तपाईंहरूले 'आमाको अचार' खानुभएको छ? नखाए पनि नाम सुन्नुभएको होला।
पछिल्लो समय बजारमा पाइने अचार ब्रान्डहरूमध्ये आमाको अचार पनि लोकप्रिय छ। यसको कारखाना चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा छ। यहीँबाट अहिले ३५ भन्दा बढी स्वादका अचार बन्छ र ४० वटा देशमा पुग्छ।
आमाको अचारका सञ्चालक हुन् संगीता पाण्डे। ६३ वर्षीया संगीतालाई सबैले आमा भनेर चिन्छन्, बोलाउँछन्। उनी आज पनि हरेक दिन कारखाना पुग्छिन् र अचार बनाउने काममा सघाउँछिन्। यसरी संगीताले अचारको उत्पादन थालेको झन्डै डेढ दशक भयो।
अहिले उनका दुई छोरा र एक जना बुहारी यसमै सक्रिय छन्। दुवै छोरा विदेश बसेर फर्किएका हुन्। जेठा पिताम्बर उत्पादन र व्यवस्थापनको काम सम्हाल्छन्। कान्छा प्रकाश बजारीकरण हेर्छन्। रेसिपीको जिम्मा कान्छी बुहारी गोमाको हो।
एक वर्षदेखि उनीहरूले 'आमाको मसला' पनि उत्पादन गरिरहेका छन्। यसका लागि मातातीर्थमै थप दुई रोपनी जमिनमा मसला कारखाना बनाएका छन्। यहीँबाट चिकेन, मटन, थुक्पा लगायत थुप्रै खानेकुरालाई विशेष बनाएर विभिन्न मसला तयार हुन्छ। मसला पनि आमा संगीताकै रेसिपी अनुसार बन्ने कम्पनीका प्रबन्ध निर्देशक प्रकाशले बताए।
'यी मसलामा जिरा, धनियाँसँगै लसुन–अदुवाको धूलो पनि हुन्छ। यसले व्यस्त दैनिकी हुनेहरूलाई सजिलो बनाएको छ,' उनले भने।
आमाको अचार' सञ्चालक संगीता पाण्डे र उनका छोरा प्रकाश पाण्डे। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटीसंगीताले उनका श्रीमान तुलसीरामका साथमा सुरू गरेको यो व्यवसायमा अहिले पाण्डे परिवार नै जमेर लागिपरेको छ। सुरूमा उनीहरूले घरनजिकै एक रोपनी जग्गा भाडा लिएर सानो कारखाना बनाएका थिए। पाँच वर्षअघि दुई रोपनी जग्गा किनेर ठूलो कारखाना बनाएका हुन्।
हाल आमाको अचारमा ८० जना भन्दा बढी कर्मचारी नियमित रूपमा काम गर्छन्। आँप, लप्सी, तामा जस्ता मौसमी चिजको अचार बनाउने बेला तीन सय जनासम्म हुन्छन्।
संगीता अचारको व्यवसायले नसोचेको सफलता मिलेको बताउँछिन्। घरको भान्सामा बनाएको अचार विभिन्न देशमा पुग्ला भन्ने उनले कल्पना पनि गरेकी थिइन्न्।
'घरमा यसै खाली किन बस्नु भन्ने सोचेर अचार बनाउन थालेकी थिएँ। व्यवसाय यसरी फैलिएला, बुढेसकालमा थालेको व्यवसायले विदेश पुगेका छोराबुहारीलाई स्वदेश फर्काउला भनेर कहिल्यै सोचेकी थिइनँ,' संगीताले भनिन्, 'अहिले यही उद्योगले हाम्रो र धेरैको परिवार पालेको छ। मेहनत र लगाव भएमा गर्न सकिने रहेछ।'
अर्घाखाँचीकी संगीताको १३ वर्षको उमेरमा बिहे भएको थियो। श्रीमान तुलसीराम भारतको युनाइटेड बैंकमा जागिरे थिए। संगीता उतै गइन् र १९ वर्ष उनीहरू त्यहीँ बसे। तीन छोरा भारतमै जन्मे, हुर्के।
