय हुन पुगेको छ। यो द्वन्द्व समाधानको लागि भन्दै भारत र चीनले आ–आफ्नै शर्त अघि सारेका छन्। पछिल्लो समय चीनी जनसेनाका प्रवक्ताले भारतीय सेनालाई भुटानबाट पछि हट्न आग्रह गरेका छन्। चीनले चीनी सेनालाई चलाउन पहाड हल्लाउन भन्दा कठिन हुने भन्दै अटेर गरेमा भरतले सन् १९६२ को जस्तै शर्मनाक अवस्था भोग्नु पर्ने चेतावनी दिएको छ । यसको प्रतिउत्तरमा भारतका एक मन्त्रीले नाभकीय हतियार र चीनको भू–भागसम्म मार हान्न सक्ने क्षमताका मिसाइल भएको भारत सन् १९६२ को जस्तो नभएको बताएका छन् ।

जारी वादप्रतिवादले एसियाका दुई ठूला राष्ट्र बीच युद्धको वातावरण बन्दै गएको आकलन गर्न थालिएको छ। दोक्लमको तनावले चीन र भारतबीच युद्ध भयो भने दक्षिण एसिया बिशेष गरी सीमा विवाद रहेका नेपालजस्ता स–साना मुलुकमा ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ हुने हो कि भन्ने त्रास श्रृजना भएको छ। के दोक्लम तनावको कारण चीन र भारतबीच युद्ध होला? यो लेख यही विषयमा केन्द्रित छ।

फ्रान्सिस फुकुयामाले ‘द ओरिजीन अफ पोलिटिकल अर्डर’मा राज्य निर्माणको गतिशीलतालाई इंगित गर्दै राज्यले लडाइँ गर्दछन् र लडाइँले राज्य निर्माण गर्दछ भन्दै राज्य र लडाइँलाई एक सिक्काको दुई पाटा भएको बताएका छन्। हुन पनि सन् १९४५ भन्दा अगाडि विश्व युद्ध नै दुईपटक भए, अरु लडाइँ र झगडाहरु त कति भए कति! सन् १९४५ मा द्वितीय विश्वयुद्धको समाप्तीपछि राष्ट्र राष्ट्र बीच एक राष्ट्रले अर्को राष्ट्रसँग गर्ने युद्धमा अभूतपूर्व कटौती भएको छ। पछिल्लोपटक सन् १९९० मा इराकले कुबेतमा गरेको आक्रमणबाहेक अन्त यस प्रकारको पूर्णरुपको युद्ध भएको छैन। मेरिल्याण्ड युनिभर्सिटीले सन् २००४ मा सार्वजनिक गरेको एक प्रतिवेदनमा सन् १९५० पछि सन् १९८० सम्म विश्वमा लडाइँ झगडाका घटनामा साठी प्रतिशत र त्यसपछि हालका दिनमा त एकदमै न्युन भएको तथ्य उल्लेख छ। अहिलेको विश्व यस अघिको विश्वभन्दा असाध्यै शान्त छ। अहिलेको समयको बारेमा हाभार्डका प्रोफेसर स्टेभेन पिङ्करले मानव जातिको उत्पत्ति पछिको सम्भवत सबैभन्दा शान्त समयमा हामी बाँचिरहेका छौं भनेका थिए। शान्त भएकै कारणले संसारमा यसअघि मानव सभ्यताले कहिल्यै नदेखेको सपन्नतामा बिशेषगरी आय र स्वास्थ्यमा अभूतपूर्व प्रगति भएको छ।

