किराती लोककथा: साकेला सिली

साकेला सिली प्रस्तुत गर्दै किरातीहरु/ तस्बिर- प्रवीण पुमा


सृष्टिकालमा सुम्निमा–पारुहाङ आकाशतिर जानुभएपछि होङ्छा पृथ्वीमा एक्लै हुनुभयो। उहाँ धेरै न्यासरीनु भयो। त्यसपछि होङ्छाले सुम्निमा–पारुहाङको प्रतीक मानेर सुप्तुलुङको स्थापना गर्नुभयो। होङ्छाले सुप्तुलुङको उत्तर दायाँ भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिवालुङ। तपाईंले हाम्रो परिवारको पुर्खालाई शक्ति दिनु। दीर्घायु बनाउनु। शत्रुहरूबाट जोगाउनु। सुःख–शान्ति गराउनु।’

त्यसैगरी, होङ्छाले सुप्तुलुङको दक्षिण भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिमालुङ। तपाईंले घरपरिवारमा सुब्बे–फाब्बे गराउनु। धन–सम्पत्ति, अन्नपात घर भिœयाउनु। बुद्धिविवेक दिनु। शत्रुहरूबाट जोगाउनु। सुःख–शान्ति गराउनु।’ फेरि होङ्छाले सुप्तुलुङको अगाडि मूलढोकातिरको भागमा चुला गाडेर भन्नुभयो–’तपाईं तायालुङ। तपाईंले यो घरपरिवारमा आउने पाहुनाहरूलाई सत्कार गर्दै परिवारमा सुब्बे–फाब्बे कायम गराउनु। शत्रुहरूबाट जोगाउनु। सुःख–शान्ति गराउनु।’

त्यसपछि होङ्छाले त्यो सुप्तुलुङको तीनवटा चुलालाई क्रमशः दिवाढसङगा, दिमालुङ र तायालुङ नामाकरण गरी फरक–फरक शक्तिको प्रतीक मान्नुभयो। उहाँले त्यो सुप्तुलुङलाई आफ्नो पुर्खाको प्रतीकका रूपमा मानी मुन्दुम फलाक्दै पूजा गर्नुभयो। त्यही समयदेखि किरातीहरूले सुप्तुलुङलाई आफ्नो पुर्खाको प्रतीक मानी मुन्दुम फलाक्दै पुर्खाको पूजा गर्न थाले। किरातीहरूले आफ्नो जन्मदेखि मृत्युसम्मको सम्पूर्ण धर्म–संस्कार–संस्कृति त्यही सुप्तुलुङमै गर्छन्। यो चलन कायमै छ। यदि यो नियम उल्लङघन गरे घरपरिवारमा मरीमराउ, दुःख–पीडा आइपर्छ भन्ने विश्वास छ।

त्यसपछि होङ्छा सिकार खेल्न जङ्गलतिर जानुभयो। उहाँले जङ्गलमा सिकार खेलिरनुभएको थियो। त्यही बेला ठूलो आवाज आयो। त्यो आवाजसँगै नजिकैको अनौठो उज्यालो खस्यो। होङ्छा अचम्म हुनुभयो। होङ्छा त्यो अनौठो उज्यालो खसेको ठाउँमा जानुभयो। त्यहाँ उहाँले तान बुनिरहेको साकुदिमालाई देख्नुभयो। एकान्तमा साकुदिमालाई देखेर होङ्छा डराउनुभयो। उहाँलाई साकुदिमा आमा सुम्निमाजस्तो लाग्यो। होङ्छाले तुरुन्तै आफ्नो सम्पूर्ण धनुकाँड र थोक्रो जमिनमा राखेर सुम्निमालाई सम्झिँदै ढोग्नुभयो।

त्यही बेला साकुदिमाले सुम्निमाको रूप लिएर भन्नुभयो, ‘होङ्छा, वास्तवमा म सुम्निमा नै हुँ। तिमीले मलाई बेलैमा चिनेकोमा तिमीप्रति म धेरै खुसी छु। तसर्थ, आज म तिमीलाई तान बुन्न सिकाउँछु। अनि, तान बुन्ने सीपलाई तिमीले यो पृथ्वीका बासिन्दालाई सिकाउनु। त्यो तानबाट कपडा तयार हुन्छ। तिमीलगायत यो पृथ्वीभरका मानिसहरूले त्यो कपडा लगाएर आप्mनो लाज छोप्नु, जाडो छेल्नु, शत्रुहरूको आक्रमणबाट बच्नु। यसले तिमीहरूको भलो हुनेछ।’ सुम्निमाको आज्ञा होङ्छाले मान्नुभयो।

