आज पनि झलझली त्यो दिन याद आउँछ, जुन दिन मेरो छोरालाई अटिजम भएको पत्ता लागेको थियो। म र मेरो श्रीमान् एक अर्कालाई हेरेर घन्टौँ रोएका थियौँ। केही बोल्न सकेका थिएनौँ र केही बोल्न जरुरी पनि थिएन। हाम्रो आँखाले सबै कुरा व्यक्त गरिरहेको थियो।
आँखाबाट आँसुका धारा बगिरहेको थियो, मैले उनको र उनले मेरो पीडा एकैनास महसुस गरेका थियौँ। हामी समान पीडाको साझेदार भएका थियौँ।
५ वर्षे वैवाहिक जीवनमा कति धेरै उतार चढाव देखियो होला, कति सुख सँगै बाँड्यौँ होला, कति दुख पनि सँगै पार गर्यौँ होला। तर यो पल अलग्गै थियो। यो पीडा थियो केवल उनको र मेरो, त्यो पनि सायद जीवनभरको लागि।
एक अर्काको आँसु पुछ्दै फेरि पनि रुँदै गरेको दिन हिजो जस्तै लाग्दछ। त्यति ठुलो परीक्षा त जीवनले अहिलेसम्म लिएको थिएन। आफूलाई सम्हाल्नु कि उनलाई, कि काखमा भएको बच्चालाई। आफूलाई साह्रै कमजोर महसुस गरिरहेकी थिएँ।
जीवनमा मैले सधैँ चुनौतीहरूलाई बलियो भएर पार गरेकी थिएँ तर यो चुनौती मैले सोच्दै नसोचेको, कल्पना नगरेको र धेरै ज्ञान पनि नभएको वाला पर्यो। जे जस्ता कठिनाइ पनि जीवनमा समाधान गर्न सक्ने मान्छे म, आफूलाई जस्तो परिस्थितिमा पनि सम्हाल्न सक्ने मान्छे म आज किन डगमगाइरहेकी थिएँ?
किनकि म एउटी आमा थिएँ। धेरै सपना सजाएर, योजना गरेर, आफ्नो र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै ९ महिनासम्म भरपुर ख्याल राखेर जन्माएकी आमा थिएँ। मेरो जीवनमा जे आई परे पनि सामना गर्न सक्ने क्षमता भएकी मान्छे, आज छताछुल्ल, लथालिङ्ग भएकी थिएँ। किनकि म एउटी आमा थिएँ। आज म आयुष्मा होइन, ‘आरुस’की आमा थिएँ, मात्र आरुसकी आमा।
बेलाबेला लाग्थ्यो कि यो सपना हो। फेरि झस्किन्थेँ। सपना भइदिएको भए पनि हुन्थ्यो नि।
हिजो अस्तिका दिन सम्झिन्थेँ, जब आरुसको डायग्नोसिस भएको थिएन, अलिअलि शङ्का मात्र थियो मनमा तर आस धेरै नै थियो कि यो शङ्का मेटिने छ। तर सायद भगवानको योजना यही रहेछ।
त्यो दिन भगवानसँग असाध्यै मन दुख्यो, रिस उठ्यो र विश्वास पनि मर्यो। आखिर म नै किन? यो प्रश्नले बारम्बार सतायो। मैले के गरेको थिएँ? कसलाई नराम्रो गरेको थिएँ? के कुरामा ध्यान पुर्याउन सकिनँ जस्तो लग्यो।
मलाई आफै पनि थाहा छ, यो सबै कुराको अटिजमसँग केही सरोकार छैन। तर मन न हो, भए जति सबै कुरा मनमा खेलिरहन्थे। १०० नानीबाबुमा १ नानीबाबुलाई अटिजम देखिने रहेछ। जन्मिनभन्दा अगाडि थाहा पनि नहुने रहेछ। जिन, वातावरणीय कारण, प्रदूषण तथा अन्य धेरै कारणले अटिजम देखा पर्दो रहेछ।
बाबुलाई हेरेर झन्झन् रुन मन लाग्थ्यो। उनलाई भने केही थाहा पत्तो थिएन। अब त उनको माया झन् कति हो कति गुणा बढी लग्न थाल्यो। कति कुरा उनले व्यक्त गर्न सकेनन् होला, कति पल्ट मैले बुझिनँ होला भन्ने सोचले मलाई झनै दुखी तुल्यायो। यो सबैमा मेरो के गल्ती? यो सानो २ वर्षको बालकको के गल्ती?
