उराँव लोककथाः सातो भयाँ

नेपाली लोककथा


खिरी खिरी मानी खिरी, तेल खोप्पा मेन इरी …

एकादेशमा एउटा गाउँ थियो। त्यो गाउँमा सात भाइ बस्दथे। सातै भाइका श्रीमतीहरु थिए।

सात जनाको परिवार पाल्न ठूलै जायजेथा चाहिन्थ्यो। जुन, उनीहरुसँग थिएन। उनीहरुले पैसा कमाउन व्यापार गर्ने निर्णय लिएर घर छोड्ने निधो गरे। व्यापारका लागि अर्को देश जाने उनीहरुको योजना थियो। भोलीपल्ट घोडा गाडीमा सामान हालेर (पलङ्ग लदआ) सावरी भइजान्छन्।

अर्को देश टाढा थियो। त्यसमाथि जंगलको बाटो। बाटोमा बास बस्दै जाँदा खाना चाहिने भएकाले उसिनेको चामलको भुजा बोकेका थिए। त्यो पनि सकिए। त्यसपछि जनावर सिकार गर्दै खाँदै बाटो काट्छन्। लामो समयपछि

लामो समयको यात्रा पछि गन्तव्यमा पुग्छन् र काममा भुल्छन्। काममा यति व्यस्त हुन्छन्, घरमा खबर गर्नेबारे समेत सम्झिना हुँदैन। कमाउन परदेश गएका श्रीमानहरुको कुनै खबर नआएपछि श्रीमतीहरुको चिन्दा दिनप्रतिदिन बढ्दै जान्छ। न मान्छे नै फर्किन्छ, न कुनै खबर नै आउँछ।

असार सकियो, कुनै खबर छैन।

साउन पनि सकिन आँट्यो, कुनै खबर छैन।

करम पूजाका दिन त आइपुग्लान् कि भन्ने आश हुन्छ सबैलाई। जुन भदौमा पर्छ।

एकदिन परदेश गएका सातै भाइ झल्याँस्स हुन्छन्। घर फर्किनुपर्ने सम्झन्छन्। तर, खल्तीमा एक पैसा पनि थिएन। जति कमाए पनि पेट पाल्नमै ठिक्क भएछ। त्यत्तिका समय परदेश गएको मान्छे रित्तो हात फर्किंदा घरकाले ननिको मान्न सक्छन् भन्ने ठान्छन्। यत्तिकै घर फर्किन लाज लाग्यो। घर फर्किंदा रित्तो हात हुने भयो।

सात भाई त्यतिका दिन सम्म बाहिर बसे पनि फक्रिदा केही नलीई आउँछन्। जति कमायो त्यो सबै पेट पाल्नमा सकियो। खाली हात घर जान लाज लाग्यो। तै पनि उनीहरुले परदेशचाहिँ छोड्छन्। तर, घर पुग्दैनन्। गाउँकाले पनि कुरा काट्छन् भन्ने ठानेर सातै भाइ भेष बदलेर घरदेखि अलि परको जंगलमा बस्छन्।

एकदिन सातै भाइ माछा मारिरहेका थिए। अचानक गाउँबाट खेल डिग्री बाजाको आवाज आउँछ। सातमध्ये एक भाइले जेठो दाइलाई भन्छन्, ‘जानुस् त बुझ्नुस् गाउँमा के भएछ? त्यही मेसोमा आगो पनि ल्याउनु है। माछा पोलेर खानुपर्छ।’

तर, दाजु फर्किंदैनन्।

गाउँ जाँदा श्रीमतीसँग पो भेटेछन्। श्रीमतीले उनलाई फर्किनै दिँदैनन्।

उता, दाजुले आगो ल्याउला र माछा पोलेर खाउँला भनेर कुरिरहेका ६ भाइको आश भने अझै मरेको छैन। घरि अलि माथि डाँडातिर गएर हेर्थे। घरि स्वर फेरेर बोलाउँथे। अलि पर आगोको झिल्कोजस्तो देखिँदा उनीहरुको मन बिछट्टै रमाउँथ्यो। तर, त्यो झिल्को केहीबेरमै बिलाउँथ्यो। सायद, त्यो भ्रम थियो।

निकैबेरसम्म नआएपछि पाँच भाइले माइलोलाई दाजुको बारेमा बुझ्न पठाउँछन्। तर, उनी पनि जेठा दाइजस्तै हराए।
यसपछि साइँलाको पालो आउँछ, खोजबिन गर्न जाने। उनी पनि हराए।

काइँलाे पनि हराए।

अन्तिममा कान्छो मात्रै बाँकी रहन्छन्। ६ वटै दाजु हराएपछि उनको चिन्ता निकै बढ्छ। निकै दिनदेखिको भोक त चिन्ताले बिर्साइदिएको थियो।

कान्छो पनि गाउँतिर उक्लिन्छन्।

गाउँ पुग्दा कान्छो चकित भए। त्यहाँ उनले नसोचेको दृश्य थियो।

त्यो देख्दा उनलाई आफू कतै सपनामा त छैन भन्ने लागेर आफैंलाई चिमोटे। आँखा मिचे। फेरि उही दृश्य नियाले।

त्यहाँ सबै दाजुभाउजु बाजा–गाजासहित नाचिरहेका हुन्छन्। उनी पनि नाच्न खोज्छन्, तब उनलाई झल्याँस्स आफ्नी श्रीमतीको याद आउँछ। चारैतिर आँखा डुलाउँछन्। तर वरिपरि कतै देख्दैनन्। अलि पर एउटा कुनामा एक महिला धुमधुम्ती बसिरहेको देख्छन्। नजिक जान्छन्। श्रीमतीको आँखा पनि उनीतिरै पर्छ। चिन्ता मानेर बसिरहेकी श्रीमती श्रीमानलाई देख्नेबित्तिकै दगुरेर आउँछिन्। दुवैले एक–अर्कालाई ग्वाम्लाङ्ङै अँगालो हाल्छन्।

सातै श्रीमतीले आफ्ना श्रीमानलाई मिठो भोजन खुवाउँदै, फूलले स्वागत गर्दै करम पूजाको तयारी गर्न थाल्छन्।

जब हामीलाई हजुरआमाले यो कथा सुनाउँदै हुनुहुन्थ्यो, म र मेरी बहिनी, भाइ सबै जना आँगनमा गुन्द्री ओछ्याएर बडो उत्सुकतासाथ सुनिरहेका हुन्थ्यौं। कथा सुन्दा हामी आकाशमा टल्किरहेका ताराजस्तै खुसी हुन्थ्यौं।

यो कथा विशेषगरी करम पूजाको बेला सुनाइन्छ। करम पूजा उराँव समुदायको ठूलो चाड हो। हरेक भाद्र शुक्ल पूर्णिमाका दिन धर्तीमाताको पूजा गरेर यो चाड मनाइन्छ।

(रंगकर्ममा सक्रिय उराँव  शिल्पी थिएटरमा अावद्ध छिन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.