सानेको बुबाले पैसा निकाल्न खल्तीमा हात हाल्ने बित्तिकै खल्तीमा केही नभएको थाहा भयो। ऊ अचम्ममा पर्यो। आजसम्म यस्तो कहिल्यै भएको थिएन। महिना सकिन अझै १५ दिन बाँकी थियो। महिनाभरिको खर्च कसरी धान्ने?
उसले आफ्नी श्रीमतीलाई बोलाएर सोध्यो, ‘सानेकी आमा, यता आऊ त।’
सानेकी आमा बिहान काममा व्यस्त हुन्थिन् तर पनि काम छोडेर आएर सोधिन्, ‘के भयो?’
‘मेरो खल्तीबाट दुई हजार रुपैयाँ हरायो,’ उसले रिसाउँदै भन्यो।
सानेको आमाले जवाफ दिइन्, ‘कतै राखेर बिर्सेको होला, अलि राम्ररी हेर्नु, भेट्टाउनेछौ।
‘मेरो मतलब, तिमीले लिएको छ कि भनेर सोधेको मात्र हो।’
‘मैले किन लिन्थेँ होला? मलाई चाहिएको भए तपाईंलाई भनिहाल्थेँ नि,’ सानेकी आमाले भनिन्, ‘आफैले कतै पैसा खर्च गरेर यता खोज्दै हुनुहुन्छ।’
‘तिमी बुझ्ने कोसिस गर न, मैले हिजोआज त्यस्तो खर्च केही गरेको थिइनँ, गरेको भए पनि के मैले सम्झिन्न थिएँ र?’
‘मैले तिम्रो पैसा निकालेको छैन,’ यति भन्दै सानेकी आमा बिहानको खाजा बनाउन भित्र पसिन्।
ऊ चिन्तित भयो। हजार हजार रुपैयाँ आखिर पैसा कसरी र कहाँ गयो होला? परिवारमा एक मात्र छोरा साने छ र उसलाई थाहा थियो साने कुनै नराम्रो कुलतमा फसेको छैन जसको लागि उसले बाउको खल्तीबाट पैसा चोर्ने वा पैसा निकाल्नु परोस्। जब सानेलाई आवश्यकता पर्दथ्यो बाउसँग माग्ने गरेको थियो।
सानेको बुबा गरिब थिए। खल्तीबाट यति ठुलो रकम हराएपछि घरमा होहल्ला मच्चिएको थियो। शंकाको सुई कहिले सानेतिर जान्थ्यो त कहिले सानेको आमातिर। आजसम्म कहिल्यै पनि एक रुपैयाँको तलमाथि भएको थिएन। कहिलेकाहीँ सानेलाई बजारमा केही सामान लिन पठाउँदा पनि फर्केपछि दुई रुपैयाँ बाँकी रह्यो भने नि फिर्ता गरिदिन्थ्यो। सानेले आजसम्म नसोधी पैसा झिकेको थाहा पाएको छैन। अहिले उसले किन लिन्थ्यो?
सानेले पैसा झिक्यो भने यति धेरै पैसा किन लिन्थ्यो? यत्रो पैसाले उसले के गर्थ्यो? केही समयअघि सानेले मोबाइल किनिदिन अनुरोध गर्दा सानेको बुबाले उसलाई सम्झाउँदै भनेका थिए, ‘साने, तिम्रो जन्मदिनमा उपहार दिउँला। अचेल पैसाको अभाव छ।’
‘हुन्छ बाबा,’ सानेले खुसी हुँदै भनेको थियो।
सानेको बुबा निकै निराश भए। अहिले महिना पनि मरेको छैन, त्यसमाथि कस्तो महँगी बढेको छ, आम्दानीको श्रोत पनि घटेको छ। दिनभरि अटोरिक्सा चलाएपछि २–३ सय रुपैयाँ बचत हुन्छ।
उसले श्रीमतीलाई सोध्यो, ‘सानेलाई सोध्दा के हुन्छ र? तर छोरा सानेले के सोच्ला? उसले सानेलाई बोलायो, ऊ भर्खरै निद्राबाट ब्युँझिएर शौच जाने तयारी गरिरहेको थियो। साने आँखा मिच्दै अगाडि आएर उभियो।
‘साने, तैँले मेरो खल्तीबाट पैसा निकालेको छस्?’
‘अहँ! छैन,’ सानेले डराएको स्वरमा भन्यो।
‘छोरा, मेरो खल्तीबाट दुई हजार हराएको छ, कहाँ गयो थाहै छैन,’ उसले चिन्तित स्वरमा भन्यो।
‘बाबा म जाऊँ?’ सानेको स्वरमा अझै पनि डर थियो, मानौँ उसले नै चोरी गरेको हो। तर उसले किन र के उद्देश्यका लागि पैसा निकाल्थ्यो?