सुम्निमाले होङ्छालाई तान बुन्न सिकाउनुभयो। होङ्छा तान बुन्न सिपालु हुनुभयो। त्यही बेला सुम्निमा अलप हुनुभयो। त्यसपछि सुम्निमाबाट सिकेको तान बुन्ने सीपलाई होङ्छाले पृथ्वीभरि सिकाउनुभयो। तब पृथ्वीका सबैले तान बुनी कपडा लगाएर लाज छोपे, जाडो छेले, शत्रुहरूको आक्रमणबाट बचे। त्यही समयदेखि कपडा बुनेर लुगा लाउने चलन बस्यो।

त्यहीक्रममा पुथ्वीमा मानिसहरूको भकाभकी मृत्यु हुन थाल्यो। त्यो कुराले होङ्छालाई धेरै चिन्तित बनायो। मानिसहरूलाई बचाउने उपाय खोज्न होङ्छा ध्यानमा बस्नुभयो। त्यही बेला अचानक जमिन काम्यो। वातावरण चारैतिर अन्धकारमय भयो। हावाहुरी चल्यो। बिजुली चम्कियो। पानी प¥यो। त्यसले होङ्छाको ध्यान भङग भयो। होङ्छाको आँखा खुल्यो। उहाँको आँखा खुल्दा चाँप ढकमक्क फुलिरहेको थियो। चाँप फूलको बास्ना आइरहेको थियो। उहाँको ध्यान भङग भएपछि होङ्छाले मानिसहरूलाई बचाउने उपाय भेट्नु भएन। त्यसपछि होङ्छाले भन्नुभयो–’हे, मानव हो। मैले तपाईंहरूको रक्षा गर्न नसक्ने भएँ। यो पृथ्वीमा जन्मिएपछि तपाईंहरूले एक न एक दिन मर्नुपर्ने नै भयो। तसर्थ, आज चाँप फुलेको दिन हो। त्यही दिनलाई तपाईंहरूले आफ्नो उमेरको हिसाब गरेर किराती नयाँ वर्षको रूपमा मान्नु है।’

त्यसपछि होङ्छाको आज्ञाअनुसार मानव सृष्टिले त्यस दिनलाई नयाँ वर्षको रूपमा मान्न थाल्यो। त्यो नयाँ वर्ष माघेसङक्रान्तिको दिन थियो। त्यसरी नयाँ वर्षको उत्पत्ति भयो। त्यही कारण किरातीहरूले माघेसङक्रान्तिलाई नयाँ वर्षको रूपमा मान्छन्।

नयाँ वर्षको सुरुवातपछि पनि होङ्छा यो पृथ्वीमा एक्लै हुनुभयो। उहाँ कहिले एक्लै सिकार खेल्नुहुन्थ्यो कहिले महाताम्मामा दुवाली छेकेर वाकुरिसा मार्नु हुन्थ्यो। कहिले महाताम्मामा जाल हान्दै हिँड्नुहुथ्यो। त्यसरी महाताम्मामा जाल हान्ने क्रममा दिनैभर जाल हान्नुहुथ्यो। तर, एउटै पनि वाकुरिसा जालमा परेन। बरु जतिपल्ट जाल हान्नुभयो उतिपटक नै जाल रित्तै आयो। त्यसरी जाल हान्दा–हान्दा उहाँ थकित हुनुभयो।

त्यो समयम महाताम्माको नागाहाङकी छोरी सिक्रिमा जवान भइसकेकी थिइन्। तर, सिक्रिमाको विवाहका लागि राजकुमार भेटिएको थिएन। त्यही क्रममा सिक्रिमाको मामाले दरबारमा नागाहाङ बाहिर गएको मौकामा आफूलाई मन परेको राजकुमार हेर्न पृथ्वीतिर सिक्रिमालाई पठाउनुभयो। मामाको आज्ञाअनुसार पृथ्वीतिर घुम्न जाँदा–जाँदै होङ्छाले हानेको जालमा सिक्रिमा पर्नुभयो। धेरै दिनसम्म पनि वाकुरिसा जालमा नपरेपछि थकित भएको होङ्छाले’ आजचाहिँ जालमा ठूलै वाकुरिसा प¥यो’ भनेर खुसी हुँदै महासागरबाट जाल बाहिर निकाल्दा त सुन्दर महिलालाई जालमा भेट्नुभयो। होङ्छा र सिक्रिमा दुवैजना अचम्म मान्दै हेराहेर गर्नुभयो। दुवै जनाबीच मन परापर भयो। त्यसपछि होङ्छा र सिक्रिमाले विवाह गरेर सँगै बाँच्ने, सँगै मर्ने कन्निकिरे खानुभयो।

