विगत २ दिनदेखि बेड नम्बर- १५४ मा सुनसान थियो। त्यो बेड, जुन एकान्तमा शून्य भयो, वास्तवमा एउटा गहिरो जीवनयात्राको अन्तिम दृश्य थियो।
हस्पिटलको कुनामा रहेको उक्त बेडमा कसैको आवतजावत थिएन। बेलाबेलामा एउटी नर्स आएर बिरामी हेरेर फर्किन्थिन्। ती बिरामीको सर्टभरि लागेका रगतको टाटा परबाटै प्रष्ट देखिन्थ्यो। के कारणले उनका वरिपरि कोही छैनन्? भन्ने प्रश्न वरिपरि हुनेहरूलाई लागिरहेको थियो। कतिपयले अचेत अवस्थामा सुतिरहेका ती व्यक्ति जीवित हुन् वा मृत भनेर पनि सोच्न थालिसकेका थिए।
'यी अचेत व्यक्तिको अझै होस आएको छैन डाक्टर साप्।,' सेतो कुर्ता सुरूवाल र हातमा कपी बोकेकी नर्सले सुनाइन्।
डाक्टरले सोधे, 'यी व्यक्तिका कोही परिवार सम्पर्कमा आएनन्?'
नर्सले मात्रै टाउको हल्लाएर इसारामै भनिन्–'छैन' ।
अस्पतालमा सधैंजस्तै चाप उही थियो। डाक्टर, नर्स, बिरामी कुरूवाहरू खानेकुरा बोकेर आवतजावत गरिरहेकै थिए। बेलाबेलामा धेरै बिरामी भएकाहरू दुख्यो/दुख्यो आइया/आइया भन्दै चिच्याएको आवाजले भने अस्पतालको सन्नाटा केही क्षणका लागि भंग हुन्थ्यो। सबै जनाको नजर चिच्याउने बिरामीतर्फ हुन्थ्यो।
तर, बेड नम्बर १५४ भने अझै शान्त थियो। कोही आउने जाने र माया दर्साउने पनि थिएन अनि बिरामी रूने त झन् सम्भावनै रहेन। तर, अस्पतालले बेवारिसे ती व्यक्तिको कोही मानिस आउने आसमा उपचार भने गरिरहेकै थियो। आज पनि साँझ ढल्क्यो। अस्पतालको झ्यालबाट मानिसको आँखैमा परेको सूर्यको किरण विस्तारै धुमिल भयो। अस्पतालका सहयोगी आएर बत्ती बाले। एकपटक त्यहाँ सबै बेडमा केही गर्नुपर्ने छ कि भनेर घुमे। तर, आज पनि चलमल नगरेको बेड नम्बर १५४ हेरेर फर्के।
तेस्रो दिन बिहान बेड नम्बर १५४ मा कसैको हात हल्लिएको, आँखा खुलेको र कोही व्यक्तिको प्रतीक्षामा रहेको जस्तो धुमिल दृश्य देखियो। अर्थात् कमल बहादुरको ३ दिनपछि आँखा खुल्यो।
हस्पिटलको सेतो कोठा, सिरानीको गन्ध, औषधिको तीतो गन्धले उनी झसंग भए। केही क्षणका लागि उनले बुझ्न सकेनन्, यो कहाँको दृश्य हो। उनी हस्पिटलमा किन छन्? कसैले उनलाई किन बचाउन आएको छैन?
आफ्नो थकित शरीरलाई बिस्तारै चलाउन खोज्दा, उनले आफ्नो सर्टमा रगतको टाटा देखे। पूरै शरीर दुखेको र चल्मलाउन नसकेको अनुभव गरे।
'के भएको हो?' उनले आफैसँग प्रश्न गरे। सम्झिन खोजे, तर दिमागले काम गर्न सकेन। विगतका केही दिनको सम्झना धुमिल थियो। अचानक एउटा सम्झना आयो—सडकको छेउमा उनलाई गाडीले हानेको थियो। उनी सडकमा ढलेका थिए। त्यसपछि के भयो, उनलाई थाहा थिएन।
त्यति बेलासम्म नर्स कोठामा आइपुगिसकेकी थिइन्।
'तपाईंलाई कस्तो भइरहेको छ?' उनले सोधिन्। कमलबहादुरले बोल्न खोजे, तर आवाज निक्लिएन। उनको घाँटी सुक्खा थियो, मनमा असंख्य प्रश्नहरू बग्रेल्ती आए। यो अवस्था कसरी आयो? उनी एक्लो, बेवारिसे किन भए?
