आइतबारको दिन थियो सायद। हुन त बेरोजगारीमा के आइतबार, के शुक्रबार? हप्ता, दिन, महिना सबै एउटै निरन्तर समय प्रवाहमा विलीन भइजान्छ। पात्रोको मायाजालबाट मुक्ति। मानी लिऊँ कि आज मंगलबार हो रे। अब राति सुतेर भोलि उठ्दा पनि त्यो मंगलबार नै हुनेछ। रत्तीभर फरक नाइँ। तर शारीरिक मागहरू यथावत् हुनाले समयको अनुमान चाहिँ स्वचालित रूपमा भइरहने।
बिना बादलको आकाशमा सूर्यको निर्बाध रजगज थियो। स्वाभाविक गर्मीलाई नजरअन्दाज गर्दै नखिपोटसम्म हिँडेरै जाने निधो गरेको थिएँ। ज्यानले सकिहाल्छ र त्यसमाथि आफू समय बचाउनेहरूभन्दा समय बिताउनेहरूमा परियो।
बस चढ्छु भनेर कुरेको पनि थिइनँ तर हिँड्दा हिँड्दै छेउमै दाजुको ‘सिट खाली’ भन्ने आक्रोशित प्रस्ताव आइसकेपछि नचढ्ने अडान कायम गर्ने कारण पनि देखिनँ। संकल्प पनि विकल्प नहुँदासम्म नै रहेछ। अनि विकल्प आएपछि त्यसलाई जायज तुल्याउन दिमागको अनेकौँ तर्क शास्त्रीय तिकडम सुरु।
अहिले आएर के लाग्छ भने तर्कले कुनै निष्पक्ष परम सत्य पहिल्याउनुको साटो आफ्नै पक्षपातलाई जायज तुल्याउने अथक र अभिमानी प्रयत्न मात्र गर्छ। त्यसैले भन्न थालेँ, ‘धुलोमा हिँडे रुगा लाग्न सक्छ, बरु गाडीमै जानु बेस।’
यो तर्क विस्तार प्रक्रिया सम्पन्न नहुँदै गाडी नै भित्र चढी हालेछु। अनि लास्ट सिटमा बसिसकेपछि काल्पनिक लेखाजोखा गरिरहनु कुनै औचित्य रहेन। सुरुमा एक जना मात्र बसिरहेको सिटमा तीन अरू थपिन दुई मिनेट लाग्यो होला। केही सेकेन्डको फरकले चौथो नम्बरमा आएकी नानी भने अन्योलमा परी र उभिइराखी।
अनि आयो उसको अन्योललाई मार्ग निर्देशन गर्ने त्यो आग्रह जसको आफ्नै मौलिक भाकल छ, ‘लास्ट सिटमा अलिकति सरिदिनुस् त, ५ जनाको सिट हो।’
स्वाभाविक र अपेक्षित भएको हुनाले झ्याल नजिकै बसेको म झ्यालमै टाँसिने गरी अलिकति सरेँ। मेरो छेउमा बसेकी दिदी पनि सरेको जस्तो गर्नुभयो। तर वहाँको बायाँपट्टि बसेको केटो भने हल्लिएको पनि हैन। बरु उल्टै ठाउँ छैन भनेर लाउँदो रहेछ।
कोही त हुन्छन्, यसो सिट हेर्छन् अनि ‘भैगो’ भनेर छोडिदिन्छन्। आफूलाई नि खासै आराम हैन, अरूलाई बेकार सास्ती। तर त्यो नानी भने आस गरे जसरी टुलुटुलु सिटतर्फ हेरिरहेकी थिइन्। हुन त हामीमध्ये कसैले विरोध जनाएको भए त्यो मान्छे सर्थ्यो पो होला कि न। तर फेरि सञ्जाल जस्तो थोरै हो संसार जहाँ कहिले नचिनेको मान्छेलाई बिना प्रारम्भिक अनुसन्धान सिधै झम्टिन मिलोस्।
माथिदेखि तलसम्म हेर्छु। ढाडमा, खुट्टामा समस्या पो छ कि? अब यही कुरा भन्न सञ्जालमा विचार गरी राख्न पर्थेन। सजिलै मुखमा जे आयो त्यही लेख्न सकिन्थ्यो, किनकि अभिव्यक्तिप्रति जबाफदेहिता हुँदैन। कमेन्ट हालिदियो अनि टाप।
नानी उता फर्की, माथिको रेलिङमा हात समाउँदै उभिइराखी। म भने त्यो व्यक्तिलाई निहालिरहेँ। रिस उठेको थियो किन हो झनक्क। अलिकति त भोक लागेर पनि होला तर मूलतः यो रिस पहिल्यैदेखि चली आएको नियम, जुन मैले सधैँ मान्दै आएको छु, आफ्नै आँखा अगाडि उल्लङ्घन भएको देखेर उत्पन्न भएको थियो।
एकछिन दाँत किटी सकेपछि एक मन त लाग्यो कि केही अपशब्द उसलाई नहेरी भनिदिऊँ। तर फेरि त्यसो गर्दा आफूले कुन पक्षलाई समर्थन गरे झैँ हुन्छ भन्ने विचार पनि बेलैमा गर्नु पर्ने सोचेँ। मानी लिऊँ कि यही आक्रोश झगडामा परिणत हुने हो भने र युद्ध भूमिमा लडिरहेका दुई पक्षमध्ये आफू स्वतः एकमा बसी युट्युबको भाषामा ‘मर्न र मार्न तयार’ हुने हो भने, म कसको साथमा उभिने रहेछु?
