आज बलवीरको छोरा राकेशको २५ औँ वर्षको जन्मोत्सव धूमधामसँग मनाउने तयारी छ। उसकी आमा सुनिधिलाई बिहानैबाट पाहुनाहरूलाई स्वागत गर्न भ्याई नभ्याई छ। बलवीरका साथी, राकेशका साथी उनका आफ्नै पनि लोक सेवामा लामो समयदेखि सँगै काम गरेका साथी लगायतको उपस्थितिले माहौल भिडभाडसँगै रमाइलो गराएको थियो।
राकेश केक काट्नलाई जानुपूर्व आफ्नै रुममा तयार हुँदै थियो। बलवीर छोराको कोठामा छिर्छन् र एकछिन छोरालाई नियाल्छन्।
‘वान्स अगेन ह्याप्पी बर्थडे बाबु।’
‘थ्याङ्क यु बाबा।’
‘हेर्दा हेर्दै कति ठुलो भइसक्यौ है। अब त बिहे गर्ने बेला हुन लागेछ,’ बलवीर जिस्किन्छन्।
‘बाबालाई नातिनातिना हेर्न मन लाग्यो क्या हो?’ राकेशले मुस्कुराएर जवाफ दिन्छ।
छोराको जवाफले अनायास बलवीरलाई आफ्नो पिता सन्तवीरको याद आउँछ।
उति बेला सन्तवीर जिल्लाका नामुद साहु थिए, धन-सम्पत्ति र इज्जतका धनी। श्रीमती बितिसकेकीले एक्लो छोरो बलवीर नै उनको सबै थोक थियो। त्यो बेलामा दुई/तीन बिहे गरिनु कुनै नौलो कुरा थिएन तर छोरालाई अप्ठ्यारो पर्न सक्छ भनेर सन्तवीरले भने दोस्रो बिहे गरेनन्।
एक दिन अचानक सन्तवीर घरको आँगनमा ढले। अस्पताल पुर्याएपछि दीर्घरोग लागेको पत्ता लाग्यो। अब समय धेरै छैन भन्ने डाक्टरले जानकारी गराए।
त्यसपछिका दिनहरू भने सन्तवीरका उस्तै रहेनन्। उनको मनमा मर्छुभन्दा पनि म मरेपछि छोराको के हाल होला भन्ने परिरह्यो। उनले आफू ज्युँदै छँदै छोराको बिहे गराएर नातिको अनुहार हेर्न मात्र पाए पुग्थ्यो भन्ने जीवनको लक्ष्य तय गरे।
‘हजुर यत्रो सबै जाने बुझेको भएर पनि छोराको बिहे गर्न नसक्ने कस्तो लाछी!’ बलवीरेकी आमाले सन्तवीरलाई हेर्दै भनिन्।
‘छोराले टेर्दैन। क्यारम म?’ सन्तवीरले लामो श्वास तानेर भने।
‘छोरो आफ्नै हो क्यारे! फकाउनुस्, मनाउनुस् तर मजस्तै त्यसै टुहुरो छोडेर नआउनुस्। नाति त हेरेर आउनै पर्छ तपाईंले।’
‘एकातिर तेरो जिद्दी, अर्कातिर छोराले। क्यार्न खोजेका हौँ आमाछोरा मिलेर?’
‘हेर्नुस् है धेरै नकराउनुस् मलाई, म गइदिन्छु फेरि।’
कालोतर्फ केही हराउँछ।
‘ए बलवीरेकी आमा, ए बलवीरेकी आमा। यी हाम्रो नाति हेर न,’ सन्तवीर चिच्याउँछन्।
झल्याँस्स ब्युँझन्छन्। उफ्! कस्तो नमिठो सपना।
पटक-पटक सन्तवीरले आफ्नो इच्छा छोरालाई बताए पनि बलवीरले बिहेको कुरा टारिदिन्थ्यो। तर बा झन् बिरामी भइसकेका थिए। हरेक रात बरबराएको देख्न थालेपछि यो दीर्घरोगको भन्दा पनि मनोरोगको उपचार बिहे नै हो भन्ने बुझेकोले बलवीरले बिहेको लागि राजी भयो।
छोराले बिहे गर्छु भनेपछि सन्तवीरको अनुहार नै फेरियो। अब उनी बुहारी खोज्न थाले र चिने जानेका नजिकदेखि टाढाका सबैलाई खोज्न पनि लगाए। 'कस्ती बुहारी खोज्नु भएको हो नि सन्त दाजै?' भन्दा उनी भन्थे, ‘नाति-नातिनी दिन सक्ने होस्, बाँकी त म आफैसँग सबै कुरा छँदै छ नि।’
सुब्बाकी छोरी सुनिधि भर्खर स्नातक पढ्न थालेकी अठार वर्षकी थिइन्। बलवीरका काका बिहेको प्रस्ताव लिएर सुब्बाकहाँ गए। सन्तवीर जिल्लाको प्रतिष्ठित साहु भएकाले सुब्बाले यो सम्बन्ध अस्वीकार गर्न सकेनन्।