कति सोखले मैले बाबुको नाम आरुस राखेको थिएँ। आरुस मतलब घामको पहिलो किरण। मेरो जीवनको किरण थियो मेरो बाबु। जब बाबुको डायग्नोसिस भयो म ३ चरणबाट गुज्रिएँ- भ्रम, अस्वीकार र अन्तिममा स्वीकार।
आफूलाई नै आफ्नो मन शान्तिको लागि म भ्रममा राख्थेँ, त्यसपछि म अर्को चरणबाट गुज्रिएँ, त्यो थियो अस्वीकार, म मान्नलाई तयार थिइनँ यो कुरालाई। जब होसमा आउन थालेँ अनि बुझेँ कि अब मैले यो सत्य स्विकार्नै पर्छ। अब भने म के गरेर हुन्छ बाबुलाई राम्रो हेरचाह, उसलाई चाहिने मद्दत र उसलाई चाहिने थेरापीको बारेमा बुझ्न थालेँ।
बाबुलाई लेभल दुईको अटिजम डायग्नोसिस भएको थियो जसमा उसलाई चाहिने थेरापीले धेरै नै मद्दत पुर्याउन सकिन्थ्यो। थेरापी गर्ने क्रममा मैले धेरै नै ज्ञान हासिल गरे र कति बाबु जस्ता नानीबाबुहरूलाई नजिकबाट बुझ्ने मौका पाएँ। कति आमाहरूसँग मन साटेँ र दुख पनि। जोसँग दुख साटिन्छ नि, त्योसँगको सम्बन्ध अनमोल हुँदो रहेछ। मैले सोचेको जस्तो संसार अँध्यारो पनि रहेन रहेछ भन्ने कुरा पनि महसुस गरेँ।
अहिलेको समयमा प्रविधि धेरै अगाडि बढिसकेको छ। धेरै कुराको समाधान पनि छ। जागरूकता र चेतनाको भने सारै नै जरुरी छ, खास गरी नेपालमा। ‘स्पेसल’ बच्चालाई हेरिने दृष्टिकोण भने पटक्कै मन पर्दैन मलाई। आफन्तहरूको प्रश्नले पनि दिक्क हुन्थेँ। मलाई थाहा छ, चासो र चिन्ताको बिचको फरक!
बाबु राम्ररी बोल्दैन हो? अलि मुडी छ हो? भन्ने जस्तो प्रश्नहरूले मलाई वाक्क पनि लाग्थ्यो।
कति कुरामा मेरो बाबु उनीसँगै उमेरको नानीबाबुसँग प्रतिस्पर्धा गर्न नसक्ला तर कति कुरामा ऊ अरूभन्दा अगाडि पनि छ र यो तुलना गर्ने बानीलाई पनि हामीले छोड्नु पर्छ। उनको जिज्ञासा देखेर म आफै बेलाबेला अचम्म पर्छु। कति प्रतिभाशाली छन् उनी, केही फरक पक्कै पनि होलान् तर उनको आफ्नै प्रतिभा र आफ्नै योग्यता पनि छ। खाली आफ्नो घर परिवार, समाजको माया र थोरै मद्दत चाहिन्छ उनलाई।
उनको उमेरका बच्चाहरू खेलेको, कुदेको दौडेको, दोहोरो कुरा गरेको देख्दा मेरो मन चसक्क अझै पनि दुख्छ, आमा न परेँ। आफ्नो मनलाई आफै सम्झाउँछु, फकाउँछु अनि बुझाउँछु। अर्को सन्तान जन्माउन पनि डर लगेर आउँछ। फेरि सोच्ने गर्छु- निराश भएर हुँदैन, अब त म झन् जागरूक हुन पर्छ। हामी सबैको जीवनमा केही न केही आफ्नै भोगाइ हुन्छ। अब म आफूमा भर पर्छ कि मैले यो भोगाइलाई कसरी लिने। अब त झन् मैले आफूलाई सकारात्मक राख्न जरुरी छ।
मैले अटिजम बारे बुझ्ने र ज्ञान लिने क्रममा धेरै नै मानिसहरूको बारेमा बुझेँ, जो आज साधारण जीवनयापन गरिरहेका छन्। हामी जस्तै कुनै पेसामा लागेका र जीवन खुसी र खुसी तरिकाले निर्वाह गरिरहेका छन्।
संसारका ठुला-ठुला वैज्ञानिकहरूलाई पनि अटिजम रहेछ। भनिन्छ अल्बर्ट आइन्स्टाइन, सर आइजाक न्युटनलाई पनि अटिजम थियो रे। कति मानिसलाई त आफ्नो जीवन कालभरि पनि थाहा हुन्न रे उसलाई अटिजम छ भनेर, हामी मध्ये नै कसैलाई अटिजम भएको र थाहा नभएको पनि हुन सक्ने सम्भावना छ।
मेरो जीवनको यो यात्राबाट मैले एउटा ठुलो कुरा सिकेँ। अहिले त म गर्वले भन्न सक्छु, म उसको आमा हुँ। बाबुमा धेरै परिवर्तन पनि आएको छ। म लगायत मेरो पूरा परिवारको यही कोसिस हुन्छ कि उनलाई कसरी हामीले मद्दत गर्ने, सहयोग गर्ने भनेर।
आज उनी ५ वर्ष पूरा भए र धेरै आफ्ना काम पनि आफै गरिरहेका छन्। थेरापी भने जारी छ। धेरै जनाको मेहनत चाहिन्छ तर सम्भव अवश्य पनि छ। एक जना अर्को नानीको आमाले थेरापीकै क्रममा भन्नु भएको एउटा कुराले मेरो मन खाएको छ। ‘स्पेसल’ नानीबाबु हुर्काउनु जो कोहीको बसको कुरा होइन अरे, त्यसैले भगवानले पनि विशेष आमाबुबा नै छान्नु हुन्छ रे।