त्यसपछि सिक्रिमाले आफ्नो आपा नागाहाङलाई भेटेर सिक्रिमाको हात माग्न लगाउँदै भन्नुभयो–’यो महासागरभित्र हाम्रो आपाको विशाल दरबार छ। त्यो दरबारमा हामी सपरिवार बस्छौँ। अब, त्यही दरबारमा आएर मेरो आपासँग मलाई माग्नु। तर, आपाले ‘जसले मलाई वाछिनेरी दिन्छ, उसैसँग मेरो विवाह गरिदिन्छु’ भन्नुभएको छ। सिक्रिमाको कुरा सुनेर होङ्छाले भन्नुभयो–’मसँग वाछिनेरी छैन। फेरि, म पानीमा पौडन पनि जान्दिनँ। त्यसैले तिम्रो आपाको दरबारमा म जान सक्दिनँ।’ होङ्छाको कुरा सुनेर सिक्रिमाले फेरि भन्नुभयो–’त्यसो नभन्नुहोस्, होङ्छा। यदि तपाईंले मलाई साँच्चीकै माया गर्नुहुन्छ भने तपाईंले मेरो आपाको दरबारमा पुगेर मेरो हात माग्नैपर्छ। आपाको दरबारमा जाँदा समुद्रको छाल ह्वाल्ल आउँछ। त्यही बेला महाताम्मामा हामफालेर त्यो छालसँगै तपाईं पौडिएर जानु। म तपाईंलाई आपाको धेरै वाछिनेरीमध्ये एउटा दिन्छु। त्यो वाछिनेरी तपाईंले साथैमा राख्नु। त्यसपछि तपाईंले मेरो हात आपासमक्ष माग्नु। तपाईंले मलाई माग्दा आपाले तपाईंलाई’ वाछिनेरी दिन सक्छौ’ भनेर सोध्नुहुन्छ। त्यही बेला मैले दिएको वाछिनेरी आपालाई दिनु। त्यो वाछिनेरी देखेर आपा खुसी हुनुहुनेछ। हाम्रो विवाहको कुरा छिन्नेछ।’ सिक्रिमाको कुरामा होङ्छा राजी हुनुभयो।

त्यसपछि सिक्रिमा र होङ्छा महासागरको छालसँगै पौडिएर नागाहाङको दरबारमा पुग्नुभयो। तर, नागाहाङ दरबारबाहिर घुम्न जानुभएको थियो। त्यहाँ सिक्रिमाको आमा नागाहाङ्मामात्र हुनुहुन्थ्यो। सिक्रिमाले होङ्छाको बारेमा सबै कुरा नागाहाङ्मालाई बताउनुभयो। आमा–छोरीको कुरा मिल्यो। त्यसपछि सिक्रिमाले नागाहाङको एउटा वाछिनेरी होङ्छालाई दिएर नागाहाङले थाहा नपाउने गरी लुकाएर राख्नुभयो। त्यसको केही क्षणमा नागाहाङ दरबारमा प्रवेश गर्दै भन्नुभयो–’आज यहाँ को मान्छे आयो? मान्छे–मान्छे गन्हाउँदै छ।’ त्यही बेला नागाहाङ्माले भन्नुभयो–’हैन नागाहाङ, आज पृथ्वीतिर सिक्रिमा घुम्न गएको थियो। त्यहाँ कुनै मान्छेसँग भेट भयो होला। त्यसैले त्यही मान्छेको गन्ध आएको होला नि ¤’ तर, नागाहाङले शङका मान्दै भन्नुभयो–’हैन नागाहाङ्मा, पक्कै आज यो दरबारमा कोही मान्छे आएकै हुनुपर्छ। सायद, त्यो मान्छेलाई तिमीहरूले लुकाएर राखेको हुनुपर्छ। कहाँ छ, त्यो मान्छे? खै देखाऊ। त्यो मान्छेलाई म अहिले नै खाइदिन्छु।’ नागाहाङको कुरा सुनेर सिक्रिमा आत्तिएर रुन थाल्नुभयो। त्यही बेला नागाहाङ्माले भन्नुभयो–’यदि तपाईंले त्यो मान्छेलाई खानु हुन्न भने त्यो मान्छे देखाउँछौँ, नत्र देखाउँदैनौँ।’ नागाहाङ्माको कुरा सुनेर नागाहाङले भन्नुभयो–’ल हुन्छ। म खान्नँ, तिमीहरूको प्यारो मान्छेलाई। तर, त्यो मान्छे कहाँ छ? मलाई देखाउनुपर्छ?’ नागाहाङको कुरा सुनेर सिक्रिमा खुसी हुँदै आपाको छेउमा गएर भन्नुभयो–’आपा, यदि हामीले त्यो मान्छेलाई देखायाँै भने तपाईंले त्यो मान्छेलाई पक्का खानु हुन्न त?’ सिक्रिमाको कुरा सुनेर नागाहाङले मान्छेलाई नखाने बाचा गर्दै भन्नुभयो–’यदि तिमीहरू आमाछोरीले नै त्यो मान्छेलाई नखाऊँ भन्छौ भने म खान्नँ। तर, त्यो मान्छे को हो? कहाँबाट आएको? कहाँ छ? त्यो मान्छे मलाई देखाऊ?’