बाबुको जोर चलेपछि त्यो बेलामा छोरी मान्छेको के जोर चल्थ्यो? केटा र केटी त एकअर्कालाई देखादेख पनि गर्न पाएनन्, बाउहरूको बिचमै बिहेको मिति तोकियो। सुनिधिले बाबुको चाहनामा बिहे गर्न त मन्जुर भई तर उसलाई अझै पढ्ने इच्छा थियो।
सुब्बाले छोरीको मनसाय बुझे पनि सन्तवीरसँगको सम्बन्ध प्रगाढ बनाउन चाहेका हुनाले छोरीलाई जबरजस्ती बिहेको लागि मन्जुर गराए।
बिहेको दिन सन्तवीरले आफन्तदेखि चिने जानेका सबैलाई जन्तीमा बोलाए। आतिथ्यमा कुनै कमी राखेनन्। बिहे यति भव्य भयो कि दुई/चार दिनलाई मानिसहरूलाई चर्चाको विषय बन्यो।
राती बिहेका सबै कार्जे सकाएपछि बलवीर आफ्नो कोठामा छिर्यो। सुहागरातको दिन कोठा निकै सजाइएको थियो।
सुनिधि बेहुलीको भेषमा सोही पलङमा बलवीरको प्रतीक्षा गरिरहेकी थिई। उसको मेकअप र कपडाको गन्धले गर्दा कोठामा नारीको उपस्थिति व्याप्त थियो। बलवीर संकोच मान्दै सुनिधि बसिरहेको खाटमा गएर बस्यो। सुनिधि नारी लज्जाको बोध गराउँदै अलिकति पर सरी र सुँक्क सुँक्क आवाज गर्न थाली।
बलवीर बडो दोधारमा पर्यो।
‘सुन न’ बलवीरले सुस्तरी बोलायो।
अघिको सुँक्क-सुँक्क बन्द भएर हिक्क-हिक्कमा परिवर्तन भयो।
‘सुनेनौ तिमीले?’ फेरि बोलायो।
‘सुन्नुस् न, एउटा कुरा भनम्?’ निकै बेरको मौनता चिरियो।
बलवीरको हिम्मत थोरै बढ्यो तर अलिकति आशंकासँगै उसले सोध्यो, ‘के कुरा भन न?’
‘मान्ने भए मात्र भन्छु।’
‘हुन्छ, मबाट सम्भव हुने सबै गर्न तयार छु।’
‘मलाई अझै पढ्न मन छ।’
बलवीरले सुनिधिका कुरा नसुनेझैँ गर्यो अनि ऊ नजिक पुगेर उसको ढाकिएको अनुहारलाई हेर्न खोज्यो। सुनिधिको ढुकढुकी बढ्यो। उसले बलवीरलाई बिचमै रोक्न खोजी तर बलवीरका हात रोकिएनन्।
घुम्टो खुल्यो। आँसुले शृङ्गार बिगारेको भए पनि सुनिधि निकै सुन्दर देखिन्थी।
‘मेरो कुराको वास्ता गर्नु भएन,’ मुहार सबै खुलेपछि सुनिधिले भनी।
‘पढ्ने कुरा कसले रोक्छ र? यो पनि सोधिरहने कुरा हो?’ बलवीरले आश्वस्त पार्न खोज्यो।
‘हाम्रो तत्काल हुनेवाला सन्तानले मेरो पढ्ने रहरलाई पनि त समाप्त गरिदिन्छ। मान्नुहुन्छ भने हामीले सन्तानको योजना केही वर्ष परलाई सारौँ,’ सुनिधिले प्रस्ट पार्दै भनी।
अब बलवीर भने ठुलो अप्ठ्यारोमा पर्यो। उसको मनमा बालालाई सम्झेर अनेक विचारहरू आउन थाले। यो उमेरमा उसको बिहे हुनुको पछाडि एउटै उद्देश्य थियो– बाको लागि नाति वा नातिनी। तर सुनिधिले सन्तान चाँडै नजन्माउने भन्ने कुरा भनेपछि बलवीर ससुरा र बुहारीको विचारको दोसाँधमा पर्यो। अब कसको कुरा मान्ने? कसको नमान्ने?
‘सन्तानको योजना अहिले नै नबनाऊँ मात्र भनेकी,’ सुनिधिले मायालु स्वरमा जवाफ दिई।
‘अनि बालालाई के भन्ने?’ बलवीरको मनमा बाप्रतिको चिन्ता तीव्र हुँदै गयो।
‘बुहारीबाट सन्तान भएन भनेर भन्नु न,’ सुनिधिले जुक्ति निकाल्दै भनी।
‘म आफैँ केही उपाय गर्छु,’ बलवीरले परिपक्व पुरुषको जवाफ फर्कायो।
सुनिधि मुस्कुराएर डिम्पल देखाउन थाली। बलवीरले निमन्त्रणा पाएको महसुस गर्यो। एकछिनमै कोठाको बत्ती निभ्यो।
बलवीर र सुनिधिको बिहे भएको एक वर्ष बित्यो। तर अझै पनि सन्तवीरको नाति हेर्ने इच्छा अधुरै थियो। एक दिन उनले छोरालाई सोधे मेरो नाति हेर्ने इच्छा पूरा हुन्छ कि नाइँ?
