२०४० सालको हिउँद।
झापा, धुलाबारीको धुलाबारी माध्यमिक विद्यालयमा तनाव थियो। पञ्चायतविरोधी प्रदर्शन चर्किएपछि प्रहरीको ठूलो समूह विद्यालय हाताभित्रै छिरेर धरपकड गर्यो।
प्रहरीको निशानामा थिए एक जना १३ वर्षे बालक जसले स्कुलमा पञ्चायतविरोधी आन्दोलनको अगुवाइ गरेका थिए।अन्ततः ती बालकलाई प्रहरीले कर्यापकुरूप पारेर गाडीमा हाल्यो।
उनी पक्राउ परे।
केही दिनमा जब उनी हिरासतबाट छुटेर स्कुल आइपुगे, त्यहाँ फूलमाला र अबिरले उनको स्वागत भयो। त्यो देखेर उनका गुरूहरूले भनेका थिए, ‘ओहो! अब हाम्रो विशु पनि नेता भयो।’
विशु अर्थात विश्वप्रकाश शर्मा, आज उनी नेपाली कांग्रेसका निर्वाचित महामन्त्री बनेका छन्।
३८ वर्षअघिको हिउँदमा धुलाबारी माविको मैदानमा उनका शिक्षकले जसरी उनलाई नेता मानेका थिए, आज महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेस केन्द्रीय कार्यालयअघि युवाहरूले नारा लगाए- कांग्रेसभित्र क्रान्ति गगन-विश्व महामन्त्री।
विश्वप्रकाशसँगै अर्का युवा नेता गगन थापा पनि महामन्त्रीमा निर्वाचित भएका छन्। यसलाई कांग्रेसजनले आफ्नो पार्टीभित्रको क्रान्ति नै मानेका छन्।
आफ्नो साथी चुनाव जितेर कांग्रेसको यति ठूलो पदमा पुगेकामा उनका साथीहरू पनि दंग परेर हेरिरहेका छन्।
‘आज मलाई त्यही बेलाको सम्झना भइरहेको छ,’ विश्वप्रकाश शर्माका बालसखा इन्द्र बुढाथोकीले सेतोपाटीसँग भने, ‘त्यस बेला १३ वर्षमै आन्दोलनको नेतृत्व गरेको साथीले पार्टीमा राम्रो जिम्मेवारी पाउँदा हामी हर्षित छौं।’
स्कुल जीवनबाटै पञ्चायतविरोधी आन्दोलनमा विश्वप्रकाश होमिनलाई उनको घरेलु वातावरण पनि सहयोगी थियो।उनका बुबा परशुराम शर्मा भण्डारी र आमा सावित्री शर्मा दुवै शिक्षक थिए। तर परशुराम शिक्षकभन्दा बढी राजनीतिक कार्यकर्ता थिए। पञ्चायतमै उनले जागिर छाडेर आन्दोलनमा होमिने निर्णय लिएका थिए।
भर्खरै हुर्किँदै गरेका छोराछोरी र परिवार चलाउने बाध्यताका अघि आमा सावित्रीले शिक्षण पेसालाई निरन्तरता दिइन्। तर उनले पञ्चायती प्रशासनबाट निकै सास्ती पाएको गाउँलेहरू बताउँछन्।
२०२७ पुस ६ गते जन्मिएका विश्वप्रकाश त्यस बेला डेढ दुई वर्षका मात्रै थिए। पञ्चायतले आमा सावित्रीलाई धुलाबारीबाट बाहुनडाँगी सरूवा गरिदियो। कान्छा छोरा विश्वलाई पिठ्युमा बोकेरै निर्जन जंगलको करिब १५ किलोमिटर बाटो उनी घोडामा ओहोरदोहोर गर्थिन्।
‘त्यस बेला सावित्री म्याम पिठयुँमा नानी बोकेर घोडा चढेर धुलाबारीबाट बाहुनडाँगी आउनुहुन्थ्यो,’ सावित्रीसँगै पढाएका शिक्षक केशवराज खनाल भन्छन्, ‘बच्चालाई क्यान्टिनमा राखेर उहाँ कक्षामा पढाउन जानुहुन्थ्यो, बच्चा रोएको खबर पाएपछि उहाँ गएर फुल्याउनुहुन्थ्यो।’
झापाका कहलिएका नेपाली शिक्षक तथा लेखक खनाल भन्छन्, ‘आज उहाँ बाँचिरहनुभएको भए छोराको राजनीतिक प्रगतिले खुसी हुनुहुन्थ्यो।’
खनालले भनेजस्तै कान्छा छोराको राजनीतिक उपलब्धिमा खुसी व्यक्त गर्न आमा र बुबा दुवै भौतिक रूपमा उपस्थित छैनन्। तर बाबुआमाको जिम्मेवारी लिएर अभिभावकत्व प्रदान गर्ने उनका दाइ राज्यप्रकाश चाहिँ धुलाबारीस्थित घरमै छन्।
‘म त अहिले जंगलमा छु, फोन राम्ररी लागेको छैन,’ सेतोपाटीले सम्पर्क गर्दा राज्यप्रकाशले भने, ‘भाइले जितेको खबर सुनेँ। जिन्दगीकै सबभन्दा धेरै खुसी लागेको छ।’
बा–आमाको देहान्तपछि घरबार सम्हालेर विश्वप्रकाशलाई राजनीतिक अभियानमा लाग्न स्वतन्त्र छाडिदिने राज्यप्रकाशलाई लाग्छ, ‘उसले पार्टीमा न्याय पाएको छ, ढिलै गरी भए पनि।’