विश्वमा युद्धको कारण हुने हानी नोक्सानीमा पनि उल्लेख्य कमी अएको छ। सन् २००० को विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा युद्धको कारण मुत्यु हुनेको सङ्ख्या अन्य कारण भन्दा धेरै तल रहेको छ। उक्त साल युद्धबाट तीन लाख दश हजार मानिसको मुत्यु भएको थियो जब कि सवारी दुर्घटनाबाट बाह्र लाख, आत्महत्याबाट आठ लाख पन्ध्र हजार र हिंसा तथा अपराधबाट पाँच लाख बीस हजारको मृत्यु भएको थियो। यो शान्तिको समयले मानिसको लागि आर्थिक विकासको ‘बोनस’ दिएको छ। विश्व अर्थतन्त्रको अकार ह्वात्तै बढेको छ भने व्यापार पनि दु्रत गतिले बढेको छ। सन् १९९० देखि २००७ सम्ममा विश्वको अर्थतन्त्र २२.८ बाट ५३.३ खरव डलर पुगेको छ भने राष्ट्र–राष्ट्र बीचको व्यापारमा १३३ प्रतिशत बृद्धि भएको छ। विश्व व्यापार संगठनका अनुसार सन् २०१५ मा विश्व व्यापार १९ खरब डलर पुगेको थियो।

‘द वल्ड इज फ्ल्याट’ नामको पुस्तकमा थोमस् फ्रिडम्यान अमेरिकी बहुराष्ट्रिय कम्पनी मेकडोनाल्ड रहेका कुनै पनि दुई देशले युद्ध नगरेको तथ्य सार्वजनिक गरेका थिए। उनले मेकडोनाल्डलाई अर्थतन्त्रको विश्वव्यापी सञ्जाल विस्तारको एक शिखर घटनाको रुपमा लिंदै यो तर्क प्रस्तुत गरेका थिए। अर्थात् जति धेरै कुनै देशको अर्थतन्त्र अरु देशसँग आबद्ध हुँदै, बढ्दै जान्छ तब राष्ट्र युद्ध गर्न रुचाउँदैन। विश्व व्यापारको सञ्जालमा दुई देश बीचको लडाइँको असर कहाँ र कसरी पर्दछ भनेर अनुमान लगाउन पनि गाह्रो हुन्छ। युद्धबाट विश्व सञ्जालमा जोडिएको अर्थतन्त्र बिग्रिएर बढी हानी हुने भएकाले राष्ट्रहरु युद्ध गर्न होइन बरु पन्छाउन लागि पर्दछन्।

सन् २००६ मा ताइवानसँगको तनावमा चीनले युद्धकालीन समयमा जस्तै ठूलो सङ्ख्यामा आफ्ना सैनिक जहाज तथा नौसेना परिचालन गरेको थियो। यसबाट दुई देश बीच युद्धको खतरा बढेको तर्क लेखकले गर्दा अर्थशास्त्रका एक अमेरिकी प्रोफेसरले ताइवान र चीनबीच पहिले लडाइँ सम्भव थियो तर अब कहिल्यै सम्भव नभएको भनी ठोकुवा गरेका थिए। उनको तर्क थियो कि ताइवान र चीनको अर्थ व्यवस्था लगानी, उत्पादन र वितरणको हिसाबले यति धेरै एकाकार भएको छ कि लडाइँमा संलग्न भएर यसलाई तहसनहस पार्न न त चीन चाहन्छ, न त ताइवान नै। नभन्दै केही समयपछि चीनको यो सैनिक परिचालन त्यसै हराएको थियो।

सन् १९९८ मा भारतले कारगिलमा नियन्त्रण रेखा पार गरेर पाकिस्तानको घुसपैठ भएको भन्दै दुई लाख सेना परिचालन गरेको थियो। यसभन्दा अगाडि सन् १९४७, १९६५ र १९७१ मा गरी तीनतीन पटक युद्ध लडिसकेका भारत र पाकिस्तान बीच यसपटकको भारतको तयारी हेर्दा युद्ध हुने आशंका फैलिएको थियो। तात्कालिक समयमा पाकिस्तानको अर्थ र समारिक मुख्य हिस्सेदार अमेरिकासँग नवाज सरिफले सहयोग माग्दा राष्ट्रपति क्लिन्टनले अस्विकार गरेपछि आणविक अस्त्र भएको पाकिस्तान पनि पछाडि हटेको थियो। कारगिलमा भारतको समान्य सैन्य कारबाहीपछि यो तनाव त्यसै सेलाएको थियो। यसले युद्धको रुप नै धारण गरेन।

