ग्लोबल नेपाली
गोर्खाका अनिलबाबु अर्याल अमेरिका जाँदा १८ वर्ष उमेर मात्र पार भएका थिए। पढाइ सकेर नेपाल फर्किने सोच थियो।
तर अहिले उनी क्यालिफोर्नियामा घरजग्गा व्यवसायमा जमेका छन्।
'मेरो कम्पनीले पुरानो घर किन्छ र मर्मत गरेर बेच्छ। नयाँ घर र अपार्टमेन्ट बनाउँछ, कर्जा सुविधा पनि दिलाउँछ,' उनले भने।
आमा गृहिणी, बुबा नेपाल प्रहरीमा जागिरे; घरको आर्थिक अवस्था राम्रै थियो। उनी सात कक्षासम्म गाउँकै स्कुलमा पढे। त्यो समय तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र आन्दोलन चल्दै थियो।
स्कुलमा पनि आन्दोलनको असर परेपछि बुबाले उनलाई काभ्रेको साँगास्थित दीपेन्द्र (हाल– नेपाल) प्रहरी स्कुलमा कक्षा आठमा भर्ना गराए। उनले त्यहीँबाट १२ कक्षासम्मको पढाइ पूरा गरे।
त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए। त्यही समय उनले आफू पढेको प्रहरी स्कुलमै पढाउने अवसर पाए। तलब मासिक पाँच हजार रूपैयाँ थियो। बस्ने र खाने सुविधा स्कुलमै थियो। पढ्ने र पढाउने काम चल्दै थियो।
प्रहरी सेवामा रहेका बुबा छोरालाई नेपाली सेनामा लगाउन चाहन्थे। बुबाको इच्छा अनुसार अनिलले सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा आवेदन गरे।
'मेरा केही साथीहरू अमेरिका जाने योजनामा थिए। कुराको सिलसिलामा एक दिन एक साथीले आफूले अमेरिकाको एउटा कलेजमा आवेदन गरेको कुरा सुनायो। मैले पनि साथीकै सल्लाहमा अनलाइन आवेदन गरेँ,' उनले भने।
यता सेकेन्ड लेफ्टिनेन्टको तयारी चल्दै थियो। आइक्यु (बौद्धिकता परीक्षण) पास गरिसकेका थिए। त्यही बीचमा अमेरिकी कलेजबाट अफर लेटर आयो।
त्यसबाट उत्साहित अनिलले अमेरिका जाने तयारी गरे। अन्ततः सन् २००७ मा वेस्ट भजिर्नियास्थित माउन्टेन स्टेट युनिभर्सिटी पुगे।
'मेरो पढाइ राम्रो थियो। यहाँ आर्मीमा पनि नाम निकाल्थेँ,' उनले भने, 'अमेरिकामा आवेदन दिँदैमा पैसा खर्च हुने होइन भनेर ख्याल ख्यालमा गरेको थिएँ। मलाई विदेशी भूमिमै काम गर्न लेखेको रहेछ जस्तो लाग्छ।'
अमेरिका जाँदा सात लाख रूपैयाँ खर्च भएको उनले बताए। त्यहाँ पढ्दा कलेजले विद्यार्थीलाई पार्टटाइम जागिर दिन्थ्यो। कलेजको क्यान्टिनमा, लाइब्रेरीमा काम पाइन्थ्यो। शिक्षकको असिस्टेन्ट बन्ने अवसर पनि हुन्थ्यो। पारिश्रमिक प्रतिघण्टा ६.२५ डलर हुन्थ्यो।
बिदाको समयमा रातदिन काम गर्न पाइने हुनाले अनिल कलेजको शुल्क र अन्य खर्च आफै पुर्याउँथे।
माउन्टेन स्टेट युनिभर्सिटीमा दुई वर्ष पढेपछि कलेज स्थानान्तरण गरेर उनी क्यालिफोर्निया गए। त्यहँ पनि उनी पार्टटाइम काम गरेर खर्च जोहो गरे।
अचानक उनको गोडामा समस्या देखियो। तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो। शल्यक्रिया गरेपछि फुर्सदिला भए। उनी समाचार र पुस्तक पढेर दिन बिताउन थाले। बाध्यात्मक फुर्सदको त्यही समयले उनलाई व्यवसायको यात्रामा हिँडायो।
उनले अमेरिकामा घरजग्गा कारोबार वृद्धि हुन लागेको कुरा समाचारमा थाहा पाए। अमेरिकामा घरजग्गा व्यवसाय गर्न लाइसेन्स चाहिन्छ। उनले घरजग्गा कारोबार सम्बन्धी ६ महिनाको कोर्स गरेर लाइसेन्स लिए।