पिँढीको गुन्द्रीमा आगामी परीक्षाको तयारी गरिरहेकी सुनिधितर्फ बलवीरले आँखा लगायो।
सन्तवीरले कुरा बुझेझैँ गरे।
‘तिमीलाई यस्तै रहर थियो भने, पहिल्यै भन्नु पर्थ्यो म अर्की बुहारी खोज्थेँ। तिमीहरूका जोई पोइले मेरो मात्र रहर मारेनौ, स्वर्गवास भएकी यसकी आमाको पनि मन राखेनौ।’
यो पटक सन्तवीर झर्किँदै बोले।
‘मर्ने बेला एक्लै छोडेर नआउनु भनेकी थिई। बिहे गरिदिएँ। अब जेसुकै गर तिमीहरू,’ उनी मलिन अनुहार लगाउँदै घरभित्र छिरे।
आजकल सन्तवीरको छोरा र बुहारीसँग कुराकानी हुँदैनथ्यो। उनी धेरैजसो कोठामै बस्थे। अरूका आँगनमा केटाकेटी खेलेको देख्दा सन्तवीरको मन झसङ्ग हुन्थ्यो। मनमनै कुँडिन्थे। यत्रो सम्पत्ति भएर पनि केही नभएको जस्तो।
अझ गाउँका बुढाहरू जम्मा भएर आफ्ना नाति-नातिनीका कर्तव्य सुनाउँदा उनी आफैसँग हार्थे। संसार नै शून्य लाग्थ्यो उनलाई। जीवनको उत्तरार्धतिर बलवीरेकी आमाको झन् याद आउन लाग्यो।
एक दिन यसरी उनी पिँढीमा बसेर गमिरहेका थिए। बलवीर खुसी हुँदै आइपुग्यो।
‘बा, थाहा पाउनु भयो? हाम्रो सुनिधिले अब्बल नम्बर ल्याएर यो जिल्ला प्रथम भइछिन्,’ बलवीर निकै खुसी थियो।
दङ्ग पर्दै सुनिधि भान्छाबाट बाहिर आइपुगिन्। उनलाई यो समाचार सपना जस्तै लाग्यो।
बलवीरले सन्तवीरलाई ‘भोलि सुनिधिलाई बाजा बजाएर सम्मान गर्ने कार्यक्रममा तपाईंलाई पनि सम्मान गर्ने भनेका छन् बा’ भनेर बतायो। ‘तपाईं यो जिल्लाको सबैभन्दा असल ससुरा हुनुहुन्छ’ भन्दै थिए।
छोराको कुरा सुनेपछि सन्तवीर मुसुक्क मुस्कुराए। यो हाँसो धेरै दिनपछि देखिएको थियो।
खाना खाइसकेपछि छोरा-बुहारीलाई भान्सामै छोडेर सन्तवीर आफ्नो ओछ्यानमा पल्टिँदै सोच्छन्-
‘ओहो! मैले त मेरो स्वार्थमा बसेर यिनीहरूको जीवनको अंश पो खोस्न खोजेछु। आखिर छोरा-बुहारी मिलेका छन्, बुहारीले पढाइमा राम्रो गरिराखेकी छ। हेर त जिल्ला प्रथम बनिछे। बुहारी भएर पनि यत्रो प्रगति कसैले गर्न सकेछन् र यहाँ! मेरो एकोहोरो नातिको जिद्दीले उसको यस्तो राम्रो पढाइ बिगार्न पनि सक्थ्यो। यति सानै उमेरमा बच्चा जन्माउँदा ऊ आफैलाई पनि त केही हुन सक्थ्यो। साइँलाको बुहारीको हालत कस्तो छ हेर त। पेटमा नातिनी थिई रे, कठै! धर्तीमा सास नै फेर्न पाइन। धत्! बुहारीलाई छोरी जस्तै मानेर हेरे भइहाल्यो नि। सन्तानभन्दा पहिलो सन्तान पढाइलाई बनाउँछु भन्ने कुरा कसरी नराम्रो हुन्छ। आज नाति नदिए पनि यत्रो इज्जत दिई। बलबिरेकी आमा मैले बेकारमा मेरो खुसीमा यिनीहरूलाई रमाऊ भनिरहेको रहेछु, अब यिनीहरूको खुसीमा म रमाउँछु। तँ पनि त्यहाँ माथिबाट हामी खुसी भएको हेर्नू।’
‘बुहारी, त्यो मेरो दौरा र आस्कोट तयार पार्देऊ है भोलि लगाउनु पर्यो नि,’ आवाज कोठाबाट भान्सामा पुगेर ठोकिन्छ।