संसारमा युद्ध त्यसै कम भएको होइन। अहिलेको राष्ट्रिय अर्थिक समृद्धि आत्मनिर्भर छैन, अन्तरनिर्भर छ। यसमा संलग्न हुने राष्ट्रको संख्या र हिस्सा बढेको छ। फरिद जकरियाकाले ‘द पोष्ट अमेरिकन वल्र्डमा’ सन् २००७ मा विश्व अर्थतन्त्रको करिब ४० प्रतिशत हिस्सा चीन, भारत, ब्राजिल र रुसजस्ता उदयीमान राष्ट्रले ओगटेको बताएका थिए। देशको अर्थतन्त्र जति धेरै अन्तरनिर्भर हुन्छ, उति नै युद्धले यो विथोलिन्छ । यसरी युद्धबाट राष्ट्र–राष्ट्र बीचको सम्बन्ध बिथोलिंदा अर्थतन्त्र नै प्रभावित हुने अवस्था आउँछ, जसको मूल्य युद्धको भन्दा चर्को हुन्छ।
हरारीले ‘सेपियन्समा’ सम्पत्तिको स्वरुप फेरिएकोले युद्ध पहिले जस्तो नाफाको व्यवसाय नभई घाटाको व्यवसाय हुँदै गएको तर्क गरेका छन्। युद्ध जितेर प्राप्त हुने फाइदा, हानीभन्दा कम भएको छ। उनले युद्धबाट प्राप्त गर्न सकिने सम्पत्ति, जमिन र खानी, त्यहाँको जनशक्तिको तुलनामा केही नभएको तर्क गर्दै यस्तो काबिल जनशक्ति गतिशील भएकोले युद्धबाट हासिल गर्न नसिकने बताएका छन्। त्यसैकारण राज्यहरुको लागि लडाइँ अब नाफाको विषय रहेन। शक्तिशाली राष्ट्रहरुचाहिँ नभिकीय हतियार थुपारेर सामूहिक आत्महत्याको मार्गमा लागेको कारण अर्कोलाई लडाइँ गरेर सिध्याउँछु भन्दा आफू पनि सिद्धिने अवस्था श्रृजना हुने भएकाले शक्तिशाली राष्ट्रहरुबीच हतियारको अभूतपूर्व भण्डार हुँदाहुँदै पनि युद्ध नभएको हो।

युद्ध नाफाभन्दा घाटाको व्यवसाय भइसके पनि हतियारको होड किन चलिरहेछ त? युद्धको तयारीमा राष्ट्रहरु किन संलग्न भइरहेका छन्? यो प्रश्न अनौठो लाग्ने खालको छ। युद्ध कम हुनु भनेको स्वतः शान्ति कायम हुनु होइन। युद्धको सम्भावना समाप्त नहुँदासम्म स्थायी शान्ति सम्भव छैन। युद्धको कालो बादल मडारिदासम्म युद्ध नभए पनि शान्तिको अवस्था हुँदैन। युद्धको सम्भावना रहँदासम्म अर्कोले मलाई जितीहाल्छ कि भन्ने त्रास रहिरहन्छ। युद्धको हारबाट उत्पन्न क्षति ठूलो हुन्छ। त्यसकारण युद्धमा कोही पनि हार्न चाहँदैन। यसरी युद्धको सम्भावना समाप्त नभएकोले हतियारको होड नरोकिएको हो।

राष्ट्र–राष्ट्र बीचको सम्बन्धको आधार विश्वव्यापीकरण मात्र होइन। रोवर्ट काप्लान ‘रिभेन्ज अफ जोग्राफी’मा संसार जति नै बदलिए पनि राज्य–राज्य बीचको सम्बन्धको आधार भूगोल नै हो भन्दछन्। उनी भौगोलिक अवरोध वा सहजताले राज्य–राज्य बीचको सम्बन्ध निर्धारण हुन्छ भन्दछन्। रुसले चाहेर पनि इरानलाई छोड्न सक्दैन किनकि रुस र इरानबीच भूगोल अबरोधक छैन, यी दुई राष्ट्रबीच पहिले पनि आवतजावत भइरहेकै हो। अब पनि भइरहन्छ। त्यसैगरी अमेरिकाले जति दबाब दिए पनि चीनले र रुसले उत्तर कोरियालाई छोड्न सक्दैनन् किनकि यी राष्ट्रबीचको ओसारपसारमा भूगोल सहायक छ।

