शुभाकर मानन्धर दुई वर्षअघि घरमा परिवारसँग फिल्म हेर्दै थिए। छोरीले ‘पपकर्न’ खान खोजिन्। उनलाई आपत्! कहाँबाट ल्याइदिने?
'पछि सिनेमा हल जाँदा खाउँला है छोरी।'
छोरीको मन त बुझाए, शुभाकरको खुल्दुली भने मेटिएन।
कति केटाकेटीले पपकर्न खाने रहर गर्छन् होला! के सधैं हलमै लगेर खुवाउनु!
मान्छेलाई अधिकांश 'आइडिया' आफ्नै वरिपरिको वातावरणबाट आउँछ। व्यावसायिक पृष्ठभूमिका शुभाकरलाई पनि छोरीको तलतलले आइडिया फुर्यो।
न्यूरोड पुर्ख्यौली घर भएका उनी थाइल्यान्ड, भारत लगायत देशबाट इनर्जी ड्रिङ्स, चकलेट र प्याकेजिङ फुड्स आयात गर्छन्। बालाजु औद्योगिक क्षेत्रमा छपाइ उद्योग छ। यही सूचीमा नयाँ व्यवसाय थप्ने उनले निधो गरे।
नयाँ व्यवसाय थाल्नु भनेको जोखिम लिनु। मेसिन ल्याएर उत्पादन थालेपछि बजारमा बिक्री नहुने डर थियो। उपभोक्ताले नरूचाउने डर पनि। उनले घर सल्लाह गरे। सबैले उनलाई निर्णय गर्न स्वतन्त्र छाडिदिए।
यहीँबाट सुरू भयो, नेपाली ब्रान्डको पपकर्न उत्पादन।
उनले अमेरिकाबाट एउटा मेसिन किनेर ल्याए। मकैलाई मेसिनमा हालेर भुट्ने र बनाउने तरिका सिके। चार महिनासम्म उत्पादन र बजारी अध्ययन गरे।
उनी यो उद्योग सानो स्तरमा सञ्चालन गर्न चाहन्थे। जोखिम बढी नहोस् भनेर पनि हो। बुबासँग सल्लाह गरेर बालाजुकै छपाइ मेसिन भएको ठाउँबाट उद्योग चलाउने निर्णय गरे। त्यो ठाउँ दुवै उद्योग अटाउन साँघुरो थियो। छपाइ मेसिनको ठाउँ सारेर पपकर्न उद्योग चलाए।
मकैको दाना फुलाएर त्यसमा गुलियो र गुलियो–नुनिलो स्वाद भर्न थाले।
‘मकैलाई मेसिनमा हालेर निश्चित तापक्रम दिएपछि फुल्छ। फुलेको मकैमा स्वाद दिने मसला हालेर अर्कोमा घोलिन्छ,’ उनले भने, ‘एकदिन यसै नयाँ स्वादको पपकर्न बनाएँ। साथीभाइ र परिवारलाई चखाएँ। धेरैले रुचाए। थम्प्स-अप गर्दै वाउ भन्न थाले।'
प्रतिक्रियामा सुनिएको त्यही ‘वाउ’ उनको पपकर्नको ब्रान्ड बन्यो। त्यो स्वाद ल्याउन धेरै परीक्षण गरिएको र धेरै उत्पादन खेर गएको उनी सम्झन्छन्।
स्वाद बन्यो। चाख्नेहरूले रूचाए। ब्रान्ड पनि सोचे। अब व्यावसायिक उत्पादन थाल्न सरकारी प्रक्रिया पुर्याउनुपर्ने थियो।
‘व्यवसायमा सबभन्दा ठूलो झन्झट सरकारी प्रक्रिया नै हो। यही कारणले कतिपय काम रोक्नुपर्ने अवस्था आउँछ,' शुभाकरले भने, 'सरकारी पारामा लाग्दा योजनाअनुसार समयमा अघि बढ्न सकिँदो रहेनछ।’
काम ढिलाइ हुने झन्झटले नयाँ उद्योग खोल्न चाहनेलाई प्रोत्साहन नहुने उनको भनाइ छ।
प्याकेजिङ, बजारीकरण, प्रचारप्रसार र प्रवर्द्धनलाई उनी अन्य महत्वपूर्ण पक्ष ठान्छन्।
‘प्याकेट हेर्दा नै आकर्षक देखिनुपर्यो। खाऊँखाऊँ लाग्ने हुनुपर्यो। उत्पादन स्वास्थ्यका लागि पनि सुरक्षित हुनुपर्यो,’ उनले भने, ‘पपकर्न ओसिन दिनु हुँदैन। प्याकेटमा नाइट्रोजन ग्यास सँगै भरिएको हुन्छ। प्याकेट फुट्यो वा बाहिरबाट हावा छिर्यो भने गुणस्तर खस्किन्छ।’
