चटपटा चिप्स मन नपराउने सायदै कोही होला!
साथीहरूसँग गफिँदा होस् या परिवारसँग समय बिताउँदा, एक्लै फिल्म हेर्दा होस् या भाइबहिनीसँग खुसी बाँड्दा; चटपट चिप्स खाँदै मुख मिठ्याउन पाए अरू के चाहियो?
त्यही भएर होला, आजभोलि हामी जुनसुकै पसलमा चिप्स बेच्न राखेको देख्छौं। कहीँ बढी मूल्य पर्ने ब्रान्डेड चिप्स हुन्छ भने कहीँ प्लास्टिकमा पोको पारेर बेचिने लोकल चिप्स।
आज यो स्टोरीमा हामी एक यस्ता व्यवसायीको कुरा गर्दैछौं, जसले सुरूमा घरमै बनाइएको लोकल चिप्सलाई छुट्टै ब्रान्ड बनाउन सफल भएका छन्।
उनी हुन्, सुनिल शाही। उनले चलाएको चिप्स ब्रान्ड हो, लोको।
पहिला जानौं, लोकोको अर्थ।
सुनिलका अनुसार 'लोको' भनेको अंग्रेजी शब्द लोकलको छोटकरी रूप हो। यसको अर्थ स्थानीय भन्ने बुझिन्छ। यही शब्द स्पेनिस भाषामा पनि छ। त्यहाँ यसको अर्थ 'अरूभन्दा बेग्लै' भन्ने हुन्छ।
'अंग्रेजी र स्पेनिस, दुवै भाषाको अर्थसँग मिल्ने गरी हामीले आफ्नो ब्रान्डको नाम राखेका हौं,' लोको स्टोरका एक सञ्चालक सुनिलले भने, 'यो काठमाडौंको स्थानीय उत्पादन हो र अरूभन्दा बेग्लै छ।'
सुनिल आफू भने काठमाडौंमा बस्दैनन्। उनको बसाइ अस्ट्रेलियामा छ। उनी कहिलेकाहीँ मात्र नेपाल आउँछन्। प्रायः वर्षको एकचोटि। यहाँको काम उनका साझेदारहरूले सम्हाल्छन्।

लोको स्टोर भनेको खाजा खाने आउटलेट हो। यहाँ विभिन्न थरीका खाजा पाइन्छन्। तीमध्ये चिप्स एकदमै लोकप्रिय छ। मिक्स निम्की, आलु भुजिया, बुन्दी, फुरनदाना, दालमोठ लगायत पनि पाइन्छ। बिस्तारै अरू खानेकुरा पनि उत्पादन गर्दै जाने योजना रहेको उनले बताए।
यो स्टोरको सुरूआत सन् २०२१ मा भएको हो। एन्जेला श्रेष्ठ र अनिश प्रधानले यसको सुरूआत गरेका हुन्।
उनीहरू घरमै चिप्स र भुजियाहरू बनाउँथे। पारिवारिक जमघटमा यस्ता खानेकुरा बनाउँदा धेरैले मनपराए। त्यसैबाट हौसिएर उनीहरूले व्यावसायिक रूपमा अघि बढाउने निधो गरे र काठमाडौंको वसन्तपुरमा पहिलो स्टोर खोले।
सुनिल सन् २०२३ बाट यसमा जोडिएका भएका हुन्। उनले आफू प्रवेश गरेपछि चिप्सलाई छुट्टै ब्रान्डका रूपमा चिनाउन 'लोको स्टोर' नाम राखे। दालमोठ, भुजिया लगायतको उत्पादन पनि त्यसपछि नै सुरू भयो।
यति मात्र होइन, लोको स्टोर वसन्तपुरबाट थप तीन ठाउँमा फैलियो। अहिले काठमाडौंको धुम्बाराही, पाटनको पिम्बहाः र भक्तपुरको दरबार स्क्वायरमा सञ्चालित छ। सबै स्टोरमा दुई-दुई जना कर्मचारी छन्।
'उत्पादन र बजार सँगसँगै विस्तार गर्ने योजना अनुरूप हामीले चिप्सबाहेक अन्य खानेकुरा पनि उत्पादन गर्न थाल्यौं र उपत्यकाका विभिन्न ठाउँमा स्टोर फैलायौं,' सुनिलले भने।