तीन दिनसम्म अर्धचेत अवस्थामा बिताउँदा, उनले जीवनको सबै पाटोहरू सम्झन थाले। समयको चक्रले उनलाई एक्लो बनाएको थियो।
'सायद अब म फेरि फर्कने छैन,' उनले मनमनै सोचे। कमलबहादुरका आँखा रसाए। तिनै आँसुहरूमा जीवनको गहिराइ झल्कियो—एक अन्त्य, तर सायद नयाँ सुरूआतको संकेत पनि।
उनलाई केहीबेरपछि तिनै नर्सले प्रश्न गरिन्, 'अंकलको घरमा अरू सदस्य हुनुहुन्न? किन कोही पनि आउनुभएन? अब यहाँ लागेको उपचार खर्च कसले तिर्छ?'
कमल बहादुर पुन सोचमा डुबे। केही वर्षअघिको परिवार सम्झेर आँखा रसायो। उनी मौन थिए, तर आँखाले धेरै कुरा बोलिरहेका थिए। अनि उनले सम्झिए। सानो चिटिक्क परेको घर। लरक्क कपाल बाटेर रातो धोतीमा सझिएकी उसकी श्रीमती चम्पा अनि ५ वर्षीयf छोरी रानी। उनको परिवार राम्रै चलिरहेको थियो। एकदिन गाउँको एकादशी मेलामा उसकी फूलजस्ती छोरी रानी बेपत्ता भई। त्यसको वियोग शान्त हुन नपाउँदै श्रीमती चम्पा पनि लामो अनन्त यात्रामा निस्किइन्। क्यान्सरले केही वर्षदेखि थलिएकी चम्पाले ३० वर्षे उमेरमै देह त्याग गरिन्। परिवारको गहिरो माया र सपनाले भरिएको जीवनमा, उनी एक्लै रहे।
अनि त्यसको केही समयसम्म कमलबहादुर पागल जसरी गाउँघर डुल्न थाले। जसरी सतीदेवीको मृत्यु भएपछि महादेवले उनलाई पिठ्युँमा बोकेर मनलाग्दी डुलेका थिए त्यसैगरी ऊ जता मन लाग्छ त्यतै जाने, जे मन लाग्छ त्यहीँ खाने भयो। उनलेरक्सी धेरै खान थाल्यो। सानो र चिटिक्क परेको परिवारबाट केही वर्षमै ऊ बेवारिसे र सडकछाप हुनपुग्यो। यो विगत सम्झिएर उनको आँखा रसाए।
त्यसको केही समयपछि नै उनले गाउँ छाडे। मानिसहरू गाउँघरतिर उनी हराएको कुरा गर्न थाले। तर, वर्षौ बितिसकेको थियो, ऊ गाउँ नफर्किएको अनि गाउँलेले उसलाई भुलिसकेका थिए।
गाउँ छाडे पनि उसलाई दुखले भने छाडेको थिएन। उसँगै दु:खका पहाडहरू थपिएर आए। काठमाडौंमा न कोही मानिस चिनेको, न उनलेपढेको थियो, न जागिरको टुंगो थियो, न बासको। केही दिन मागमुग गरेर गुजारा चलायो। यसो पार्टी पौवा र सावर्जनिक स्थानमा ओत लागेर निदायो। तर, यसरी उसको दैनिकी नचल्ने भएपछि उनलेसुरू गर्यो ठमेलका गल्ली/गल्ली घुमेर भारी बोक्ने काम। काम पाएको बेलामा ५ सयसम्म कमायो नहुँदा पनि उनलेसय दुईसय कमाइरहेकै थियो।
तर, नियमित खटेर काम गर्नु पनि बहुतै चुनौतीपूर्ण थियो। अर्कोतर्फ उनको दु:ख देख्ने, बिरामी पर्दा तातोपानी दिने समेत मानिस कोही थिएन। बेलाबेला उनले सोचिरहेका हुन्थे, कसका लागि र केका लागि काम गर्नु पर्यो र मैले? तर, दुईछाक खान र एकसरो कपडा लगाउन त उसलाई काम नगरी हुनेवाला थिएन। अनि फेरि उनलेसुरू गर्यो भरियाको काम। कतिले दया देखाएर पैसा भनेजति दिन्थे भने कतिपयले त्यहीँ पैसा दिन बार्गेनिङ्ग गर्थे। मन चसक्क दुख्थ्यो।