यही टिम छनोट प्रक्रिया बारे सोच्दा त समस्या पो देखियो। किनकि यो ५ जनाको सिट हो भन्ने तर्क थोरै जायज हो त। टाउको घुमाएर हेर्न मात्र पर्छ, कतिपय सिटमा हेडरेस्ट नै चार ओटा यथावत् हुन्छन्। सायद गुरुजीले गाडीको ब्रोसर ड्यासबोर्डबाट नहुर्याएको भए त्यसमा पनि लेखिएकै होला। तर प्रायः बस चढ्नेहरूको वास्तविकता कागजबाट हैन, सामाजिक रूपले दोहोरिँदै आएको अनुभवमार्फत निर्मित भएको हुन्छ।
यो जीवनसँग अपरिचित कुनै व्यक्तिलाई ल्याएर त्यो सिट देखाएर कति जना बस्न मिल्छ भन्ने प्रश्न गरियो भने जवाफ सम्भवतः फरक नै आउँदो हो।
अनि फेरि कुनै सर्जकको परिकल्पना र प्रयोगमा आउने वातावरण बिचमा भएको दूरी सानो हो त? एउटा अब्बल इन्जिनियरले हो कि अब कुन पेसा हुन्छ यस्तो गाडी बनाउने– सबै सैद्धान्तिक विचारहरू बुझी वरी, कुन मुलुकको कानुनी संरचना, जनसंख्याको बनावट, बाटो घाटो, आदि इत्यादि हेरेर गाडी बनाइदियो।
आफ्नो आरामदायी कक्षको टेबलमा एसीको मिठो फुकाइ महसुस गर्दै काम गर्दा उसले कहाँबाट चाहिँ सोच्न भ्याउँथ्यो कि उसको गाडीमा बस्नेभन्दा उभिने र उभिनेभन्दा कुप्रिने मान्छेहरू बढी सवार हुनेछन्।
उसले बनाएको हेडरेस्ट, हेडरेस्ट नभई ह्यान्डलको रूपमा प्रयोग गरिने छ। सिट बेल्ट त डोरी, जुन ट्राफिक देखा परेपछि यसो भिर्या जस्तो गर्यो नत्र छोडिदियो। सायद उसलाई यो सबै थाहा भएको भए एउटा ठुलो कन्टेनरमुनि पाङ्ग्रा हाली काम फत्ते गर्थ्यो होला।
हुन त सिट जो एउटा निर्जीव वस्तु हो, उसलाई आत्मनिर्णयको के पो अधिकार छ र? ४ मा ५ बस्ने त प्रयोगको विषय भयो, जसलाई चलनले निर्धारण गर्छ। चलन भनेको जनताकै निहित सहमतिसँग स्थापित भएको हुन्छ, जसमा म पनि पर्छु। जति बढी सोच्यो उति बढी अलमल र त्यही अलमलमा आफ्नो पहिचान गुमाएर मेरो आक्रोशको अगेनो बिना सलबलाइ निभेर गयो।
'लास्ट सिट ५ जनाको हो' भन्ने अभिव्यक्तिलाई कसरी पो गरूँ समर्थन? चालकले ५ जना राखे नि त्यो त व्यक्तिगत धारणा भयो। कुनै वस्तुको परिभाषा कसैको व्यक्तिगत धारणाले निर्माण गर्ने हो कि, त्यो वस्तुको पनि गुणहरू हुन्छन् जसलाई वादविवादमा अपनाइने शब्दजालले अलमलाउँदैन।
आखिरमा सबै यथार्थ तर्कशास्त्रले नै निर्माण गर्ने हो भने त साँच्चिकै मिथ्या नै भएन र यो संसार? भन्नै पर्दा मलाई पनि एउटै बस-स्टपमा ढुकेर मान्छे कोचेको फिटिक्कै चित्त बुझ्दैन। तर यदि मेरो गुनासो कोच्ने प्रवृत्तिसँग हो भने, त्यसको जन्म कहाँबाट भयो? सायद जब परिभाषा र सीमाहरूलाई तन्कायौँ हामीले। अथवा तन्काउन दियौँ। दुईको ठाउँमा तीन, चारको ठाउँमा पाँच राख्न थालेपछि नजिर जो स्थापित भयो।