उनलाई यस्तो लाग्नुका पछि लामो कथा छ। २०४० सालदेखि कांग्रेस राजनीतिमा निरन्तर सक्रिय विश्वप्रकाश पार्टीभित्र अन्यायमा परेका पात्रका रूपमा चिनिन्छ।
२०४० सालदेखि जेलयात्रा सुरू गरेका उनी ०४२ देखि ०४६ सम्म पटकपटक पक्राउ परे। ०४६ सालमा एसएलसी सिध्याएर मेची बहुमुखी क्याम्पस भद्रपुर पुगेपछि नेपाल विद्यार्थी संघको इकाइ सभापतिका रूपमा उनको राजनीतिक यात्रा अघि बढ्यो।
उनका सहपाठीहरूका अनुसार मेची क्याम्पसमा त्यस बेला नेविसंघ कमजोर अवस्थामा थियो।
‘त्यसबेला मेची क्याम्पसमा एउटा टाइसिट जस्तै थियो,’ शर्माका सिनियर पुष्प पौडेलले सम्झिए, ‘स्ववियु निर्वाचन हुन्थ्यो, नेविसंघ हार्थ्यो र नेविसंघ अखिलसँग झैंझगडामा उत्रिहाल्थ्यो। तर विश्वप्रकाश इकाइ सभापति भएपछि दृश्य फेरियो।’
उनका अनुसार त्यस बेला पनि चुनाव अखिलले जित्यो। तर चुनावकै दिन विश्वप्रकाशले नेविसंघको कार्यालयमा बोलाएर अबिर लगाएर विजेताहरूलाई शुभकामना दिए।
‘हामीलाई नेविसंघले आफ्नो कार्यालयमा बोलाएपछि शंका बढेर हामीले वरिपरि आफ्ना केटाहरू परिचालन गरेका थियौं,’ त्यस बेलाको घटना सम्झिँदै तत्कालीन अखिलका सदस्य रामचन्द्र तिवारीले भने, ‘तर विश्वप्रकाशले विजेता टोलीलाई अबिर लगाएर शुभकामना दिए। त्यस बेलादेखि क्याम्पसमा दुई संगठनबीच मारमुंग्री बन्द भएको हो।’
२०४८ मा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी २०५७ मा संघको केन्द्रीय सभापति भए। २०५९ मा सभापतिबाट बिदा लिएपछि झापा-काठमाडौं गरिरहे। पार्टीमा लामो समय जिम्मेवारीविहीन थिए।
शर्माले १२औं महाधिवेशनमा पार्टीको झापा सभापतिमा उम्मेदवारी दिए। तर कृष्णप्रसाद सिटौलासहितका नेताहरू एकातिर, शर्मा एक्लै अर्कातिर भए। उनी पराजित भए।
संविधानसभाको दोस्रो र २०७४ को चुनावमा पनि उनी झापा १ मा पराजित भए।
शर्माले २०७० मा एमालेका रविन कोइराला र २०७४ मा माओवादीका राम कार्कीसँग चुनावी हार ब्यहोरेका थिए। ती दुवै चुनावमा पराजय ब्यहोरेका कोही उम्मेदवार मतगणनास्थलमा थिएनन्। शर्मा भने आफूलाई हराउने दुवै जनालाई पहिलो माला लगाइदिएर बधाई दिने एक मात्र उम्मेदवार थिए।
यसपालि १४औं महाधिवेशनमा पार्टी संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार बन्ने अन्तिम क्षणमा त्यो समूहमा कृष्णप्रसाद सिटौलाको प्रवेश भयो। सिटौला र विश्वप्रकाशको सम्बन्ध त्यति राम्रो छैन। त्यसमाथि सिटौलाको जोडबलमा देउवा प्यानलबाट प्रदीप पौडेल महामन्त्री भए। विश्वप्रकाश पनि महामन्त्री उठ्ने निधो गरेका थिए जो देउवा प्यानलमा अटाएनन्। घरि शेखर कोइराला प्यानलबाट अनि घरि देउवा प्यानलबाट महामन्त्री बन्ने हल्ला चलिरहेका बेला उनको नाम दुवै समूहबाट छुट्यो।
उनले एक्लै उम्मेदवारी दर्ता गराए र अन्तिममा प्रकाशमान सिंह समूहमा पुगे।
पार्टीको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित बनेपछि उनलाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए।
‘कांग्रेसलाई देखिने र सुनिने बनाउँछु,’ जिम्मेवारी सम्हाल्दै विश्वप्रकाशले भनेका थिए। आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरेको भन्दै कांग्रेस प्रतिनिधिहरूले उनलाई महामन्त्रीका रूपमा पुरस्कृत गरिदिएका छन्।
‘बलियो समूहमा नपरेका कारण नतिजा जस्तो पनि हुन सक्ने सम्भावना थियो,’ कांग्रेस युवा नेता गोविन्द पोखरेल भन्छन्, ‘तर महाधिवेशन प्रतिनिधिले लगभग स्वतन्त्रझैं उम्मेदवारी दिएका शर्मालाई जिताएर उनको भूमिकाको कदर गरेका छन्। अब त्यसमा खरो उत्रिने दायित्व शर्माका अघि उपस्थित छ।’
यो पनि हेर्नुहोस् :
पुस्तान्तरणको जबरजस्त दबाब बढाएर कांग्रेसमा उदाएका गगन-विश्वप्रकाश