सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
२०७६ साल मंसिरतिरको कुरा हो।
भक्तपुर, सूर्यविनायककी निष्ठा कायस्थ स्नातकोत्तरको अन्तिम परीक्षाको तयारी गरिरहेकी थिइन्। तानमा कपडा बुन्ने एक कम्पनीमा सह-व्यवस्थापकका रूपमा काम पनि गर्थिन्। तर कम्पनी निस्क्रिय हुँदै गएकाले परीक्षाको बहानामा काम छाडिन्।
परीक्षा सकेपछि उनलाई नयाँ काम गर्नु थियो। के गर्ने भन्ने निधो थिएन।
'मलाई आफ्नै व्यवसाय सुरू गर्न मन थियो। पहिले काम गरेको कम्पनी निस्क्रिय भएपछि त्यहाँका कर्मचारी दिदीहरूको पनि काम रोकियो। उहाँहरूका लागि पनि रोजगार सिर्जना हुने काम गर्ने सोच थियो,' २५ वर्षीया निष्ठाले त्यो बेलाको स्थिति बताइन्।
निष्ठाका अनुसार तान बुन्ने महिलाहरू आफ्नो काममा त्यति सन्तुष्ट थिएनन्। त्यसैले आफूहरूले पढ्न नपाएको ग्लानी पोखिबस्थे- हामीले पढ्न पाएनौं। त्यसैले यस्तो काम गर्नुपरेको छ। यो पनि नगरे कसरी चल्ने हो?
निष्ठालाई भने तान बुन्ने काम निकै रोचक र सम्मानपूर्ण लाग्थ्यो। यो सीप र कला जोगाउनुपर्छ भन्ने सोच्थिन्। त्यसैले ती महिलाहरूलाई आफ्नो कामको महत्व बुझाउन र आत्मबल दिलाउन भए पनि केही गर्छु भन्ने उनको अठोट थियो।
त्यसैले उनले तानसम्बन्धी नै काम गर्ने योजना बनाइन्। कम्पनीमै चिनजान भएकी शोभा सुवालसँग कुरा गरिन्। उनीहरूले सहकार्य गर्ने भए। तान बुन्ने र सिलाइ जानेका अरू महिलासँग पनि सम्पर्क गरिन्।
त्यही सहकार्यले जन्मायो 'दिदीबहिनी क्रिएसन्स'।
'दिदीहरूको सीप बिना मेरो आइडिया कार्यान्वयन गर्न गाह्रो हुन्थ्यो। एकअर्काको सहयोगमा काम हुने भएकाले सबैलाई प्रतिनिधित्व गर्ने नाम रोजेकी हुँ,' उनले भनिन्।
काम सुरू गर्न सेकेन्ड ह्यान्ड मेसिन, धागो लगायत सामान किन्दा करिब ४५ हजार रूपैयाँ लगानी लाग्यो। उनले सुरूमा आमाका पुराना साडीबाट सामग्री बनाइन्- स्क्रन्चिज (कपाल बाँध्ने रबर), हेयर ब्यान्ड, बो-रबरब्यान्ड, झोलाहरू। अनि अनलाइनमार्फत् बिक्री गरिन्।
एकदिन ग्राहकले बाथरोब (नुहाएपछि लगाउने लुगा) को अर्डर दिए। त्यो उनका लागि बिलकुलै नयाँ काम थियो। तर पनि अर्डर लिइन्। पहिलो पटक बनाएकाले कस्तो प्रतिक्रिया आउने हो भन्ने डरले सामान डेलिभर नहुन्जेल छटपटी भइरह्यो।
'ग्राहकले रूचाउने हो कि होइन भन्ने अन्यौल थियो। उताबाट बाथरोब मनपर्यो भन्ने मेसेज आएपछि बल्ल ढुक्क भयौं,' उनले भनिन्।
त्यही अर्डर दिदीबहिनी क्रिएसन्सका लागि 'टर्निङ प्वाइन्ट' बन्यो। पहिले स-साना सामग्री बनाउने उनीहरूले बिस्तारै कटन, बन्यान, हेम्प लगायत कपडाका लुगा बनाउन थाले। प्रत्येक पटकको अर्डर र डेलिभरीपछि उनीहरूको मनमा छटपटी भने उस्तै हुन्थ्यो। त्यसलाई ग्राहकको प्रतिक्रियाले शान्त बनाउँथ्यो।