केही विमतिको आवाज बेला-बखतमा उठे पनि 'मिलीजुली जानु पर्छ' भनी एउटा नैतिक दायित्व स्थापित गरिदिने, जसमा उभिएर जाने प्रायःको पूर्ण समर्थन हुन्छ। किनभने आफूले नपाएको बखतमा जस्तो मिलीजुली जानु पर्छ भन्ने भावना कहिल्यै नआउने रहेछ।
दोष चाहिँ फेरि सधैँ चढ्ने हैन, चढाउनेतिरै केन्द्रित। चार–पाँच महिना अघिको कुरा हो, एउटा आन्टीले रिसाएर प्याच्चै भनेको सम्झिन्छु— ‘लोभीहरू छन्, त्यसैले मान्छे कोच्छन्।’
यो सुन्नासाथ सहचालक रिसायो जुन स्वाभाविक नै थियो। निर्माणरत अवस्थामा रहेको मानव चरित्रले यदि आत्मविश्वासको कवच लगाएको छैन भने अर्काको अभिव्यक्तिले सजिलै चोट पुर्याउने गर्दछ। यो त अझ एउटा जवान केटोको अहंकारलाई सिधै राउन्ड किक। झर्किएर उसले खै के पो भनेको थियो, ठ्याक्कै याद भएन। तर उसको आवाजमा आक्रोश गुन्जेको सम्झिन्छु, जसमा अलिकति घृणाको ध्वनि पनि मिसिएको थियो। तर त्यो आक्रोश र घृणा संसारपट्टि थियो कि स्वयं आफैपट्टि, त्यो मलाई थाहा भएन।
सायद आन्टीको कुरामा सत्यको झलक पनि थियो होला तर के त्यो सत्य सही हो त? जायज हो त? न्यायसंगत हो? न्यूनतममा, कार्डसहित १५ रुपैयाँ अथवा अधिकतम ३० को दरले कति पो मान्छे कोच्दा अथाह सम्पत्ति आर्जन गर्ने मौका मिलोस्? दिनभरि फेरि एकै समान भिड पनि लाग्दैन। पिक आवरमा मात्र हो। आखिर लोभको परिभाषा नै अधिकतासँग जोडिएको हुँदा अपर्याप्तताको सन्दर्भमा लोभलाई जायज मानव व्यवहार भन्न नमिल्ला र?
कि त चाहना र प्रयास नै काफी हो कसैलाई लोभी ठहराउन, जसको व्याख्याअनुसार त सबै लोभी नै हुने भए?
बसभित्रको भद्रगोललाई तुलनात्मक आनन्दको स्थानबाट ग्रहण गर्दै ‘सिट चार जनाको हो कि पाँच जनाको?’ भन्ने प्रश्नमा बिना उत्तर घोत्लिँदै बसेँ। बाहिरी संसारमा राहत पाउने आशाले झ्यालबाट के चियाएको थिएँ ऐना पो परेछ। भित्र जस्तो अतिक्रमण, बाहिर पनि त्यस्तै। न त पदमार्ग हिँड्नेका लागि, न त रोड सवारी साधनका लागि।
घरहरू पनि एक आपसमा अडेस लाएर बसेका। रूखको हाँगामा तारहरू आराम लिँदै छन्। तारमा चरा। भएका पैदल मार्गले बहुउद्देश्यीय आकांक्षा राखी कुकुरहरूको शौचालयको माग सम्बोधन गर्दै। बत्तीको पोलमा छापिएको विज्ञापन र छापिएको विज्ञापनमा केरिएको अर्को विज्ञापन। केही चीजको पनि सीमा छैन। के कहाँबाट सुरु हुन्छ, कसको लक्ष्मण रेखा कता — अत्तोपत्तो छैन।
अस्तित्वको विभिन्न रङहरूमा सम्झौता र सहमतिले निम्त्याएको मिसावट। सबै ‘मिलेर जाउँला नि’ भन्ने भावनाको उपज— जुन गुण त होला, तर सायद श्राप पनि?