लेखक तथा पत्रकार शिव प्रकाशले महावीर पुनको नेपाल आविस्कार केन्द्रलाई २ लाख ५७ हजार रूपैयाँ सहयोग गरेका छन्।
अमेरिकामा बस्दै आएका पत्रकार शिवप्रकाशले आफ्नो पुस्तक घागीको अमेरिका बिक्रीबाट आएको रकममा त्यतीनै रकम थपि आविस्कार केन्द्रलाई सहयोग गरेका हुन्।
‘महावीर पुनजस्ता देशका निधिले आफ्नै देशका लागि केही गर्छु भन्दा पदक बेच्ने अवस्था आउनु दूर्भाग्यपूर्ण छ। धिक्कार भन्छु, राजनीतिक नेतृत्व र सरकारलाई,’ शिवप्रकाशले सेतोपाटीसँग भने, ‘किताब विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनेको थिएँ। लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने छु ।’
साँग्रिला बुक्सले प्रकाशनमा ल्याएको उक्त पुस्तक बिक्रीबाट अमेरिकामा करिब १२ सय डलर जम्मा भएको थियो त्यसमा लेखक र श्रीमती जोत्सना पौड्यालका तर्फबाट १३ सय थप गरी २५ सय डलर प्रदान गरिएको हो।
परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तोष हुने शिवप्रकाशले बताए। ‘समाजसेवा परिभाषा ज्यादै सरल छ, समाजप्रतिको इमान्दारिता नै सच्चा समाजसेवा हो,’ उनी भन्छन्।
लेखकले हरिवंश आचार्य जस्तो व्यक्तिले पुस्तक बेच्दै हिड्नु हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन्। ‘देशविदेशमा रहेका नेपालीले हरिवंश आचार्यलाई पैसा, पदक, मान–सम्मान सबै दिएका थिए। देशका बेकामे बनेका नेताले जनतालाई नारा बेचेजस्तो गरी किताब बेच्नु राम्रो होइन।’
यसैबीच बोस्टनस्थित जयंतु संस्कृतम्, अमेरिकाले पनि नेपाल आविस्कार केन्द्रलाई सहयोग गर्ने भएको छ। संस्थाका अभियन्ता तथा लेखक रमेश शर्माका अनुसार संस्थाले पनि आविस्कार केन्द्रलाई केही रकम सहयोग गर्ने बताए।
समाजसेवा भनेको समाजमा फोहर उब्जाउनु र फैलाउँदे बोकेर हिड्नु नभएर त्यो फोहरलाई बढारेर फ्याक्नुसक्नु नै सच्चा समाजसेवा भएको शिवप्रकाशले बताए।
‘म कसैलाई केही दिन्छु भने त्यो सेवा हैन, सहयोग हो । सहयोग र सेवा फरक हुन्। डा. गोविन्द केसी, महावीर पुनजस्ता मान्छे समाजसेवाका सुपात्रहरु हुन्,’ उनले भने,‘ यस्ता व्यक्तिसँग सहकार्य गरेर अगाडि बढ्न पाउनु खुसीको कुरा हो।’
राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दै विकास अभियानमा लाग्न राष्ट्रिय आविष्कार केन्द्र गठन गरेका सामाजिक अभियन्ता महावीर पुनले रकम अभाव भएको भन्दै आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेका छन्।
आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधिगत उपलब्धि हासिल गर्न लागिपरेका महावीर सरकारसँग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधारण नेपालीसँग ‘पैसा, बुद्धि र समय’ को सहयोग माग्दै आएका छन्।
देश–विदेशमा रहेका नेपाली हितैषीको स्वैच्छिक महादानबाट केन्द्रमा ४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महावीरले बताएका छन्।
केन्द्रले राखेको लक्ष्य र योजनामा बल पुर्याउन १० महिनायता सुरु ‘स्वैच्छिक महादान’ मा ५० करोड रुपैयाँ संकलन गरी जलविद्युत् परियोजना सञ्चालन गर्दै यसको नियमित आम्दानीबाट आविष्कार केन्द्रलाई ‘परिणाममुखी’ बनाउने योजना पुनको छ।
पदकलाई घरको कुनामा थन्क्याएर राख्नुभन्दा यी उपलब्धिलाई थप उत्पादनमूलक बनाउन बिक्रीमा राखेको उनले बताएका छन्। महावीरले र्यामन म्यागासेसे अवार्ड (२००७), इन्टरनेट हल अफ फेम (२०१४), राष्ट्रद्वीप (२०१२), युनिभर्सिटी अफ नेब्रास्का (२००१) र डा. हर्कबहादुर गुरुङ पर्वतीय पुरस्कारलाई बिक्रीमा राखेका छन्।