ग्लोबल नेपाली
मैले सन् २००७ मा काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङको पढाइ पूरा गरेपछि 'जेटिई' कम्पनीमा काम गरेँ।
तर सोचेजस्तो नभएपछि सन् २०१४ मा म क्यानडा गएँ। त्यहाँ मलाई आफैले लगानी गर्ने हुटहुटी थियो। सुरूआतमै त लगानी गर्न सहज भएन। त्यहाँ 'पावर इन्जिनियरिङ' कोर्स गरेँ। अनलाइन व्यापार सुरू गरेँ। त्यसपछि स्टक मार्केटमा लगानी गर्न सुरू गरेँ।
मैले गरेको लगानीले सन् २०२० सम्म खासै प्रतिफल दिएको थिएन। लगानीको तरिका र क्षेत्र पहिचानका विषयमा विभिन्न किताब पढेँ, अध्ययन गरेँ। त्यसबाट नयाँनयाँ कुरा थाहा पाएँ।
आफूले लगानी गरेसँगै अरूलाई पनि सुझाब दिन र प्रोत्साहित गर्न सुरू गरेँ। त्यसबाट धेरै नेपालीले स्टक मार्केटमा लगानी गर्ने तरिका थाहा पाए। उनीहरू सन्तुष्ट पनि छन्।
अहिले म क्यानडाको स्टक मार्केटमा पूर्ण रूपमा लागेको छु। यसले मलाई राम्रो फाइदा दिएको छ। सेयर बजारको अध्ययन गर्नमा र त्यसबाट कसरी उत्कृष्ट प्रतिफल लिन सकिन्छ भन्नेमा केन्द्रित छु।
मेरो लगानी गर्ने तरिका अलि फरक छ। यो क्षेत्रमा गरेको लगानीबाट पछुताउनु परेको छैन। राम्रो प्रतिफल पाएको छु।
धेरैले समाचारमा आएको, अर्काले भनेको र साथीहरूले सुझाब दिएको आधारमा लगानी गर्छन् तर राम्रो अध्ययन गरेका हुँदैनन्। यस किसिमको लगानीबाट नाफा लिन सकिँदैन।
कुनै कम्पनीको सेयर किन्नु छ भने त्यसबारे राम्रोसँग अध्ययन गर्नुपर्छ। कम्पनीको पृष्ठभूमि, प्रगति विवरण, आउने दिनमा हुन सक्ने नाफा–घाटाबारे राम्ररी विचार गर्न सक्नुपर्छ। शतप्रतिशत नाफा भन्ने त केहीमा पनि हुँदैन। स्टक मार्केट आफैमा जोखिमको क्षेत्र हो। यस कारण लगानीको प्रतिफल कस्तो हुन्छ भन्ने कुरा राम्ररी विचार गर्नुपर्छ।
आफ्नो आर्थिक कारोबार यति नै छ भनेर यति नै छ भनेर ठ्याक्कै भन्नु उपयुक्त नहोला। म वार्षिक एक लाख क्यानेडियन डलरभन्दा धेरैको कारोबार गर्छु। केहीलाई रोजगारी पनि दिएको छु।
मैले क्यानडा, अस्ट्रेलिया, अमेरिका र नेपालका सेयर बजारमा लागानी गर्ने व्यक्तिहरू भेटेको छु। तीमध्ये धेरैले अरूको कुरा सुनेर लगानी गरेको पाएँ। यसरी लगानी गर्नु गतिलो काम होइन। आफूले राम्रो जानकारी नलिई सेयरमा जथाभावी लगानी गर्दा डुब्न धेरै समय लाग्दैन।
एक किसिमले भन्ने हो भने सेयर बजार क्यासिनो भन्दा पनि खतरनाक हुन्छ।
क्यासिनो जाँदा निश्चित पैसा लिएर गइन्छ र हारियो भने त्यति सकिएपछि फर्किने भन्ने हुन्छ तर सेयर लगानी त्यस्तो हुँदैन। यसमा असीमित तरिकाले पैसा गइरहेको हुन्छ। यस कारण सबै पक्ष राम्ररी बुझेर मात्र लगानी गर्नुपर्छ।
मैले क्यानडाको स्टक मार्केटमा लगानी गरेकाले यसकै बारेमा भन्न चाहन्छु। क्यानडासँगै अमेरिका, अस्ट्रेलिया र बेलायत सहितका युरोपेली देशहरूको सेयर बजार उस्तै उस्तै हो। यी देशमा बस्ने कतिपय नेपालीलाई पनि मैले सल्लाह दिने गरेको छु।
क्यानडाको सेयर बजारमा लगानी गर्नुअघि यसबारे अध्ययन गर्न जरूरी छ। कुनै कम्पनीको आर्थिक अवस्था थाहा पाउन त्यसको 'फाइनान्सियल स्टेटमेन्ट' पढ्नुपर्छ। म विषयमा पनि सिकाउँछु। यसबारे दुईदेखि चार हप्तासम्म अध्ययन गर्न सकिन्छ।
कस्ता कम्पनीमा सेयर लगानी गर्ने, यसको मापन कसरी गर्ने भनेर मैले 'थ्री रूल्स अफ मनी' नामको सानो किताब पनि लेखेको छु। यो किताब अनलाइनमा निःशुल्क डाउनलोड गर्न सकिन्छ।
क्यानडामा रियल–इस्टेट र स्टक मार्केट लगानीका लागि उपयुक्त क्षेत्र हुन्। रियल–इस्टेटमा बढी मेहनत चाहिन्छ, मर्मत खर्च लगायत धेरैतिर ध्यान दिनुपर्छ। स्टक मार्केटमा अध्ययन–अनुसन्धान गरेका भरमा लगानी गर्न सकिन्छ।
राम्रो अध्ययन नगरी सेयरमा लगानी गर्दै हुनुहुन्छ भने तपाईंलाई घाटा लाग्ने निश्चितजस्तै हुन्छ। त्यस्तो लगानीको सट्टा बैंकमा 'फिक्स्ड डिपोजिट' मा पैसा राख्नु राम्रो हुन्छ। राम्रो अध्यनन गरेर उपयुक्त कम्पनीमा सेयरमा लगानी गर्दा धेरै राम्रो नाफा लिन सकिन्छ।
(क्यानडाका सेयर लगानीकर्ता श्याम चालिसेसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com