बारम्बार उसको शंका आफ्नी श्रीमती र सानेमाथि पुग्थ्यो। त्यसपछि उसले आफ्नो पाइन्टको अन्य खल्तीमा हेर्न थाल्थ्यो। उसले कहिलेकाहीँ पैसा यता उता राख्थ्यो तर आज जताततै खोज्दा पनि भेटिएन।
हातैले खर्च गर्दा वा कसैलाई दिँदा पैसा कम भयो भने पनि हामीलाई दुःख लाग्दैन किनकि त्यस बारेमा हामीलाई थाहा हुन्छ। तर अचानक पैसा हरायो चोरी भयो, खस्यो भने साँच्चै दुख लाग्दो रहेछ। अटोरिक्सामा कति पटक कसैको मोबाइल फोन, पर्स वा झोला छोडियो भने यात्रुलाई खोजेर उसलाई दिने वा प्रहरी चौकीमा गएर सामान जम्मा गरिदिन्थ्यो। तर यस्तो घटना आफैसँग हुन्छ भनेर उसले कहिल्यै सोचेकै थिएन, पहिलो पटक भएको थियो।
घरमा कोही आए गएको पनि थाहा छैन। कोही आएको थाहा नपाएको पनि हुनसक्छ। उसले फेरि श्रीमतीलाई बोलायो।
‘हिजो साँझ सानेको कोही साथी वा तिम्रो साथीहरू आएका थिए?’
‘कोही आएको छैन, कसैलाई दिएर बिर्सेको होला,’ उसले फेरि श्रीमानकै कमजोरी हो कि भन्ने सोचिन्।
आखिर पैसा कहाँ गयो त? उसले बारम्बार सोचिरह्यो। जति सोच्थ्यो, उति दुःखी हुँदै जान्थ्यो। धेरै मेहनत गरेर कमाएको पैसा थियो।
उसलाई दुःखी देखेर सानेकी आमाले भनिन्, ‘चिन्ता नलिनु, भेटिन्छ होला। म चिया ल्याइदिन्छु।’
साने पनि बाथरुमबाट निस्केर झ्याल अगाडि बस्यो। उसले जहिले पनि झ्याल अगाडि बसेर चिया–नास्ता खाने गर्दथ्यो।
सानेको बुबा धेरै भौतिक चिजहरू खरिद गर्न सक्षम थिएनन् न त धेरै खर्च गर्न सक्थे। कहिलेकाहीँ सानेले आइसक्रिम चकलेट खान जिद्दी गर्दा खुवाउँथ्यो तर खुवाइसकेपछि भन्थ्यो, ‘छोरा, हामी अहिले पनि त्यति धनी छैनौँ कि अनावश्यक खानेकुरामा १००-२०० रुपैयाँ खर्च गर्न सकौँ।’
साने कहिल्यै रिसाउँदैन थ्यो। आफू गरिब परिवारको छोरो हो भन्ने पनि उनलाई थाहा थियो। एक–दुई पटक उसले आफ्नी आमालाई पनि भनेको थियो, ‘आमा, स्कुलबाट आएपछि के म पसलमा काम गर्न जाऊँ कि?’
‘किन?’
‘हामी गरिब छौँ, बाबालाई केही सहयोग हुन्छ।’
आमाले उसलाई अँगालो हालेर कपाल मुसार्दै भनिन्, ‘अहिले त्यसको कुनै आवश्यकता छैन, पहिले राम्ररी लेखपढ गर, त्यसपछि यो सबै कुरा पछि गर्नु।’
राति सानेले भनेको कुरा लोग्नेलाई पनि सुनाइन्।
‘म अझै जिउँदै छु, यो कदापि हुँदैन।’
‘मैले पठाउने पनि भनेको छैन नि।’
‘उसलाई पढाइमा ध्यान दिन भन्नु।’
कुरा जे जस्तो भए पनि पैसा कहाँ गयो? जति सोच्यो, उति अलमलमा पर्थ्यो। अन्ततः उसले एक घण्टा थप अटोरिक्सा चलाएर यो घाटा पूर्ति गर्ने निर्णय गर्यो।
दुई-तीन हप्तामा उसले यो पैसा हराएकोको कुरा झन्डै बिर्सिसकेको थियो। जीवन शान्तिपूर्ण किसिमले चलिरहेको थियो। एक दिन साँझ घर फर्किँदै गर्दा बाटोमा आफ्नो इलाकाको हुलाकीसँग भेट भयो।
नमस्कार गरेपछि हुलाकीले सोध्यो, ‘आज काठमाडौँबाट एउटा पार्सल आएको थियो, त्यसमा के थियो?’