उनी नियमित जस्तै काममै थिए। सामान ओसारपसार सकेर खाना खान रोड क्रस गर्ने क्रममा परबाट हुँइकिएर आएको गाडीले हान्यो। तसर्थ, अस्पतालको बेडमा सुतेर विगत, वर्तमान र भविष्यको कल्पना गर्दै एकोहोरो भइरहेका छन् कमलबहादुर।
यी सबै घटनाहरूले उनलाई हरेक दिन भित्रभित्रै पीडा दिन्थ्यो। हरेक नयाँ दिन उनको लागि एउटा अग्लो पहाडजस्तो हुन्थ्यो, जहाँ चढ्न गाह्रो थियो तर झर्न सजिलो। उनको शरीर थाकेको, घाउहरू दुखेको र जीवनप्रतिको वितृष्णा गहिरिएको थियो।
अब, उनीसँग न अस्पताललाई तिर्ने पैसा छ, न कुनै जड सम्पत्ति। कमल बहादुरको मनमा जीवनप्रतिको वितृष्णा गहिरिँदै गयो। अस्पतालको बेडमा थलिएको शरीर, विगतको दुखदायी सम्झनाहरू र भविष्यको अनिश्चितताले एक्लो र निरर्थक महसुस गराउँदै थियो। आफ्नो अवस्था थाहा पाएपछि उनले सम्झिए—उनीसँग न पैसा छैन, न कोही आफन्त बाँकी छन्। डाक्टरहरूले उपचार जारी राखे पनि, उनलाई थाहा थियो कि यो लडाइँ अब उसको अन्तिम हो।
कमलबहादुरले आफ्नो जिन्दगीको अन्तिम क्षणसम्म एक्लै संघर्ष गरिरहे, न परिवार, न साथी। उनी आफ्नै जीवनको भारमा, गुमाएको परिवारको यादमा, र समाजको उपेक्षामा कुहिरोको कौवा जस्तै हराए। जहाँ उनको आवश्यकता, खोजी र महत्व कसैका लागि नै थिएन।
कमल बहादुरको अन्तिम पलहरूमा भएको भावनात्मक क्षणलाई त्यो बेडमा भएको सुनसानले मात्र बुझ्न सक्थ्यो। जीवनभरि दु:ख, तिरस्कार, र एक्लोपनसँग संघर्ष गरेका उनी, अन्ततः कुनै मायाको स्पर्श नपाई अनन्त निद्रामा गुम्न पुगे। उनका आँसुहरूले बगाएको कथा कसैले सुनेन, उनको पीडाले दिएको आवाज कसैले बुझेन।
'मेरो यो अन्तिम घडी हो, म सकिन लागेको छु,' कमलले मनमनै सोचे। आँखाबाट आँसुहरू आफै बग्न थाले। जीवनले उसलाई धेरै चोट दिएको थियो—उसकी छोरीको बेपत्ता हुनु, श्रीमतीको मृत्यु, र आफै एक्लो। त्यो सबै उनलेभोग्यो, तर अब ऊ केही गर्न सक्ने अवस्थामा थिएन। न उसँग पैसा, न साथ, न उसको बिरामी अवस्थालाई स्याहार्ने कोही।
उनले पटकपटक हातभरि लागेको घाउ हेरिरहेका थिए। केही दिनदेखि नफेरेको कपडा, ननुहाएको जिउ गन्हाउने भइसकेको थियो। उनी आफैलाई पनि लागेको थियो अब मेरो जीवनले सधैका विश्राम खोजिरहेको छ। उनी अब गहिरो चीरनिन्द्रामा सुत्न चाहान्थे जहाँ गएपछि उनी अब कहिल्यै यो पृथ्वीमा फर्कनु पर्ने छैन।
उनलाई थाहा थियो कि अब कुनै माया गर्ने हात आउनेवाला छैन, कुनै आफन्त उसको पक्षमा बस्ने छैन। उनले अस्पतालका श्वेत पर्खालहरू, औषधिको गन्ध, र उनीसँग जोडिएका सबै स्मृतिहरूलाई एकैसाथ अन्तिम पटक महसुस गरे।
एक साँझ, जब अस्पतालमा सन्नाटा थियो, कमल बहादुरले आफ्ना हातहरू हल्लाउने प्रयास गरे—जुन बलिया हात अब नहल्लिने गरी कमजोर भइसकेका थिए। श्वास फेर्न पनि गाह्रो हुँदै गयो। अस्पतालको झ्यालबाट बाहिर हेर्दै, उनले जीवनको अन्तिम किरणलाई महसुस गरे। ढल्दै गरेको सूर्यले पनि बिस्तारै उनको जीवन अन्त्यको संकेत दिइरहेको थियो। अनि कमलबहादुरले अन्तिम सास फेरे। बेड नम्बर १५४ फेरि शून्य भयो।