यी सबै प्रक्रिया सकेर गत माघमा श्रीपञ्चमीको दिनबाट उनले आफ्ना उत्पादन बजारमा पठाउन थाले। सुरुमा दुइटा वार्मर (पपकर्नलाई तातै राख्ने शिशाको बाकस) बाट सुरु भयो। दरबारमार्ग र रञ्जना कम्प्लेक्समा वार्मर राखे। शुभाकर आफ्नो उत्पादन ठूलो झोलामा हालेर सिधै वार्मरमा पठाउँथे। सुरुमा ४ केजी पठाएका थिए। पछि दैनिक रूपमा माग बढ्दै अर्डर आउन थाल्यो।
ग्राहकले उत्पादन रुचाउन थालेपछि वार्मर संख्या बढ्दै गयो। उनका अनुसार काठमाडौं उपत्यकाका २८ ठाउँमा वार्मर सञ्चालित छन्। वार्मरमा राखेपछि पपकर्न ओसिन पाउँदैन, तातो रहिरहन्छ। कसैले 'वाउ पपकर्न' वार्मरमार्फत् बेच्न चाहे शुभाकरको ‘क्राफ्ट फुड प्रालि’ ले आफ्नै खर्चमा जडान गरिदिन्छ।
शुभाकरले अहिले दुइटा मेसिनबाट पपकर्न उत्पादन गरिरहेका छन्। नयाँ मेसिन ल्याएर चिप्स उत्पादन पनि थाल्ने उनको योजना छ।
वैशाखदेखि प्याकेटमा ‘र्याप’ गरेर बिक्री थालेपछि पपकर्नको पहुँच र ब्रान्ड अझ धेरैमा पुगेको उनी बताउँछन्। प्रतिप्याकेट २० र ५० रुपैयाँ पर्ने पपकर्न अहिले किराना पसलहरूमा समेत पुगेको छ। आउटलेटमा सय रुपैयाँमा पाइन्छ। उनको उद्योगबाट बटरसल्व, चिज र क्यारामेल गरी तीन स्वादका पपकर्न उत्पादन भइरहेका छन्।
सुरुआती दिनहरूमा १ सय किलो बिक्री हुने गरेकोमा अहिले वार्मरबाट मासिक १ टन र प्याकेटमार्फत डेढ टन पपकर्न खपत भइरहेको उनले बताए। काठमाडौंबाहेक पोखरा, बुटवल, बनेपा, चितवन, जनकपुर लगायत बजारमा पनि 'वाउ पपकर्न' जाने गरेको छ।
शुभाकरका अनुसार केही दिनमै बिराटनगर र धरानका बजारमा लैजाने तयारी छ। विशेषगरी सिनेमा हलहरूबाट पपकर्नको माग धेरै हुने उनी बताउँछन्।
‘फिल्म हेर्दा पपकर्न चपाउने त बानी नै बसिसक्यो,’ उनले भने।
नेपालीहरूलाई बानी लागेको यो पपकर्न बनाउने मकै नेपाली होइन। यसको कारण शुभाकरले नेपालमा राम्रो उत्पादन भइरहेको मकैलाई बेवास्ता गरेका होइनन्। पपकर्न बनाउने जातको मकै यहाँ नपाइने भएर अमेरिकाबाट ल्याउनुपरेको उनले बताए।
‘पपकर्न बनाउन जुन जातको मकै चाहिने हो, त्यो अमेरिका र अर्जेन्टिनाबाट ल्याउनुपर्छ। यहाँ पाइन्न,' उनले भने, 'भारतमा तयार हुने पपकर्न पनि तिनै देशबाट आयातित मकैबाट बनेको हो।’ यसमा हालिने मसलाहरू भने भारतबाट आयात हुन्छन्।
कतिपय साथीले उनलाई नेपाली मकैबाट उत्पादन थाल्न सुझाएका पनि छन्। धेरैले मुरली मकै (भुट्दा सेतै फूल उठ्ने सानो जातको) बाट ‘पपकर्न’ बनाएको भन्ठान्छन्। तर पपकर्नको विशेषता यी मकैबाट नआउने उनी बताउँछन्।
‘सही स्वाद र आकार कायम राख्न बाहिरबाट मकै ल्याउनुपरेको हो,’ उनले भने, ‘यो पपकर्न मुखमा राखेपछि भिजेर लत्याकलुतुक हुन्छ। केही बाँकी रहँदैन। खान एकदमै सजिलो। तर यहाँको मकै योजस्तो भिज्दैन। अनि त पपकर्नको विशेषतै रहँदैन।’
मकै धेरै प्रजातिका हुने भएकाले तिनको प्रयोग सही-सही उत्पादनमा हुने गरेको उनी बताउँछन्।
ग्राहकलाई सफा र ताजा उत्पादन दिनुपर्छ भन्ने मान्यतामा आफू सधैं अडिग रहेको शुभाकर दाबी गर्छन्। दैनिक मेसिन र उद्योगको सरसफाइमा आफूहरूले ध्यान दिने बताउँछन्।
भन्छन्, ‘मेरै छोरीले यो पपकर्न रुचाउँछे। लाखौं ग्राहकले पैसा तिरेपछि त्यसको सही उपयोग त पाउनुपर्यो नि।’