लोको स्टोरले उपभोक्ताको चाहना अनुरूप आफ्नो उत्पादनमा विभिन्न स्वाद भित्र्याएको छ।
सुनिलका अनुसार अहिले आठ किसिमका आलु चिप्स र दुई किसिमका केराको चिप्स पाइन्छन्। कतिपय स्वाद पुरानै हुन् भने कतिपय नयाँ थपिएका हुन्।
'उत्पादनमा विविधता ल्याए पनि स्वादमा सम्झौता गर्दैनौं,' उनले भने, 'मान्छेले हाम्रा चिप्स, भुजिया र अरू खानेकुरा मनपराउनुको मुख्य कारण नै घरेलु स्वाद भएर हो। त्यसैले उत्पादन जति बढाए पनि घरेलु स्वाद कायम राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ।'
स्वाद घरेलु भए पनि यसमा प्रयोग हुने मसला भारत, मलेसिया लगायत देशबाट आयात गरिन्छ। त्यसमा नेपाली स्वाद थप्न स्थानीय मरमसलाहरू मिसाउने गरेको उनी बताउँछन्।
'हामीले प्रयोग गर्ने मसला अरूभन्दा बेग्लै छ,' उनले भने, 'हामी आयातीत र नेपाली मसला मिसाएर छुट्टै स्वाद विकास गर्छौं। यही नै लोको स्टोरको विशेषता हो।'
लोको स्टोरले आफ्ना उत्पादन तीन आकारमा उपलब्ध गराउँछ — सानो, मध्यम र ठूलो। त्यसैअनुसार मूल्य फरक पर्छ। सानोको मूल्य सय रूपैयाँ पर्छ भने मध्यमको दुई सय र ठूलोको दुई सय ५० रूपैयाँ पर्छ।


लोको स्टोरका लागि सबभन्दा ठूलो चुनौती बढ्दो बजार प्रतिस्पर्धा हो। यसका लागि गुणस्तरमा ध्यान दिनुका साथै नयाँ नयाँ खानेकुरा प्रयोगमा ल्याउने गरेको सुनिल बताउँछन्।
उदाहरणका लागि — लोको स्टोरले पछिल्लो समय 'चिप्स एन्ड डिप्स' भन्ने खानेकुरा ल्याएको छ। यो नेपाली बजारका लागि नयाँ हो।
'यसमा हामी आफैले बनाएको डिप्स वा सस् र चिप्स एकसाथ बेच्छौं। त्यसमा मसला र प्याज थपेर चटपटा स्वादको खाजा बनाएका छौं,' उनले भने, 'हामीले बनाएको यो परिकार धेरैले मनपराएका छन्।'
त्यस्तै, थरी थरीका चटपटे र चाट पनि यहाँका विशेषता हुन्। चिप्स मिसाइएको चटपटे र चाट लोको स्टोरको आकर्षण बनेको उनी बताउँछन्।
'अरू लोकल चिप्स प्राय: सामान्य प्लास्टिकमा प्याक गरिएको हुन्छ। हामीले भने छुट्टै प्याकेजिङ तयार पारेका छौं,' सुनिलले भने, 'उत्पादन खेर नजाओस् र उपभोक्ताले सधैं ताजा खाना पाऊन् भन्नेमा पनि सजग छौं।'
उनका अनुसार लोको स्टोरका यो वर्षभित्र थप १० वटा ठाउँमा आउटलेट खोल्ने लक्ष्य छ। अबदेखि चिप्सहरू नाइट्रो प्याकेजिङ गर्ने पनि कम्पनीको योजना छ।
‘नाइट्रो प्याकेजिङ भनेको खानेकुरा लामो समय ताजा राख्ने विधि हो,' सुनिलले भने, 'लेज, कुरकुरे जस्तै हामीले पनि लोको ब्रान्डका खानेकुरा नाइट्रो प्याकेजिङ गर्ने निर्णय गरेका छौं।'
लोको स्टोरले अर्को साताबाट चिजी स्पाइसी र ब्लेजिङ बारबिक्यू स्वादको चिप्स बजारमा ल्याउँदैछ। यी दुवै नाइट्रो प्याकेजिङमा उपलब्ध हुने छन्।
***