भारत र चीनको व्यापार सन् २०१५/१६ मा ७० अर्ब डलर पुगेको छ। भारत र चीनको अमेरिका लगायत अन्य राष्ट्रसँगको व्यापारको हिस्सा ठूलो छ। यस अवस्थामा यी दुई राष्ट्र आफूहरु बीचको व्यापार र आफ्ना प्रमुख व्यापारिक साझेदारलाई असर पर्ने काम गर्न चाहँदैनन्। युद्धले यी आक्रामक पक्ष र अन्य राष्ट्रको आर्थिक हितलाई खलबल्याउँछ। त्यसकारण, युद्ध चाहना हुन सक्दैन। फेरि, युद्ध भनेको सिपाहीदेखि लिएर रसद पानीको व्यापक ओसारपसार पनि हो। यो कामको लागि चीन र भारतको लागि हिमाली भूगोल अबरोधक छ। विगतमा जति पनि मानिसहरुको आउजाउ भयो, भारतमाथि युद्ध भयो, सबै पश्चिमतिर बाटै भएको थियो। परापूर्वकालदेखि नै चीनीहरुले हिमालपार गरेर भारतमाथि युद्ध गरेको इतिहास छैन। यो कारणले पनि एकले अर्को विरुद्ध युद्धको लागि परिचालित हुने कुरा सहज छैन। अर्को महत्वपूर्ण कुरा त, दुवै राष्ट्र आभिकीय हतियार भएका राष्ट्र हुन्। कसैले पनि लडाइँ जित्न नसकिने कुरामा दुवै राष्ट्र जानकार छन्। यी सबै कारणले गर्दा यी दूुई राष्ट्रबीच दोक्लमको तनावलाई लिएर युद्ध हुने कुनै सम्भावना देखिदैन।

यसो हो भने हालको अवस्था किन आएको छ त? वर्तमानको सैनिक तनाव एक राष्ट्रको अर्को राष्ट्र प्रतिको कुनै कुराको असन्तुष्टि मात्र हो। सैनिक तनाव त त्यो असन्तुष्टीको प्रदर्शन मात्र हो। विवाद प्राविधिक तहमा मात्र सीमित हुनुले पनि यसलाई संकेत गर्दछ। विवाद भइरहँदा पनि चीनका राष्ट्रपति लि पेङ्ग र भारतका प्रधानमन्त्री मोदी अंकमाल गरेर आत्मियता प्रदर्शन गरिरहेकै छन्। कुनै पनि बेला यो तनाव वार्ताद्वारा सल्टिन सक्दछ। त्यसैगरी कहिलेकाहीं आफ्ना नागरिकको ध्यान अन्तै मोड्न पनि शासकहरु यस प्रकारको सैनिक खिचातानीमा जानाजान उत्रन्छन्। शान्तिको अवस्थामा सेनाको काम हुँदैन। त्यसकारण सैनिक र सामरिक अभिबृद्धिलाई औचित्यपूर्ण बनाउन पनि राष्ट्रहरु यस प्रकारको व्यवहार गर्दछन्। राष्ट्रियता सबैले बुझ्ने र सबै प्रभावित हुने सञ्चारको माध्यम हो। जति नै विभाजित समाज पनि राष्ट्रियताको सञ्चारमा एकबद्ध भइहाल्दछ। अर्को राष्ट्रलाई शत्रु देखाउँदा राष्ट्रियता सबैभन्दा बढी उचालिन्छ। राष्ट्रलाई एकताबद्ध राख्न पनि शासकहरु कहिलेकाहीँ यस प्रकारको राष्ट्रियता जगाउने गतिविधिमा लाग्दछन्। त्यसकारण भारत र चीनबीचको यो खिचातानी कुनै पनि बेला फासफुस हुन्छ। यसबाट शान्ति भङ्ग हुने कुनै खतरा देखिँदैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.