सन् २०१६ मा उनी अमेरिकी नागरिकको एउटा रियल–इस्टेट कम्पनीमा आबद्ध भए। बिक्रीका घर खोज्नु, ग्राहकलाई देखाउनु र बिक्रीमा मद्दत गर्नु उनको काम थियो।
तलब तोकिएको थिएन, कारोबारका आधारमा कमिसन पाउँथे। त्यस कम्पनीमा तीन वर्ष काम गरे। उक्त अवधिमा धेरै व्यवसायीसँग चिनजान भयो। कामको अनुभव पनि भयो।
अनिलले आफ्नै व्यवसाय गर्ने सोच बनाए। जागिरे हुँदा सीमित आम्दानीमा चित्त बुझाउनुपर्छ, आफ्नो व्यवसाय भए आम्दानी बढ्दै जान्छ भन्नेमा उनी पक्का थिए।
'मेरा साथीहरू ठूला कम्पनीमा काम गर्छन्, आम्दानी पनि राम्रो छ। तर जति काम गरे पनि आम्दानी बढ्ने ठाउँ हुँदैन,' उनले भने, 'आम्दानी अनुसार कर तिर्नुपर्छ। घर खर्च पुर्याउनुपर्यो। बचत हुँदैन। आफ्नो व्यवसायमा त आम्दानी बढाउन पनि सकिन्छ।'
केही अनुभव छँदै थियो। उनले सन् २०२० को सुरूतिरै 'पिसिएच रियल्टर्स इंक' नामको कम्पनी दर्ता गरे। उक्त कम्पनी सुरू गर्न २५ हजार डलर लगानी भयो।
'कार्यालय राख्न भाडामा घर लिनुपर्यो। फर्निचर र डेकोरेसनमा पैसा खर्च भयो,' उनले भने।

कम्पनीको नाममा पुराना घर किनेर मर्मत गर्दै बेच्ने काम सुरू भयो। पहिलो एक वर्षमा उनले ६० वटा घर किनबेच गरे। उनको क्षेत्रमा रहेका नेपालीहरूले पनि घर किने। केही नेपालीहरूसँग पैसा थियो तर घर किन्ने आइडिया थिएन। उनले काम गरेपछि उनीहरूलाई सजिलो भयो।
व्यवसाय बढ्दै गयो। त्यही अनुपातमा कमाइ पनि बढ्यो। दुई वर्षपछि सन् २०२२ मा घर किनेर कार्यालय राखे।
उनको व्यावसायिक यात्रा घरजग्गा कारोबारमा मात्रै सीमित भएन। साझेदारीमा रेस्टुरेन्ट व्यवसायमा हात हाले। त्यसको एक वर्षपछि डिपार्टमेन्टल स्टोरमा लगानी गरे।
रियल–इस्टेटमा उनको एकल लगानी छ। त्यसमा पाँच जनाले रोजगारी पाएका छन्। उनकै लगानीमा १७ वटा अपार्टमेन्ट छन् जसमा नेपाली, अमेरिकी, भारतीय र मेक्सिकन गरी ५० भन्दा बढी परिवार बस्छन्।
दुइटा डिपार्टमेन्टल स्टोर र दुइटा रेस्टुरेन्टमा साझेदारी गरेका छन्।
'यस्तो क्षेत्रमा एक्लै लगानी गर्न सकिँदैन। सजिलोका लागि साझेदारीमा गरेको हुँ,' उनले भने।
उनको एउटा रेस्टुरेन्टमा अमेरिकी परिकार मात्र पाइन्छ। अर्कोमा अमेरिकीका साथ नेपाली परिकार पाइन्छ, पिज्जा बार पनि छ।
डिपार्टमेन्टल स्टोरमा ९ जनाले र रेस्टुरेन्टमा ११ जनाले रोजगारी पाएका छन्। तीमध्ये धेरैजसो नेपाली छन्। नेपालीले खोलेको हो भन्ने थाहा भएपछि काम खोज्न आउने पनि नेपाली नै बढी हुन्छन्। अवसर भएसम्म नेपालीलाई नै प्राथमिकता दिने उनले बताए।
नेपाली समुदायबाट रियल–इस्टेट व्यवसायमा योगदान गरेको भनेर आफूलाई लिंकन युनिभर्सिटीले मानार्थ विद्यावारिधि उपाधि दिएको उनले बताए।
उनका अनुसार अन्य व्यवसायको तुलनामा घरजग्गा व्यवसाय चलाउन कठिन छ। घर अत्यावश्यक वस्तुमा पर्दैन। ग्राहकले दुःख गरेर कमाएको पैसा धेरै पक्ष सोचेर मात्र लगानी गर्छ। विश्वास दिलाउन गाह्रो हुन्छ। ग्राहकप्रति इमानदार हुन सक्दा मात्र घरजग्गा व्यवसाय सफल हुने उनी बताउँछन्।
'अब अमेरिकी रियल–इस्टेट कम्पनीसँग साझेदारी गरेर नेपालमा अमेरिकी ढाँचाका घर बनाउने योजना छ,' अनिलले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com