त्यसपछि होङ्छालाई नागाहाङको अगाडि उपस्थित गराइयो। होङ्छालाई आप्mनो अगाडि देखेर नागाहाङले भन्नुभयो–’मान्छे, मेरो दरबारमा किन आउनुभयो?’ होङ्छाले भन्नुभयो–’महासागरहाङ, तपाईंको छोरी सिक्रिमा मलाई ज्यादै मन प¥यो। त्यसैले सिक्रिमाको हात माग्न म यहाँ आएको हुँ। म तपाईंको छोरी सिक्रिमासँग विवाह गरेर जुनी बिताउन चाहन्छु।’ होङ्छाको कुरा सुनेर नागाहाङले भन्नुभयो–’जसले मेरो छोरीलाई वाछिनेरी दिन्छ, उसैसँग विवाह गरिदिन्छु। के तपाईं मेरो छोरीलार्ई वाछिनेरी दिन सक्नुहुन्छ?’ नागाहाङको कुरा सुन्नासाथ सिक्रिमाले दिएको वाछिनेरी नागाहाङलाई दिँदै होङ्छाले भन्नुभयो–’हुन्छ, माहाताम्महाङ। म तपाईंको छोरीलाई वाछिनेरी दिन सक्छु।’ सिक्रिमालाई वाछिनेरी दिन होङ्छा तयार भएपछि नागाहाङ र नागाहाङ्माले आशीर्वाद दिँदै धुमधामसित होङ्छासँग सिक्रिमाको विवाह गरिदिनुभयो। त्यही समयदेखि किरातीहरूको विवाह गर्न अर्काको छोरी माग्ने चलन बस्यो।

त्यो विवाहमा नागाहाङ र नागाहाङ्माले साकेला सिली टिप्दै एउटा ढुङ्गा, ढोल–झयाम्टा, पोमी, सिलिमा र धन–सम्पत्ति दाइजो दिएर पृथ्वीतिर पठाउँदै भन्नुभयो ,’सिक्रिमा र होङ्छा, अब तपाईंहरू बढाबुढी हुनुभयो। अब तपाईंहरूले पृथ्वीमा गएर खेतीपाती गरेर खानु। तपाईंहरूको सन्तानले पृथ्वी ढाकोस्। अनि, खेतीपाती गर्ने बेला र अन्नबाली भित्र्याइसकेपछि यो ढुङ्गालाई पृथ्वीको चोखो ठाउँमा गाडेर यो ढोल, मानी बजाउँदै यो चौरी–मिरी, सिलिमा हल्लाउँदै तपाईंहरूले खेतीपाती गर्दा जसरी–जसरी गर्नुभएको थियो, त्यसरी–त्यसरी साकेला सिली टिप्दै हामी र ज्वाइँको आमाआपालाई सम्झनु। हामीले पृथ्वीमा पानी पारिदिएर खेतीपाती गरेको थाहा पाएको कुरा तपाईंहरूलाई पानीमार्फत जानकारी गराउँछौँ।’ त्यो कुरामा सिक्रिमा र होङ्छा राजी हुनुभयो। त्यसपछि होङ्छा सिक्रिमालाई लिएर पृथ्वीतिर जानुभयो। त्यही समयदेखि छोरीलाई सक्दो दाइजो दिने चलन बस्यो।

त्यसपछि होङ्छा र सिक्रिमा पृथ्वीमा आएर खेतीपाती गरेर बस्नुभयो। त्यहीदेखि खेतीपाती गर्न थालियो। त्यसपछि नागाहाङ्मा र नागाहाङको आज्ञाअनुसार उहाँहरूले खेतीपाती लगाउने बेला र खेतीपाती उठाइसकेपछि ढुङ्गालाई पृथ्वीको चोखो ठाउँमा गाडेर ढोल, मानी, चौरी–मिरी र सिलिमा बजाएर वर्षभरि खेतीपाती र सिकारहरू गर्दा जे–जे गर्नुभयो, त्यही–त्यहीको सिली टिपेर धुमधामसित आआफ्नो पुर्खालाई सम्झना गर्नुभयो। त्यही समयदेखि पुर्खाको सम्झनामा ढोल, मानी बजाउँदै, चौरी–मिरी र सिलिमा हल्लाउँदै सिली टिपेर साकेला पुज्न थालियो। त्यही समयदेखि साकेला सिलीको उत्पत्ति भयो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.