'यसरी नै हामी सबै दिदीबहिनीमा आत्मविश्वास बढ्दै छ,' निष्ठा सन्तुष्ट भावमा भन्छिन्, 'ग्राहकको सन्तुष्टिले कामलाई निरन्तरता दिन प्रोत्साहन मिलेको छ। बिगार्दै सिक्ने हो भन्ने सोचेर काम गर्छौं, असफलता सम्झेर हिम्मत हार्दैनौं।'
दिदीबहिनी क्रिएसन्सले अहिले कपालबाँध्ने रबर, हेयरब्यान्ड, मास्क जस्ता साना सामानदेखि वानपिस ड्रेस, बाथरोब, टिसर्ट, बच्चाका लुगादेखि झोलासम्म बिक्री गर्छ। सबै काम प्रायः टिमले आ-आफ्नै घरबाट गर्छन्। निष्ठाको घरमै कार्यालय र काम गर्ने ठाउँ पनि बनाइएको छ।
लकडाउनअघि निष्ठा विभिन्न स्थानीय बजारमा पनि सहभागी हुन्थिन्। अनलाइनबाटभन्दा प्रत्यक्ष ग्राहकसँगको अन्तर्क्रियामा काम गर्दा उनीहरूलाई बढी बुझ्ने र बुझाउन सहज हुने उनले महशुस गरेकी छन्। त्यसैले भविष्यमा भौतिक पसल सञ्चालन गर्ने योजना पनि छ उनको।
साथै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पुर्याउने सोचले वेबसाइट बनाउने तयारी छ। उनले डेनमार्कमा भने कपडाका नमूना पठाइसकेकी छन्।
दिदीबहिनी क्रिएसन्सका कपडा परम्परागत छन् भने डिजाइन आधुनिक। यसबारे निष्ठा भन्छिन्, 'आधुनिक समाजमा मौलिकता झल्काउने गरी डिजाइन गरिएको हो। हामी तान बुन्ने कला जोगाउँदै छौं।'
यी डिजाइनमा उनलाई आमा संगिताले पनि सघाउँछिन्। संगिता पेसाले शिक्षक हुन्, सिलाइ पनि जान्दछिन्। निष्ठाका बुवा पनि शिक्षक हुन्। उनकी एक दिदी छन्।
घरकी कान्छी सदस्यले आफ्नै व्यवसाय सुरू गरेकामा सबै खुसी छन्। तर कहिलेकाहीँ आफन्तजन र घरबाटै पनि जागिर गरे हुन्थ्यो भन्ने कुरा आउँछ।
'जागिर गर्दा घरमा आर्थिक सहयोग गर्न सक्षम थिएँ। अहिले व्यवसायमै खर्च भइरहेको छ। तर पनि व्यवसाय छाडेर जागिर गर्ने सोच बनाएकी छैन,' उनी सकारात्मक हुँदै भन्छिन्, 'अहिलेको मेहनतले भविष्यमा राम्रो हुन्छ भन्नेमा आशावादी छु।'
अहिले दिदीबहिनी क्रिएसन्समा महिला र बालबालिका लक्षित सामग्री धेरै छन्। छिट्टै पुरुषका लागि पनि बनाउने निष्ठाको योजना छ। त्यस्तै भविष्यमा तान बुन्न र सिलाइमा रूचि राख्ने नयाँ पुस्तालाई प्रशिक्षण दिन चाहन्छिन्।
'तानमा बुनेको कपडालाई केही रचनात्मक ढंगबाट बजारसम्म पुर्याउनु र परम्परागत शैलीका कला तथा सीप संरक्षण गर्नु हाम्रो मुख्य उद्देश्य हो,' निष्ठा भन्छिन्, 'नयाँ पुस्ताहरू तान बुन्ने पेसाबाट टाढिँदै छन्। त्यसैले इच्छुक व्यक्तिलाई सीप सिकाउने सपना छ। यसले रोजगारी पनि सिर्जना गर्छ।'
दिदीबहिनी क्रिएसन्समै अहिले छ जना महिला काम गर्छन्।
कुनै बेला निष्ठालाई 'छोरी मान्छे, जागिर छाडेर व्यवसाय गर्यौ, अब कसरी अघि बढ्छौ?' भन्नेहरू पनि थिए।अहिले उनीहरू नै 'राम्रो काम गरेकी छौ' भन्न थालेका छन्।
निष्ठा आफैंलाई पनि सम्झाउँछिन्, 'छोरी भएकैले पनि मैले व्यवसायमा केही गरेर देखाउनुपर्छ।'
(दिदीबहिनी क्रिएसन्सलाई फेसबुक पेज, इन्स्टाग्राम मार्फत् सम्पर्क गर्न सकिन्छ)