काठमाडौँबाट पार्सल? उसले केही बुझ्न सकेन। उसको काठमाडौँमा आफन्त कोही थिएन भने पार्सल कसले र कस्तो पार्सल पठाएको हो?
हुलाकीले भन्यो, ‘तिम्रो छोराको नाममा पार्सल आएको थियो।’
‘कति मूल्यको थियो?’
‘दुई हजार रुपैयाँ।’
‘घरमा कसले लियो त?’
‘तिम्रो छोराले तर किन सोधपुछ गर्दै छौ?’
सानेको बुबाले सबै कुराहरू बुझ्दा सानेले पार्सल अर्डर गरेको थियो र पक्कै पनि उसैले पैसा निकालेको थियो भन्ने निष्कर्षमा पुग्यो। उसले सम्झेको अभिनय गर्दै हुलाकीलाई भन्यो, ‘ए हो! सानेले मलाई पार्सल आउँदै छ भनेको थियो तर आजै आउँछ भन्ने मलाई थाहा थिएन।’
‘म जान्छु’ यति भन्दै हुलाकी आफ्नो घरतिर लाग्यो।
सानेको बुबा एकदमै रिसायो, सानेले यसरी चोरी गर्छ भन्ने सोचेकै थिएन। आखिर उसले किन यस्तो गर्यो? रिस र दुखको मिश्रित मन बोकेर घर पुगेपछि उसले सानेलाई ‘साने’ भनेर ठुलो स्वरमा बोलायो।
सानेकी आमा बाहिर आउँदै भनिन्, ‘के भयो? किन यसरी च्याठ्ठिएको।’
‘साने कहाँ छ? त्यसैले मेरो खल्तीबाट दुई हजार रुपैयाँ निकालेको रहेछ,’ सानेको बुबाले रिसाउँदै भन्यो। त्यतिन्जेल हल्ला सुनेर साने पनि अगाडि आइसकेको थियो।
‘किन, मेरो खल्तीबाट पैसा निकालेको?’ सानेले भुइँतिर हेर्न थाल्यो।
‘पैसा किन चोरेको?’ सानेको बुबाले रिसाउँदै सोधे।
‘पार्सलमा के आएको छ? तैँले भनेको भए चाहिएको सामान बजारबाट ल्याइदिन्थ्यौँ,’ सानेको बाबा अझै कराउँदै थिए। सानेकी आमाले केही बुझ्न सकिरहेकी थिइनन्, चुपचाप हेरिरहेकी थिइन्।
‘बाबा, यो सामान यहाँको बजारमा पाइँदैन,’ सानेले डराएको स्वरमा बिस्तारै बोल्यो।
‘के मगाएको भन्,’ बुबाले रिसाउँदै सोधे।
सानेले भित्र पसेर एउटा सानो प्याकेट ल्याएर बुबाको अगाडि राखिदियो।
‘के छ यसमा?’
‘बाबा, यसमा धनी हुने जन्तर छ जसमा लक्ष्मीको मन्त्र लेखिएको छ। त्यसलाई लगाउनाले घरमा धेरै पैसा आउँछ। हाम्रो गरिबी हटोस् भनेर मैले तपाईंको लागि मगाएको हुँ,’ सानेले बुबाको हातमा जन्तर राख्दै निष्कपट भावमा भन्यो।
त्यो एउटा पेन्डुलम जस्तो थियो। हेर्दा जसको कूल मूल्य १०० रुपैयाँ थियो होला तर तुरुन्तै उसले छोराको भावना बुझेर केही क्षणपछि अँगालो हालेर भन्यो, ‘ छोरा, यस्तो जन्तर लगाएर वा पूजा गरेर कोही धनी हुँदैन। हामी इमानदारिता र मेहनतबिना कहिल्यै धनी बन्न सक्दैनौँ। छोरा, यो सब व्यापार र छलकपट हो।’
साने टाउको समातेर भुइँमा थचक्क बस्यो। पाखण्डको प्रचार–प्रसार कति प्रभावकारी हुन्छ भन्ने कुरा शिक्षित समुदाय पनि ‘एक पटक प्रयास गर’ भन्ने सोचको सिकार बन्दो रहेछ। साने अबोध बालक थियो तर बुबाले उसलाई यो पाखण्ड हो भनेर पाठ सिकाउन सकेनन्। सायद उसको मनको कुनामा पनि अन्धभक्तिको डर लुकेको थियो होला।