न कुनै आफन्त, न कुनै साथी। उनको अस्तित्वलाई कुनै अन्त्येष्टि कर्मले मात्र परिभाषित गर्न सकिन्थ्यो—तर उनले जिउँदो रहँदा भोगेका ती दुःखले उसलाई मानवताको गहिराइमा झारिदिएको थियो।
कमल बहादुरको मृत्युको खबरले अस्पतालमा हलचल मच्चिएन। त्यहाँका कर्मचारीहरूका लागि यो एउटा साधारण घटना थियो—अर्को बेवारिसे बिरामीको मृत्यु। नर्सहरूले उनको शवलाई परालको गुडाजस्तो ठानेर बेडबाट हटाए। अस्पतालको पुरानो रेकर्ड बुकमा उनको नामका वरिपरि कालो घेरा लगाइयो—'बेवारिसे मृतक'। उनी मरे पनि, उनका लागि संसार त्यही थियो जसले कहिल्यै उनलाई चिनेन, महसुस गरेन।
तर कमल बहादुरको जीवन, जसले साहसिकतासँगै पीडा र वियोगको यात्रा गरेको थियो। उनको अन्त्यले एक अधुरो कथा, जसलाई उनले कहिल्यै पूरा गर्न पाएनन्। उनले खोजेको सान्त्वना, न कुनै परोपकारी हातले उनलाई दियो, न कुनै आफन्त वा साथीभाइ अन्तिम घडीमा उनको नजिक आउन सके।
कमल बहादुरको वेवारिसे शवलाई अस्पतालले नगरपालिकाको सहयोगमा अन्तिम दाहसंस्कारका लागि लग्यो। पशुपतिको शितल एकान्त कुनामा, उनका अवशेषहरू धुवाइँए। उनीसँगै उनले बाँच्न नसकेका ती जीवनका अनगिन्ती सपनाहरू, भविष्यका अकल्पनीय योजना र माया र स्नेहका अधुरा पलहरू सबै जल्न पुगे।
तर, जीवनको क्रुर चक्रमा, उनले भोगेको वियोग र पीडाले अन्तिम घडीमा पनि उनी निकै प्रताडित बने। उनकी बेपत्ता छोरी रानी, उनकी प्राणप्रिय श्रीमती चम्पा, र उनको विगतका ती अनगिन्ती सम्झना र दु:खका गहिरा डोबहरू, सबै अब उनीसँगै अस्ताए।
अस्पतालका कर्मचारीहरूले बेड नम्बर १५४ सफा गरे, त्यो बेड अर्को बिरामीका लागि तयार गरियो। तर, आममानिसलाई बेवारिसे जस्तो लागे पनि, कमल बहादुरको आत्मा कहिल्यै एक्लो भएन। कतै, कुनै संसारमा उनी आफ्नी छोरी र श्रीमतीसँग पुनः भेटेर शान्तिको अनुभव गरिरहेका थिए। कमल बहादुरको जीवन संघर्षको लामो कथा थियो—बेपत्ता छोरी रानीको पीडा, श्रीमती चम्पाको क्यान्सरको कारण भएको असामयिक मृत्यु, र ती सबै वर्षहरू जसमा उनले एक्लोपनको विषलाई चुपचाप पिएका थिए।
कमल बहादुरको यो दुःखान्तले ती हराएका, उपेक्षित व्यक्तिहरूलाई सम्झाइरहन्छ, जसले समाजको एक कुनामा आँसु पिएर आफ्नो जीवन बिताएका छन्। पशुपतिको घाटमा भएको चिसो हावाले उनका हाडखोरहरूलाई नभएर, समाजलाई धक्का दियो। एक अधुरो कथा, जसले युगौंसम्म समाजका तिनै बेवारिसे, उपेक्षित आत्माहरूको आवाज बनेर गुञ्जिरहने छ। उनी जस्तो हजारौं कमल बहादुरहरू, हरेक दिन समाजको एउटा कुनामा हराउँदैछन्, बेवारिसे भएर, समाजको नजरमा अदृश्य भएर।