तुलसीराम सेवानिवृत्त भएपछि उनीहरू स्वदेश फर्के। बुटवलमा घर बनाएर बसे। छोराहरू उच्च शिक्षाका लागि काठमाडौं आए, घरमा श्रीमानश्रीमती मात्र भए। छोराहरू भेट्न उनीहरू काठमाडौं आउजाउ गरिरहन्थे। पछि काठमाडौंमै बस्ने निधो गरे विशालनगरमा घर बनाए। पछि बुटवलको घर बेचेर बालुवाटारमा अर्को घर किनेर सरे।
काठमाडौंमा पनि छोराबुहारी आआफ्नो काममा बाहिरै भएपछि पाण्डे दम्पती मात्र घरमा भयो। त्यसैले संगीता केही नयाँ काम सुरू गर्न चाहन्थिन्। उनले बुटवल बस्दा अचार बनाउने तालिम लिएकी थिइन्। भारतमा छँदा छरछिमेकका साथीहरूलाई पनि अचार बनाएर खुवाउँथिन्।


'भारतमा हामी साथीहरू भेला भएर खानाका परिकारबारे गफ गर्थ्यौं। एकअर्कालाई घरमा बोलाएर खुवाउँथ्यौं,' संगीताले भनिन्, 'साथीहरू मैले बनाएको अचार खुब मनपराउँथे।'
उनले अचारकै व्यवसाय गर्ने सोचिन्।
सुरूमा हरियो खुर्सानी किनेर अचार र पेस्ट बनाइन्। छिमेकीलाई बाँडिन्, पाहुनालाई खुवाइन्। सबैले मनपराए।
'अचार मनपराए पनि कतिले यो उमेरमा के दुःख गरेको भन्दै उडाए,' संगीताले सुनाइन्।
उनले कसैको कुरामा ध्यान दिइनन्। बरू ६ बट्टा खुर्सानीको अचार बनाइन्। त्यसमा 'आमाको अचार' नाम टाँसेर नजिकै एउटा पसलमा बिक्रीका लागि राखिदिन आग्रह गरिन्। अचार बिक्री भइहाल्यो।
संगीताले व्यापारको सुरूआती दिन सम्झिँदै भनिन्, 'यसपछि भतिज कपिलको मद्दतमा अचार बजार पुर्याएँ।'
यो २०६९ भदौको कुरा हो। बजारमा अचार पुर्याउन मुस्किल भएन, बिक्री पनि हुन्थ्यो। तर ब्रान्ड नामलाई लिएर कतिले मजाक बनाउँथे। आमाको अचार मात्र, बुबाको अचार छैन भन्दै उडाउँथे। त्यस्तो सुन्दा अचारले बजार नपाउने हो कि भन्ने चिन्ता संगीतालाई हुन्थ्यो।
तर उनले गुणस्तरमा ध्यान दिइन् र आफ्नो काममा लागिरहिन्। यसरी डेढ वर्ष बितिसक्दा बजारमा आमाको अचार जम्न थालिसकेको थियो। एक दिन एक जना नेपालीले अमेरिका लैजान भनेर २५ कार्टन अचार अर्डर गरे। एक कार्टनमा १२ बट्टा अचार हुन्थ्यो।


त्यो अर्डरले संगीता उत्साहित भइन्, खुसीको सीमा रहेन।
'त्यो अर्डर आएका दिन त मैले संसारै जितेको महसुस गरेँ,' उनले भनिन्।
दिन बित्दै जाँदा बेलायत, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाबाट पनि माग आउन थाल्यो।
यसरी संगीताले सुरू गरेको आमाको अचारको हाल ९० प्रतिशत बजार विदेश नै हो। विदेश बस्ने नेपालीहरू यसका मुख्य उपभोक्ता हुन्।
हाल आमाको अचार ३५ भन्दा बढी स्वादमा पाइन्छ— डल्ले खुर्सानी, करेला, लसुन, कागती, मेथी, गुन्द्रुक, आँप, लप्सी, काउली, तामा, काँक्रो, मुला, टिमुर लगायत।
'सबै काम हातैबाट हुन्छ। बजारको मसला पनि हालिँदैन। मेसिनबाट बनाउँदा काम छिटो र अचार सस्तो हुन्थ्यो। तर मेसिनले बनाएपछि स्वाद अर्कै हुन्छ,' संगीताले भनिन्, 'हामीले बनाउने अचार औद्योगिक होइन, घरेलु हो।'
हाल अचार र अचार पेस्टको भाउ १५० रूपैयाँदेखि ७५० रूपैयाँ छ। उपभोगको म्याद उत्पादन मितिले सामान्यतया दुई वर्षसम्म हुन्छ। यो अचार किराना पसलदेखि ठूला मार्ट र सुपरमार्केटमा पाइन्छ।